५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा कोशी राजमार्ग ४ लेन बनाउन राजनीतिक दलहरुको पहल

कोशी राजमार्ग विस्तार हुदा क्षति पुग्ने धरानको मुख्य बजार क्षेत्र। तस्बिर: रोहित राई

कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।

आयोजनाले उपमहानगरपालिकालाई पटक पटक पत्राचार गरेपनि काम सकिन लाग्दा धरानको बजार क्षेत्र खाली नगरिए पछि राजनीतिक दलहरुले छलफल अघि बढाएका हुन्।

आयोजनाले धरानको तीनकुनेसम्म सडक विस्तार गरेर आइसके पनि तीनकुनेदेखि जिरो पोइन्टसम्म करिब ५ किलोमिटर सडक विस्तार हुन सकेको छैन। ६ लेन सडक विस्तार गर्दा बजार क्षेत्रमा अरबौंको भौतिक संरचना क्षति पुग्ने भएपछि अन्योल भएको हो। धरानको बजार क्षेत्रबाटै ६ लेन सडक विस्तार गरेर लैजाने कि वाइपास गर्ने वा ४ लेन मात्र सडक विस्तार गर्ने भन्ने अन्योल कायमै छ।

आयोजना हुँदा नै बजार क्षेत्रमा सडक विस्तार नगरिए पछि स्रोत सुनिश्चितता नहुने र सडक विस्तार पनि सम्भव नहुने भन्दै राजनीतिक दलहरुले पहलकदमी थालेका हुन्। सुनसरी उद्योग वाणिज्य संघको हलमा शनिबार संघीय सांसद अशोककुमार राई, प्रदेश सांसदहरु र राजनीतिक दलहरुबीच ६ लेन सडक विस्तारबारे छलफल भएको थियो।  

उक्त छलफलमा सडक आयोजना, स्थानीयबासी, राजनीतिक दलहरु र उपमहानगरपालिकासँग समन्वय गरेर संवादख अघि बढाउने समझदारी भएको प्रदेश सांसद रमेशकुमार बस्नेतले जानकारी दिए। ‘नगरपालिका, दल, वडाबासी र आयोजनाबीच संवाद गरौं भन्ने समझदारी भएको छ। अहिले नै पहल नगर्ने हो भने आयोजना आफ्नो काम सकेर फर्कन्छ, र धरानको बजार क्षेत्रमा विस्तार गर्न स्रोत सुनिश्चित गर्न भविष्यमा कठिन हुन्छ, त्यसको लागि सबै पक्षबीच समन्वय गरेर संवाद अघि बढाउने निष्कर्षमा पुगेका छौं,’ प्रदेश सांसद बस्नेतले भने।

 दलहरुबीचमा ४ लेन बनाउने सहमति  

अहिले धरानको बजार क्षेत्र मात्र १५ मिटर अर्थात ५० फिट चौडाई रहेको छ। आयोजनाले ६ लेन सडक विस्तार गर्ने हो भने स्थानीयबासी उठिबास लाग्छन् भने अरबौंको भौतिक संरचना क्षति पुग्छ। त्यसैले धरानको जंगलक्षेत्र तीनकुनेसम्म सडक विस्तार भएर आइसक्दा पनि बजार क्षेत्रमा भने लामो समयदेखि ६ लेन सडक विस्तार अन्योल नै छ।

केही वर्षअघि सेउती खोला हुदै ६ लेन सडकलाई वाइपास गर्न सडक विभागले सर्वे पनि गर्न प्राविधिक पठाएको थियो। तर, सेउती खोला किनारमा सयौं सुकुम्बासी बस्ती भएकोले विरोध भएपछि यो विकल्प पनि अघि बढ्न सकेन। बजार क्षेत्रबाटै मात्र ४ लेन सडक विस्तार गर्ने छलफल भएपनि ठोस निर्णय हुन सकेको थिएन। अहिले पुनः धरानका राजनीतिक दलहरुले ४ लेन विस्तार गर्नुपर्ने सहमति गरेका छन्।  

बैठकमा सहभागी एक नेताका अनुसार आयोजना हुदा नै कोशी राजमार्गलाई विस्तार नगरिए भविष्यमा बजेट सुनिश्चितता नहुने भएकोले ४ लेन बनाएर भएपनि काम अघि बढाउन राजनीतिक दलहरुबीच सहमति भएको छ। तर, यसको पहल कदमी स्थानीय सरकारले लिनुपर्ने पनि ती नेताले बताए। ‘६ लेन सम्भव नभए पनि ४ लेन मात्र भएपनि विस्तार गर्नुपर्छ भन्नेमा राजनीतिक दलहरु सहमत भएका छन्, यसको पहल स्थानीय सरकारले गर्नुपर्छ,’शनिबार भएको छलफलको निष्कर्ष सुनाउदै ती नेताले भने।

धरानमा ६ लेन बनाउदैनौं: आयोजना प्रमुख

रानी विराटनगर इटहरी धरान सडक आयोजना प्रमुख दानबहादुर शाक्यले धरानमा ५ किलोमिटर र दुहबी क्षेत्रमा २ किलोमिटर बाहेक सडक विस्तारको काम सकिएको बताए। धरानको सेउती पुल र दुहबीको पुलको पनि काम भने बाँकी रहेको उनले बताए। स्थानीय सरकारले जनतासँग सहमति कायम गर्न सहजीकरण नगरे काम अघि बढाउन नसकिने पनि बताए।

शाक्यका अनुसार धरानमा ६ लेख सडक बन्दैन। धरान क्षेत्रमा १५–१५ मिटर क्षेत्र माग गरेर पत्राचार गरिएको पनि उनले बताए। ‘अहिले धरानको भानुचोकदेखि छाताचोकसम्म १५ मिटर अर्थात ५० फिट बाटो छ। हामीले त्यसमा थप १५ मिटर अर्थात ५० फिट विस्तार गर्ने क्षेत्र मागेका छौं,’ शाक्यले भने,‘६ लेन बन्ने होइन, अहिले भएको सडकको डबल मात्र बढाउने हो।’

 मेयर साम्पाङले मंगलबार राखे छलफल  

कोशी राजमार्ग विस्तार गर्नेबारे चौतर्फी दबाब परेपछि मेयर हर्क साम्पाङले मंगलबार छलफल राखेका छन्। उनले संघ, प्रदेशका सांसदहरु, राजनीतिक दलहरु, नागरिक समाज, वडाका जनप्रतिनिधि र सरोकारवाला स्थानीयलाई पनि छलफलको लागि पत्रचार गरिने जानकारी दिए। ‘पर्सि मंगलबार दिउँसो १ बजे सडक कत्रो बनाउने भनेर छलफल राखेको छुँ। सबै सरोकारवालाहरुलाई पत्राचार गर्न भनिसकेको छुँ,’खानेपानी आयोजनाको हिसाब सार्वजनिक कार्यक्रममा आइतबार उनले भने।

प्रकाशित: २४ पुस २०७९ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App