१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माउन्टेन ड्युको बोतलमा भरिएको स्पिरिट पिएपछि छात्राको मृत्यु

स्कुलका संचालक सहित शिक्षिका पक्राउ

छात्राको मृत्युपछि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति माग गर्दै पूर्वपश्चिम राजर्मागको सिरहा मिर्चैया खण्डमा गरिएको चक्का जाम। तस्विरः मिथिलेश यादव/नागरिक।

स्कुल संचालकको लापरबाहीका कारण पानी सम्झेर स्पिरिट खाएकी छात्राको मृत्यु भएको छ। 

छात्राको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा उच्च माविका संचालक प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको छ।

स्कुलले माउन्टेनड्युको बोतलमा राखेको स्पिरिट पानी सम्झेर खाएपछि कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका–११ भलुवाहीकि छात्रा १६ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो।

पुस २२ गते कक्षा कोठामा पढ्दै गर्दा अचानक पेट दुखेपछि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग औषधि मागेकी थिइन्। शिक्षिकाले ब्रुफेन चक्की दिएको औषधि खान उनले त्यहीँ स्पिरिटले भरिएको माउन्टेन ड्यूको बोतल पानी ठानेर खाइन्। उक्त बोतलमा रहेको स्पिरिट  खाए लगत्तै उनी बेहोस् भएकी थिइन्।

स्पिरिट पिएपछि बिरामी भएकी सृजनालाई उपचार नगरमइ विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पठमएबमेले समयमै उपचार हुन नसकेको मृतकका बुवा धम्रेन्द्र महराले बताए।

‘मलाई प्रिन्सिपल सरले थोरै स्पिरिट पिएकाले नसा लागेको र केही बेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौ’, उनले भने, ‘अवस्था खराब हुँदै गएपछि अस्पताल पु¥यायौँ तर ढिला भइसकेको रहेछ।’

उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो। उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो। सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आइतबार बिहानदेखि विद्यार्थीहरू र मृतक छात्राका आफन्तहरुले आन्दोलन पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका थिए।

स्कुलका संचालक प्रदीप तिवारी आफ्नो लापरबाहीबाट उम्किँदै शिक्षिकामाथि दोष थोपर्दै छन्। उनले भने, ‘शिक्षिकाको गल्तीले यो घटना हुन पुग्यो। तर पीडित परिवारले स्कुल संचालक तिवारीको पनि उतिकै दोषी भएको बताउँछन्।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले विद्यालयकी शिक्षिकाले छात्रालाई पानीको सट्टा सिसा सफा गर्ने स्पिरिट खाएपछि मृत्यु भएको खबर प्राप्त भएपछि सो विषयमा अनुसन्धान गरिरहेको बताए।

प्रिन्सिपल प्रदीप तिवारी आफैले विद्यार्थीको उपचार गराउनुभन्दा पनि केही भएको छैन भन्दै घर पठाउनु अपराध भएको मृतकका बुवा धर्मेन्द्र बताउँछन् 'स्कुल संचालक रहेका तिवारीले मलाई इनले पानिको सट्टा ‘थोरै स्प्रीट खाएकोले नसा लागेको छ, केही बेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै घर लिएर जानुस् भनेका थिए। ‘तिवारी सरको भर पर्दा छोरी गुमाउनुपर्‍यो’ धर्मेन्द्रले नागरिकसँग भने,‘यस्तो नियति कुनै पिताले भोग्नु नपरोस्।'

पेट दुखेपछि छोरीले निको होस् भनेर खाएको औषधि र पानी सम्झेर खाएको स्पिरिटले ज्यानै लियो धर्मेन्द्रले भने,‘ कक्षा कोठामा पानीको साटो स्पिरिट राख्ने संचालक तिवारीसँगै यस अपराधमा संलग्न सबैमाथि कारबाही हुनुपर्छ।’ छोरीको भविष्य उज्ज्वल होस् भनेर महँगो स्कुलमा पढाएको थिएँ उनले भने,‘ यस स्कुलले छोरीको ज्यान मात्र लिएनन् हाम्रो सपना पनि तुहाइदिए।’

मृतकको परिवारजनले संस्थापक प्रदीप तिवारीसहित ४ जना माथि  किटानी जाहेरी दर्ता गराएको छ। जाहेरीको आधारमा प्रहरीले स्कुलका संस्थापक तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) सुभाष बुढाथोकीले बताए।

अवरोध खोलाउन हवाई फायर

आक्रोशित विद्यार्थीले बिहानै देखि पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया बजार क्षेत्रमा गरिरहेको राजमार्ग अवरुद्ध खुलाउने क्रममा भएको झडपमा प्रहरीले हवाई फायर गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि बहादुर ओली सहित ७ जना प्रहरीहरू घाइते हुने गरी भएको झडप नियन्त्रण गर्न हवाई फायर गरिएको सिरहाका सिडिओ लालबाबु कवाडीले बताए। 

घाइतेमध्ये प्रहरीका असई सुरेन्द्र यादवका खुट्टा तीन ठाउँमा भाँचिएको छ। उनलाई थप उपचारको लागि काठमाडौं लागिएको छ। सामान्य घाइते भएकाहरूको स्थानीय मंगलम अस्पतालमा उपचार भईरहेकोे डिएसपी ओलीले बताए।

प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ। उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोलबम सहित ढुङ्गा मुडा गरेको प्रहरीको भनाई छ।

प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र आश्रुग्यास प्रहार गरी राजमार्ग सुचारु गराएको थियो। एक ठाउँमा बल प्रयोग गरेर अवरोध खुलाउँदा विद्यार्थीले अर्को ठाउँमा पुगेर राजमार्ग अवरुद्ध गरिरहेका थिए।

प्रकाशित: २४ पुस २०७९ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App