१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रचार प्रसार नहुँदा ओझेलमा ऐतिहासिक थन्थापी माईको मन्दिर

बागलुङको जैमिनी नगरपालिकामा रहेको थन्थापी भगवतीको मन्दिर।

जिल्लाको जैमिनी नगरपालिकाको शिरमा छ माइकास्थान अर्थात थन्थापी भवगती माईको मन्दिर। जैमिनी नगरपालिका—१० राङ्खानी, वडा नम्बर ७ को जैदी र वडा नम्बर ४ सर्कुवाको सिमाक्षेत्रमा अवस्थीत छ। मन्दिर रहेको ठाउँ सर्कुवामा पर्छ। जंगल भित्र मन्दिर भएका कारण शान्त वाताबरण देखिन्छ। मन्दिर वरिपरि रहेको रुख विरुवामा नाँच्दै गाउँदै आउने चराचुरङ्गीको आवाजले आनन्द थपिदिन्छ। भगवतीको मन्दिर भएकाले शक्तिसंग जोडिएको छ। त्यहाँ पूजा अर्चना गर्नाले आफुले चाहेको पूरा हुने विश्वासका साथ मानिसहरु त्यहाँ पुग्छन्। धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन र प्रचार प्रसारको अभावमा यो मन्दिर अहिले ओझेलमा छ।  

बागलुङ दक्षिण भेगका महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको उक्त मन्दिरको सम्भावना उजागर गर्नका लागि सरोकार निकायले पर्याप्त ध्यान दिन सकेका छैनन्। धार्मिक र अन्य दृष्टिकोणबाट पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको ठाउँ भए पनि प्रचार प्रसारका कमीले ओझेल परेको स्थानीय लिलबहादुर राना बताउँछन्। ‘धार्मिक हिसाब र पर्यटकीय हिसाबले पनि यो मन्दिर निकै महत्वपूर्ण छ,’उनले भने,‘प्रचार प्रसारको कमीले गर्दा ओझेलमा छ। यसको व्यापक रुपमा प्रचार प्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुनसक्छ।’ यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहले बढि ध्यान दिनुपर्ने उनको भनाई छ।  

‘यो ठाउँलाई गन्तव्यको रुपमा विकास गर्नका लागि स्थानीय सरकारले बढि ध्यान दिनुपर्ने हुन्छ,’उनी भन्छन्,‘स्थानीय नागरिकले पनि यसमा विशेष चासो दिन सके राम्रो हुनेछ।’ उक्त थन्थापी भवगती माईको मन्दिरमा हरेक मंगलबार विशेष पूजाआजा हुन्छ। बडादशैं चैते दशैं लगायतका विशेष समयमा त त्यहाँ पुग्ने दर्शनार्थीहरु घुइँचो नै लाग्छ। जैमिनी—१० राङ्खानी पाहीका टिकाराम शर्मा आचार्य भन्छन्,‘धार्मिक आस्था हुनेहरु मात्रै होईन घुम्न आउनेहरुका लागि यो ठाउँ निकै उपयुक्त छ।’ पटक पटक मन्दिर जिर्णोद्वार गरेर अहिलेको अवस्थामा ल्याईएको र यसको स्थापनाको ठ्याक्कै एकिन नभएको शर्माको भनाई छ। ‘यो कहिले स्थापना भयो भन्ने ठ्याक्कै एकिन जानकारी छैन,’ उनी भन्छन्,‘विक्रम संवत १८६५ लेखिएको ताम्रपत्र भेटिएको छ। त्यो बाहेक यसको लिखित इतिहास छैन।’  

