१२ मंसिर २०७७ शुक्रबार
समाज

निजीमा रित्तिएपछि बिरामी वीरमा

काठमाडौं-काठमाडौं नैकापका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौं नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलीको शल्यक्रिया भयो । तैपनि रोग निको भएन । एक वर्षदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो। उनी उपचारका लागि काठमाडौं मेडिकल कलेज पुगे । आन्द्रामा घाउ भएको भन्दै आन्द्राको शल्यक्रिया भयो ।  उनको आन्द्रामा क्यान्सर भएको रहेछ ।

त्यहाँ आन्द्राको क्यान्सर भएको पत्ता लागेपछि त्यहींका डा. सुशील श्रेष्ठले थप उपचारका लागि हरिसिद्धि क्यान्सर अस्पताल जान सिफारिश गरे । चिकित्सकको सल्लाह अनुसार उनी सोही अस्पताल पुगे । त्यहाँ एक पटक केमो चढाएको ३५ देखि ४० हजार रुपैयाँ लाग्थ्यो । त्यहाँ पटकपटक बसेर उपचार गर्दा दुईतीन लाख रुपैयाँ सकियो । यी दुवै अस्पतालमा उपचार गर्दा पाँच लाख रुपैयाँ सकियो ।

 पैसा सकिएपछि उनको हरिसिद्धिमा उपचार गर्न सक्ने अवस्था रहेन । महर्जनसँग पैसा सकिएको थाहा पाएपछि अस्पतालले निःशुल्क उपचारका लागि वीर अस्पताल जान सल्लाह दियो । ‘हामीसँग पैसा नभएपछि त्यहीँका डाक्टरले यता पठाए,’ महर्जनले भने । हरिसिद्धिको तुलनामा वीरमा उपचार खर्च धेरै सस्तो रहेको उनले अनुभव गरेका छन् । ‘पहिला थाहा भएन, डाक्टरले पनि त्यतै जान भने, अब हामीसँग उपचार गर्ने पैसा छैन,’ महर्जन दम्पतीको भनाइ छ । यो दम्पतीकोे नैकापमा थोरै जग्गामा खेती गरेर गुजारा चलाउनुबाहेक आम्दानीको स्रोत छैन ।

गोरखाका २७ वर्षीय दिपक बराम पनि महर्जनकै जस्तो समस्या झेलिरहेका छन् । वैदेशिक रोजगारीमा मलेसिया गएका उनलाई विदेशमा छँदै पेटमा समस्या भयो । त्यसपछि नेपाल आए । आफन्तको सुझावमा सुरुमा जडीबुटीको उपचार गरे । रोग निको हुनु साटो फैलिँदै गयो । त्यसपछि काठमाडौं मेडिकल कलेज पुगे ।

त्यहाँ उनको कलेजो र आन्द्रामा ट्युमर भएको पत्ता लाग्यो । तर त्यहीँका डाक्टर धिरेशले नेपाल क्यान्सर अस्पताल हरिसिद्धि जान सुझाए ।  त्यसपछि  बराम त्यतै पुगे । त्यहाँ पुगेपछि उनको कलेजो र आन्द्राको शल्यक्रिया भयो । यो उपचारका लागि २८ दिन अस्पताल बसे । यो अवधिमा उनको अन्य खर्चबाहेक उपचारमा मात्र पाँच लाख रुपैयाँ सकियो । त्यसपछि केमोथेरापी दिनुपर्ने उपचार बाँकी नै थियो। अस्पतालले उनलाई वीर अस्पताल जान सिफारिश ग¥यो  ।

वीरमा एपछि बरामले उपचार खर्चमा आकाश–जमिनको फरक पाए । ‘सुरुमै थाहा पाएको भए धेरै पैसा जोगिन्थ्यो, महँगो अस्पताल रहेछ,’ डाक्टरले पनि त्यहीँ मात्र उपचार हुन्छ भने,’ उनले भने, ‘यहाँ केमोथेरापीको पाँच वटा केमोको १५ हजार मात्र प¥यो, उता एउटैको ३५ हजार पथ्र्यो ।’

उपचारकै क्रममा पाँच लाख आफन्तबाट ऋण लिएको र आफूले विदेशबाट आउँदा लिएको चार लाख रुपैयाँ पनि सिद्धिसकेको बरामले बताए । ऋण तिर्न उनीसँग अचल पुँजी केही छैन । ‘केही जग्गा भए पनि हजुरबुवाको नाममा छ, अब यो ऋण कसरी तिर्ने ?’ उनले भने ।

