१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विमान दुर्घटनामा श्रीमानको निधन भएको १६ वर्षपछि विमान दुर्घटनामै श्रीमतीको पनि निधन

आइतबार  पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी पाइलट अन्जु खतिवडाका पहिलो श्रीमान दीपक पोखरेलको १६ वर्ष पहिले जहाज दुर्घटनामै निधन भएको आफन्तहरूले बताएका छन्। २०६३ असार ७ गते जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनमा जहाजका पाइलट पोखरेलको निधन भएको  अन्जुका आफन्तले बताएका हुन्।  

विराटनगर ५ माइतिघर भएकी अन्जुले श्रीमानको निधन पछि अमेरिकाबाट पाइलट पढेर यति एयरलाइन्समा काम गर्न थालेको विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले बताए। 

न्यौपानेका अनुसार अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन्। यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।  विराटनगर माइतिघर भएकी अन्जुले माध्यामिक तहसम्मको शिक्षा विराटनगरबाटै लिएकी थिइन्। उच्च माध्यामिक तहको शिक्षा भने भारतबाट लिएको अन्जुका आफन्त शेखर रेग्मीले जानकारी दिए। अन्जुको हालको घर काठमाण्डौको मैतीदेवीमा रहेको रेग्मीले बताए। अमेरिकाबाट पाइट पढेर फर्किएपछि अन्जुले नेपालमा विमान चलाउन थालेको ७ वर्ष भएको थियो। पोखरामा दुर्घटना भएको  यतीको एटिआर जहाजमा ६८ जना यात्रु सवार थिए। इन्सटक्टर पाइलट समेत रहेका विमानका मुख्य पाइलट कमल केसीले जहाज उडाएका थिए। चालक दलमा केसीसहित अन्जु, विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए। 

प्रकाशित: १ माघ २०७९ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App