२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पश्चिमतिरबाट अवतरणको प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ’

दुर्घटनामा परेको जहाज। तस्बिरः उमेश पुन/नागरिक

पोखरा आइतबार दुर्घटनामा परेको जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयरट्राफिक कन्ट्रोलरले सुरुमा जहाजलाई रनवे ३–० बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका क्याप्टेन आफैले रनवे १–२ (पश्चिमबाट) अवतरण गर्ने भनेर अनुमति मागेका थिए।  

‘रनवे ३–० बाट अवतरण गर्नुस भनेर मैले नै भनेको हुँ। त्यो बेलासम्म सबै अवस्था सही थियो। क्याप्टेनले कुनै समस्या बताएका थिएनन,’ ती एयर ट्राफिक कन्ट्रोलरले भने, ‘तर क्याप्टेनले पश्चिमबाट फर्किन्छु भनेका थिए। पश्चिमतिरको आकाशमा कुनै जहाज नभएपछि हामीले नै पश्चिमबाट आउन अनुमति दिएका हौ। तर, फर्किने बेला दुर्घटनामा परेको हो।’

ती एयर ट्राफिक कन्ट्रोलरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ। गत जनवरी १ देखि मात्र संचालनमा आएको यो विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न र उडान गर्न मिल्छ। विमानस्थल संचालनमा आएपछि कतिपय जहाजले पश्चिमतिरबाट अवतरण गरिरहेका छन। ‘पूर्वतिरबाट अवतरण गर्न सहजै छ। तर पश्चिमतिरबाट अवतरण गर्दा घुम्नुपर्छ,’ ती कन्ट्रोलरले भने, ‘पश्चिमतिरबाट अवतरण गर्ने अभ्यास पनि केहीले गरिरहेका छन् । अभ्यासको क्रममा आजपनि क्याप्टेनले जहाज पश्चिमतिर लगेको हुनसक्छ। पश्चिमको अभ्यास पनि कारक हुनसक्छ। पश्चिमतिर जानुको कारण यकिन भएन।’

यतिसम्मकी पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलसम्म गरेको डेमो उडानका क्रममा पनि दुइवटा जहाजले फरक फरक दिशाबाट अवतरण गराएका थिए। आइतबार बिहानैदेसख पोखराको मौसम सबै ठिक छ। कुनैपनि अप्ठेरो नहुँदानहुँदै पनि जहाज दुर्घटनामा परेको उनले बताए। ‘सबै कुरा राम्रो थियो। अप्ठेरो कतै थिएन,’ उनले भने,‘त्यत्ति हुँदाहुँदै पनि दुर्घटनामा परेको छ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा जहाज सेतीनदीको खोँचमा खसेको थियो।  

प्रकाशित: १ माघ २०७९ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App