१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीको शितगंगा नगरपालिका टुक्राउन दवाव

देशका सातसय ५३ स्थानिय तह मध्ये सबैभन्दा ठुलो क्षेत्रफल भएको स्थानिय तह हो शितगंगा नगरपालिका। अर्घाखाँचीको दक्षिणी भेगमा अवस्थित भौगोलिक दृष्टिकोणले देशको सबैभन्दा ठूलो नगरपालिका शितगंगामा यती बेला नगरपालिका फुटाउनु पर्ने आवाज उठीरहेको छ।

अर्घाखाँचीमा छ वटा स्थानिय तह छन्। जिल्लाका अन्य पाँच पालिकाको क्षेत्रफल र शितगंगा एक्लो पालिकाको क्षेत्रफल एउटै एउटै छ। अर्घाखाँची जिल्लाको कुल क्षेत्रफलको ४९ दशमलव २६ प्रतिशत भुभाग शितगंगा नगरपालिकाले एक्लै ओगटेको छ। जिल्लाको १२३९ दशमलव ०८ प्रतिशत भुभाग मध्ये ६२८ दशमलव ६५ वर्ग किलोमिटर जिल्लाका पाँच पालिकाले ओगटेका छन् भने शितगंगा एक्लैले ६१० दशमलव ४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

आधा अर्घाखाँची ओगटेको शितगंगा नगरपालिकामा अन्य स्थानीय तह सरह नै बजेट आउने गरेकाले विकासमा बाधा पुगेको निष्कर्ष सहित फुटाएर तिनवटा गाउँपालिका बनाउनु पर्ने दवाव बढेको छ। नगरपालिकाको भौगोलिक बनावट, छरिएको बस्ती, अत्याधिक वन क्षेत्र तथा विकटताले त्यहाँको विकास सोंचेजस्तो हुन नसकेको भन्दै पुनःसंरचना गर्नुपर्ने माग भएको हो।

नेकपा एमाले नेता तथा वडा नम्बर–९ का वडाध्यक्ष भिम बहादुर खत्रीले नगरपालिकाको पुनःसंरचना नगरी यहाँको विकास असम्भव रहेको बताए। राज्यले दिने बजेट बालुवामा पानि खन्याए जस्तो भएको भन्दै उनले यो नगरपालिकालाई विभाजन नगरी यहाँको विकास अगाडी बढ्न नसक्ने बताए। अन्य पालिकासंग तुलना गरेर मात्र नपुग्ने भएकाले विकासका लागी आफै पहलकदमी लिनुपर्ने उनको भनाइ छ।

‘क्षेत्रफलका हिसाबले देशकै ठुलो भुभाग भएको नगरपालिका हो। तर, राज्यले हेर्ने दृष्टिकोण समान भयो। समानतामा संधै न्याय नहुँदो रहेछ। ‘विशेष क्षेत्र’ घोंषणा गर्न पनि पहल गरेका हौं। त्यस विषयमा राज्य मौन बसेपछी अब नगरपालिकालाई टुक्राएर तिन वटा पालिकामा विभाजन गरेर अँघी बढ्नु पर्छ’ खत्रीले भने।

शितगंगामा १४ वटा वडा रहेका छन्। पालिका फुटाउँदा वडा नम्बर १, २, ३, ४, १२, १३, १४ मिलाएर एउटा पालिका, वडा नम्बर ५, ६, ७ र भुमिकास्थान नगरपालिका वडा नम्बर–१० (धनचौर) मिलाएर अर्को पालिका, वडा नम्बर ८, ९, १०, ११ मिलाएर थप एउटा पालिका बनाएर तिन वटा पालिका बनाउनु पर्ने प्रस्ताव अँघी सारिएको छ। छरिएका क्षेत्र भएकाले फुटाएर तिन पालिकामा विभाजन गर्दा विकास गर्न सहज हुने मनसायले यो प्रस्ताव ल्याइएको हो।  

