२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा पनि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु

भक्तपुरको हनुमानघाटमा पनि शुक्रबारदेखि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु भएको छ।  काठमाडौंको साँंखुमा जस्तै भक्तपुर नगरपालिका वडा नं ७  हनुमानघाट पनि एक महिने श्री स्वस्थानी ब्रतकथा प्रारम्भ हुन्छ।  यो एकमहिनासम्म यहाँं पनि साँंखुमा जस्तै ब्रत वस्ने महिलापुरुषहरु भेला भई नित्य कर्म हुने गर्दछ।  

स्थानीय माधव नारायण ब्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धब खाइतूका अनुसार परम्परादेखि नै भक्तपुरको हनुमानघाटमा पनि ब्रतकथा हुन्छ।  तथापि काठमाडौंको जस्तो धेरैले थाहा नपाएको उनको भनाई छ।  

यहाँं पुरुष र महिला दुवै लिंगका मानिसहरु ब्रत बस्ने गर्दछन्।  तर पुरुषहरु विहान आइ बेलुकी सुत्नका लागि आआफनो घर जाने तर महिलाहरु भने यही सुत्ने गर्दछन्।  

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत वस्ने चलन छ।  आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन्।  यो ब्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ।  

किंम्वदन्ती अनुसार सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ।  व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ।  यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घरघरमा सुन्ने र सुनाउने परम्परा छ।

श्रीस्वस्थानीको व्रतकालमा भक्तपुरको हनुमानघाटबाहेक काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ।  यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नु पर्दछ।  

संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ।  

प्रकाशित: २२ पुस २०७९ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App