भुरे टाकुरे राजाको पालामा युद्धहरु धेरै नै हुने भएकाले शक्ति स्वरुपा भगवतीको मन्दिर त्यही बेला स्थापना भएको हुनसक्ने उनी बताउँछन्। ‘भगवतीको पूजा गर्नाले आँटेको पुग्ने र शक्ति स्वरुपा भएकाले उनको भाकलबाट युद्ध जितिने पनि विश्वास रहेको पाईन्छ,’ आचार्य भन्छन्,‘सायद भुरे टाकुरे राजाले नै यहाँ यो मन्दिर स्थापना गरेको हुनुपर्छ। यहाँको हाँडिकोट, पुरानो गाउँ लगायतका ठाउँमा पहिले राजा रहेको भन्ने बताईन्छ।’ उक्त मन्दिरमा परेवा र बोकाका मात्र बलि दिईन्छ। पछिल्ला दिनहरुमा जैमिनी नगरपालिका क्षेत्रबाट बसाइँ सरेर जानेहरुको संख्या बढि भएकाले मन्दिरमा आउनेहरुको संख्या कम हुँदै गएको उनी बताउँछन्। ‘अहिले यो ठाउँबाट सरेर जानेहरु धेरै छन्,’उनी भन्छन्,‘त्यसले गर्दा यहाँ आउनेहरुको संख्या केही घटेको छ। कतिपय त बसाइँ सरेर गए पनि यहाँ पूजापाठ गर्नका लागि आउँछन्।’

स्थानीय तह, प्रदेश सरकार गुठी संस्थान लगायतबाट केही काम भए पनि त्यो पर्याप्त नभएको उनी बताउँछन्। ‘अहिले पदमार्ग बनेको छ, अलिअलि तारबार गरिएको छ,’उनी भन्छन्,‘यसलाई अरु व्यवस्थीत बनाउँदै प्रचार प्रसारमा बढि जोड दिनुपर्ने देखिन्छ। यहाँ पर्खाल लगाउनुपर्ने छ।’ मन्दिरको पूजा सञ्चालनका लागि गुठी जग्गाहरु पनि थिए। अहिले त्यो कुन अवस्थामा छ भन्ने एकिन नभएको आचार्यको भनाई छ। ‘गुठीको केही जग्गा द्वन्द्वको समयमा माओवादीले कब्जा गरे भन्ने सुनेको हो,’ उनी भन्छन्,‘अहिले पनि त्यसको बारेमा केही जानकारी छैन। पूजारीको कुरा सुन्दा गुठी जग्गाको आम्दानी मन्दिरको पूजापाठका लागि आएको छैन।’ अर्जेवा, जैदी, बिनामारेमा गुठीका जग्गा भएको भन्ने सुनेको उनले बताए।

ऐतिहासिक पक्षसंग जोडिएकाले थन्थापी भगवतीको मन्दिरको विकास र प्रचार प्रसारका लागि जैमिनी नगरपालिकाले विशेष चासो दिएको उपप्रमुख हरिहर शर्मा बताउँछन्। ‘यो मन्दिर ऐतिहासिक पक्षसंग जोडिएको छ, यसको विकासका लागि हामीले चासोका साथ काम गर्दैछौं,’ शर्माले भने,‘अहिलेसम्म नगरपालिका सहित विभीन्न निकायबाट गरेर ७०÷७५ लाख खर्च भैसकेको छ। यहाँको पुरानो योजनालाई विकसित गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हामी लागेका छौं।’ गुठीका अन्तर्गतका जग्गाहरु गुठी संस्थान अन्तर्गत जिल्ला मालपोत कार्यालयले हेर्ने कि स्थानीय पालिकाले हेर्ने भन्ने विषयमा विवाद भएकाले समस्या भैरहेको उनी बताउँछन्।

‘गुठीको जग्गा मालपोतले हेर्ने कि स्थानीय पालिकाले हेर्ने भन्ने विषयमा देशव्यापी नै समस्या छ,’ उनी भन्छन्,‘यहाँ जैमिनी—५ मा जनगुठीको रुपमा एउटा खेत छ। द्वन्द्वकालदेखि देखिएको समस्या समाधानका लागि सहजीकरण गर्न बाँकी नै छ। केही राजगुठीहरु छन्। त्यसको प्रयोग कात्तिकको पहिलो र जेठको पहिलो मंगलबार नाता भन्ने पर्छ। त्यसमा पूजा गर्ने चलन छ।’ उक्त मन्दिरमा पुग्नका लागि कालिगण्डकी करिडोरबाट कुस्मीसेरा, सर्कुवा हुँदै जाने बाटो छ। बागलुङ बजारदखि कुस्मीसेरा पुगेर जान सकिन्छ। बेलबगर, गाजादहबाट पनि त्यहाँ पुग्ने बाटाहरु छन्। 

प्रकाशित: २६ पुस २०७९ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App