राजनितिक तथा कानुनी जटिलताले यो सम्भव नभएको नगरपालिकाका निवर्तमान मेयर सुर्य प्रसाद अधिकारीको भनाइ छ। आफ्नो कार्यकालमा शितगंगा नगरपालिकालाई ‘विशेष क्षेत्र’ घोंषणा गर्न नगरसभा बाट पास गराएर प्रदेशमा पेश गरेको स्मरण गर्दै उनले प्रदेश सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने माननियहरुले वास्ता नगरेको आरोप लगाए। ‘विशेष क्षेत्र घोंषणा गर्न सकियो भने विकास गर्न सजिलो होला भनेर नगरसभा बाट पास गराएर प्रदेशमा लग्यौं,उनले भने,‘त्यती बेला कसैले वास्ता गरेन, अहिले सबैलाई खड्किएको छ।’ सकेसम्म विशेष क्षेत्र घोंषणा गर्नुपर्ने भन्दै अधिकारीले पालिका टुक्राउने कुरा उठान भएपनि पार लगाउन गाह्रो भएको बताए। एक किसिमको मानसिकता बनिसकेको र एक प्रकारको संरचना तयार भईसकेकाले टुक्राउने विषय फगत् कल्पना मात्र हुने उनले बताए।

नेपालको संविधान २०७२ ले तिन तहको शासकिय प्रबन्ध गरेपछी विसं. २०७३ मा शितगंगा नगरपालिकाको स्थापना भएको थियो। त्यतीबेला बसेको सर्वदलिय संयन्त्रमा समेत दुई गाउँपालिका बनाउने प्रस्तावमा छलफल भएको थियो। पालिकाको केन्द्र बनाउने विषयमा राजनितिक दल भित्र कुरा नमिलेपछी एउटै नगरपालिका बनाईएको थियो।  

तत्कालिन समयमा सर्वदलिय संयन्त्र मार्फत छलफलमा सहभागी भएका कांग्रेस नेता माधव पौडेलका अनुसार यो विषयमा सुरुमै छलफल भएपनि सर्वदलिय बैठकमा कुरा नमिल्दा एउटै नगरपालिका बनाइएको हो। कानुनी जटिलता र संवैधानिक अड्चन रहेको भन्दै उनले यहाँ निर्णय गरेर पालिका टुक्राईहाल्न नमिल्ने बताए। ‘हाम्रो पहिलो प्राथमिकता विशेष क्षेत्र घोंषणा गराउने नै हुनुपर्छ, त्यसले विकासमा सहजता आउँछ,उनले भने,‘पालिका टुक्राउने नै हो भने कानुनी बाटो फुकाउनु पर्छ।’

पालिकालाई टुक्राउने विषयमा विवाद हुँदा पौष २७ गते बुधवारका लागी तोकिएको नगरसभाको बैठक समेत स्थगित भएको छ। मिति तोकिएको नगरसभामा नगरपालिकाको पुनःसंरचनाको विषयलाई लिएर दुई पक्ष बिच विवाद भएपछि नगरसभा स्थगित गरिएको हो। अर्को सुचना जारी नभए सम्मका लागि नगरसभा स्थगीत भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए।

नगर उपप्रमुख सहितको पक्षले भुगोल ठुलो भएकोले पालिकालाई दुई वा तीन पालिकामा पुनःसंरचना गर्ने विषय नगरसभाको पहिलो एजेन्डा बनाउनु पर्ने माग राखेको छ। यस्तै नगरप्रमुख सहित केही वडाध्यक्षले संविधानमा व्यवस्था भए बमोजिम नगरपालिकालाई ‘विशेष क्षेत्र’ बनाउने एजेन्डा राख्नु पर्ने अडान लिएपछी नगरसभा स्थगित भएको हो।

नगरप्रमुख छविलाल पौडेलले सर्वदलिय बैठक बसेर विशेष क्षेत्र बनाउने विषयलाई प्राथमिकता दिने निष्कर्श निकालेको भन्दै साथीहरुले अहिले अनावश्यक बखेडा झिकेको बताए। विशेष क्षेत्र घोषणा नै आफुहरुको पहिलो प्राथमिकता रहेको भन्दै उनले पालिका फुटाउनु परेपनि त्यसका कानुनी प्रक्रिया पुरा गर्नु पर्ने भएकाले तत्काल त्यो संभव नरहेको बताए। ‘सर्वदलिय बसेर एकथोक सहमती भएको छ,उनले भने,‘अहिले केही मित्रहरु अर्कैथोक कुरा बोकेर हिंड्नुभएको छ, जुन तत्काल सम्भव छैन।’

