भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले बिहीबार कार्यालय हाताभित्रबाटै पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ जिल्ला गल्छी गाउँपालिका ५ बस्ने बर्ष ४१ को अर्जुन तामाङ र सोही स्थान बस्ने बर्ष ३२ को विरोध तामाङ रहेको भक्तपुर प्रहरी परिसले जनाएको छ।
परिसरका अनुसार उनीहरूले दिउँसो पौने चार बजे भक्तपुर नगरपालिका ३ स्थित परिसर भक्तपुरको कार्यालय प्रमुख (एसपी) प्रजित केसीको नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भनेका थिए।
त्यसपछि परिसर भक्तपुरको सादा पोशाकमा प्रहरी खटाइ मोबाइलबाट फोन सम्पर्क गर्ने उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
उनका अनुसार लागु औषध (पोल्याण्ड) मुद्दाको अनुसन्धानमा परिसर भक्तपुरमा पुस २६ गते देखी नियन्त्रणमा रहेको धादिङ गल्छी गा.पा.५ बस्ने बर्ष ३१ को गोविन्द तामाङको मुद्दा मिलाई छुटाई दिएमा नगद पचास हजार घुस दिन्छु भनी उनीहरुले प्रलोभनमा पार्न खोजेका थिए।
आफ्नो साथमा नगद लिई परिसर भक्तपुरको कार्यालयमा आएका उनीहरुलाई परिसरको हाताभित्रै नियन्त्रणमा लिएको जनाइएको छ।
परिसर हाताभित्र रहेका उनीहरुसँग खानतलासी गर्दा अर्जुन तामाङको साथबाट नगद ५७ हजार पाँच सय र कार्यालयमासँगै आएका दुबै जनाको साथबाट सोही नम्बरको फोन र अर्को १ थान गरी जम्मा २ थान मोबाइलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई परिसर भक्तपुरमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित: २८ पुस २०७९ १६:०५ बिहीबार