३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

७४ वर्षमा १०४ हवाई दुर्घटना, नौ सयजनाभन्दा बढीको मृत्यु

सन् १९४९ (विक्रम संवत् २००५) मा नेपाली भूमिमा पहिलोपटक हवाईजहाज अवतरण भएको थियो। पशुपतिनाथ मन्दिर परिसर छेउमा रहेको गौचरनमा पहिलो पटक जहाज उत्रिएको थियो। त्यसबेला भारतीय राजदूत सरजितसिंह महाथिया चार सिट क्षमताको सिंगल इन्जिन भएको ‘भिन्टेजबीच एअरक्राफ्ट’ बाट काठमाडौं आएका थिए।  यसरी सुरू भएको नेपाली हवाई यात्राले ७४ वर्षमा सयभन्दा बढी दुर्घटना बेहोरेको छ। नेपाली हवाई यात्राको इतिहासमा १०४ वटा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको तथ्याँकले देखाउँछ। यो तथ्यांक पोखरामा आइतबार भएको जहाज दुर्घटनासहितको हो। ५९ वटा जहाज दुर्घटनामा मानवीय क्षति भएको छ। जसमा नौ सयजनाभन्दा बढी यात्रुले ज्यान गुमाएका छन्।

नेपाली आकाशमा पहिलो दुर्घटना सन् १९५५ मार्च ३ मा भएको थियो। कालिंगा एयरको विमान बाराको सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु र एकजना घाइते भएको तथ्याँक छ। त्यसपछि सन् १९५६ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए। नेपालको आफ्नै जहाज भने सन् १९६० नोभेम्बर ५ मा दुर्घटनामा परेको थियो। तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए।  

नागरिक उड्डयन प्राधिकरणको तथ्याँकअनुसार नेपाली आकाशमा हालसम्म ५८ भन्दा बढी नेपाली जहाज दुर्घटनामा परेका छन्। जसमध्ये ५० मल्टी इन्जिनका र ८ सिंगल इन्जिनका छन्। आन्तरिक उडानतर्फ सबैभन्दा बढी मानवीय क्षति आइतबार पोखरामा भएको छ। यसअघि सन् १९६९ जुलाई १२ मा हेटौंडामा भएको तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो। यस्तै आन्तरिक उडानतर्फ ३६ वटा हेलिकोप्टर दुर्घटनामा परेका छन्। जसमा सबैभन्दा ठूलो मानवीय क्षति २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङमा भएको श्रीएयरलाइन्स हेलिकोप्टर दुर्घटनामा भएको थियो। त्यो हेलिकोप्टर दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो। २०७२ सालको भूकम्पपछि नेपालमा उद्धार गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर चरिकोटमा दुर्घटना भएको थियो। १७ मे २०१५ मा भएको उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको ज्यान गएको थियो।

नेपाली आकाशमा भएका विदेशी एअरलाइन्सका जहाज दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। १९९२ सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको जहाज दुर्घटना हुँदा एकसय ६७ जनाको मृत्यु भएको थियो। सोही वर्षको जुलाई ३१ मा थाई एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। नेपाली आकाशमा हालसम्म १० विदेशी कम्पनीका जहाज दुर्घटना भएका छन्। जसमध्ये ८ वटा दुर्घटनामा मानवीय क्षति भएको छ ।  

प्रकाशित: २ माघ २०७९ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App