सर्वदलिय बैठकमा नगरप्रमुख पौडेल, उपप्रमुख गिता भाट, नेपाली कांग्रेसका नगर सभापती मोहन पन्थी, नेकपा एमालेका नगर अध्यक्ष बसन्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मणि अधिकारी, नेकपा मालेका केदार बेल्वासे लगायतका दलहरु बसेर शितगंगालाई ‘विशेष क्षेत्र’ घोषणा गर्न पहल गर्ने र दोस्रो विकल्पमा नगरलाई फुटाउने प्रक्रिया अँगाडी बढाउने सहमती भएको थियो। गत पौष २५ गते शितगंगामा सर्वदलिय बैठक बसेर विशेष क्षेत्र घोषणा गर्न पहल गर्ने र त्यो नभए नगरलाई फुटाउने प्रक्रिया अँगाडी बढाउने सहमती भएको नेकपा एमालेका नगर इन्चार्ज बसन्त श्रेष्ठले जानकारी दिए। विवादले स्थगीत नगरसभा बारे बोल्दै श्रेष्ठले पुनः सर्वदलिय बैठक बसेर सहमती गर्ने र नगरसभा अगाडी बढाइने बताए।

२०६८ को जनगणना अनुसार शितगंगा नगरपालिकामा ४३ हजार ३७३ जनसंख्या थियो। २०७८ को जनगणनाको प्रारम्भिक विवरण अनुसार यहाँको जनसंख्या ३७ हजार ८८८ मात्र छ। पहिलेको तुलनामा अहिले जनसंख्या घटेको तथ्याङ्कले देखाएको छ। मुख्यतयः बसाईसराईका कारण यहाँको जनसंख्यामा झन्डै १२ प्रतिशतले कमी आएको देखिन्छ। पहिले पुनःसंरचना गर्दा दुई पालिका बनाउन नमानेका दलहरु अहिले फेरी पालिका टुक्राउनु पर्ने आवाज उठाइरहेका छन्। केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदा एउटै नगरपालिका बनाउन सहमत भएका राजनितिक दल तथा बुद्धीजिवीहरु अहिले विकासका दृष्टिकोणले पछाडी परेको भन्दै पुनः उही पुरानै बहसमा आइपुगेका छन्।  

शितगंगा नगरपालिकाको सिमानासंग पाँच जिल्ला जोडिएका छन्। प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र पाल्पा गरी पाँच जिल्लासंग जोडिएको नगरमा ४७ हजार हेक्टरमा वन क्षेत्र छ। मुख्य रुपमा सालको वन रहेको सो क्षेत्रमा खयर, सिसौ पाइन्छ। नदिजन्य पदार्थ ढुंगा, बालुवा, गिटीका लागी समेत प्रचुर संभावना रहेको नगरलाई टुक्राउने स्थिती बन्यो भनेपनि प्राकृतिक सम्पदाको बाँडफाँटको विषयले उत्तिकै विवाद ल्याउने निश्चित छ।    

शितगंगा नगरपालिकाको मात्र कुरा नभएर भुमिकास्थान नगरपालिकाको एउटा वडा गाभ्ने विषय पनि उतिकै विवादित देखिन्छ। नगर टुक्राएर पालिका बनाउन अन्य स्थानीय तहका वडा समाहित गराउने विषय अन्य पालिकामा पनि विवादको विषय बन्न सक्छ। त्यस्तै राजनितिक दृष्टिकोणले समेत यो कुरालाई मुर्त रुप दिन फलामका चिउरा चपाए जत्तिकै गाह्रो छ। विशेष क्षेत्र घोंषणा गर्न नसक्ने हो भने पालिकालाई टुक्राउँदा नै उपयुक्त हुने अधिकांशको धारणा रहेपनि दलका आ–आफ्ना स्वार्थ बाझिएकाले यो कुरामा सहमती हुन गाह्रो देखिन्छ।

प्रकाशित: २९ पुस २०७९ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App