१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हिमपात नहुँदा खेतमै बाली सुक्दै

पुसको अन्तिमसम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ। हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन्। जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ। 

खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन्।लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको सिंजा गाउँपालिका–६ जुम्लाकी स्थानीय महिला बिस्नकली बुढाले बताइन्।उनले भनिन् यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए। भोकमरीको समस्या बढ्ने भयो। चिन्ता व्यक्त गर्दै बुढाले भनिन्। खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो थियो। यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ।

सिंजा–५ जुम्ला शनिगाउँका  स्थानीय किसान दानबहादुर बुढाले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गरे।आकाशेपानीको भरमा खेती गर्ने यहाँका किसान हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा चिन्तित छन्। जिल्लाको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुँदा आकाशे वर्षाको भरमा खेती हुँदै आएको छ।

लामो समयसम्म हिउँदे वर्षा नभएपछि यहाँका किसानहरू यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने अनुमान गरिरहेका छन्।हिउँदे बालीको अन्नले यहाँका किसानहरू दुईदेखि ६ महिनासम्म खाद्यान्नको व्यवस्था हुन्छ । पानीका कारण हिउँदे सिजनमा यहाँका किसानहरूले बढीजसो जमिन बाँझो राख्ने गरेका छन्। खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।

जाडोमा हिउँ पर्नुको साटो तुषारो परिरहेको छ।यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर  अधिकारीले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताए। पुसको अन्तिमसम्म यसरी  हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ।पाखे जौँ र गहुँबाली नष्ट भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: २७ पुस २०७९ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App