त्यसैगरी, महँगो उपचारको सिकार भएका छन् पर्वतका ३० वर्षीय टेकबहादुर चुँदरो । घाँटीको बाहिर ठूलो फोका पलाएपछि उपचारका लागि उनी सुरुमा ग्रान्डी इन्टरनेसनल अस्पताल पुगे । त्यहाँ रोग पत्ता नलाग्दै दुई लाख रुपैयाँ चट भयो । ‘दुई लाख रुपैयाँ सकियो, रोग जहीँको तहीँ थियो, साथीहरुले छिटो उपचार हुन्छ भनेपछि त्यहाँ पुगेको थिएँ,’ उनले भने ।

अस्पतालले नै एमआरआई गर्न टिचिङ अस्पताल पठायो । त्यहाँ रोग पत्ता लाग्यो । यहाँ चार दिन भर्ना भएर उपचार गरे । त्यहाँ पनि रोग निको भएन । अहिले वीर अस्पतालमा केमो लिइरहेका छन् । घाउ पहिलाको तुलनामा घट्दै गएको छ । यहाँ उपचार गराएपछि खर्च कम भएको र उपचार पनि राम्रो हुँदै गएको उनले बताए । ‘यता उपचार सस्तो र राम्रो पनि रहेछ, सुरुमै थाहा पाएको भए आउँथें,’ चुँदरोले भने।

आन्द्रामा ट्युमरको उपचार गराइरहेका रौतहतका ४९ वर्षीय दामोदर थापा पनि सुरुमा चितवनको ओम हस्पिटल र रक्सोलका निजी अस्पतालमा उपचार गराउँदा पैसा खर्च गरेपछि अन्तिममा वीर अस्पताल आइपुगेका हुन् । खाना खाएपछि बान्ता हुने समस्या थियो । उनलाई पनि गाउँलेले राम्रो उपचार हुन्छ भन्दै ओम हस्पिटल पठाएका थिए । त्यहाँ बीस हजार खर्च भयो । शल्यक्रियाका लागि १ लाख ६० हजार लाग्ने बताएपछि उनी पैसा जुटाउन घर पुगे । गाउँलेले सापटी दिएको पैसा लिएर चितवन आउन खोजेका थिए । नेपाल बन्दका कारण सकेनन् ।

रोगले च्यापेको थियो, रक्सोलतिर हानिए । त्यहाँ पनि निजी अस्पतालमा २० हजार सकियो र घर फर्के । त्यहाँ शल्यक्रिया गर्न नपर्ने र औषधिले निको हुन्छ भनेपछि घरमा आएर दुई हप्ता औषधि खाए । औषधि सकिनेबित्तिकै समस्या उस्तै भयो । मुच्र्छित अवस्थामा पुगेका उनलाई गाउँलेले पाटन अस्पताल पु¥याए । पाटनले वीर अस्पताल सिफारिश ग¥यो । उनी गत पुसयता वीर अस्पतालमा उपचार गराइरहेका छन् । अहिले आन्द्राको शल्यक्रिया भयो । अहिले केमो चढाइरहेका छन् । उनी भन्छन्, ‘यहाँ उपचार पनि राम्रो रहेछ, धेरै औषधि यहाँ पाइन्छ, नपाइने मात्र बाहिर किन्नुपर्छ,’ उनले भने ।

सम्पत्तिको नाममा ऐलानी जग्गामा भएको घरबाहेक केही नभएका उनलाई उपचारमा लागेको अढाइ लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । ‘परिवार पाल्ने म आफैं बिरामी परें, अब त्यो ऋण कसले तिरिदिन्छ ?’ उनले रुँदै नागरिकसँग भने ।

विभिन्न बहानामा निजी पुगेका विपन्न बिरामीको पैसा सकिएपछि मात्र निजी अस्पतालले वीर अस्पताल पठाउने गरेको असपतालका चिकित्सकको अनुभव छ । ‘सर्जिकल, क्यान्सर र क्लेजो, मिर्गौलाका बिरामी निजीमा सकिएपछि मात्र यता आएको देखिन्छ,’ अस्पतालका एक चिकित्सकले भने ।

ग्यास्ट्रो सर्जन सुबोध अधिकारीको अनुभवमा दुवै कारणले उपत्यकाभित्रका अस्पतालले वीरमा बिरामी पठाउने गरेका छन् । एउटा त्यहाँ उपचार नहुने भएपछि अर्को पैसा नभएका बिरामीलाई । ‘हामीले कसरी यहाँ आए भन्नेबारे धेरै सोधेका हुँदैनौं, उपत्यकाका अस्पतालले उपचारका लागि हामीकहाँ पठाउँछन्,’ डा. अधिकारीले भने ।

प्रकाशित: २६ श्रावण २०७३ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App