१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चकचके बाँदरको ठेगाना खोर

काठमाडौंस्थित स्वयम्भू परिसरमा खानाको खोजीमा जम्मा भएको बाँदरको हुल। तस्बिर: नागरिक

प्रकृति र बाँदरको सम्बन्ध परापूर्व कालदेखि नै रहेको छ। बाँदर अरू जनावरहरूभन्दा बुद्धिमान् भएको कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ। रामायणकालमा पनि भगवान् रामलाई बाँदरहरूले नै सीताको खोजीमा ठूलो साथ दिएको कथामै उल्लेख छ। बाँदरलाई मानवजातिको पुर्खा पनि भनिन्छ। तर यिनै बाँदरले मानिसलाई दुःख दिन थालेपछि यो एक गम्भीर समस्या बन्न पुगेको छ।

नेपालका विभिन्न मठमन्दिरमा पनि बाँदरको रजाइँ नै हुने गरेको छ। काठमाडौंको स्वयम्भूनाथ र पशुपतिनाथमा बाँदरको चकचकी छ। स्वयम्भूलाई त विश्वमै बाँदरको मन्दिर भनेर पनि चिनिने गरेको छ। यति हुँदाहुँदै पनि अचेल काठमाडौंको स्वयम्भूनाथ मन्दिरमा बाँदरले पर्यटक, यात्रु, स्थानीय बासिन्दा तथा धर्मावलम्बीहरूलाई निकै दुःख दिन थालेको छ। यसले समस्या निम्त्याएको भुक्तभोगीहरू बताउँछन्।

अन्य क्षेत्रमा भन्दा स्वयम्भूमा बाँदरको संख्या पनि बढी भएको र चिसो बढेसँगै बाँदरलाई खानपिनको कमी हुँदै गएपछि मानिसलाई दुःख दिन थालेको स्थानीय बताउँछन्। बिहान सबेरै स्वयम्भू सडक जाम हुने गरी नै बाँदर सडकसम्म जम्मा भएर खानाको खोजी गरिरहेको भेटिन्छ। यसले यात्रु मात्र होइन, सवारी चालकलाई समेत समस्या दिएको मोटरसाइकलचालक श्याम श्रेष्ठ बताउँछन्।

‘कौसीमा बुवा घाम ताप्न बसेको समयमा अचानक बाँदर आएर आक्रमण गर्न खोज्यो। धन्न बिहानको समय भएकाले हामी बासँगै थियौं र बचायौं,’ एक स्थानीय व्यापारीले भने, ‘यति मात्र होइन, साना केटाकेटीलाई त हेपेर टोक्ने गर्छ। वडा र स्वयम्भू मन्दिर व्यवस्थापनले बाँदरलाई खानाको व्यवस्था गरिदिनुपर्छ। पर्याप्त खाना नपाएकाले यात्रुहरूलाई दुःख दिएका हुन्।’

स्वयम्भूमा साग व्यापारी राममाया तामाङका अनुसार अचेल बाँदरले विगतभन्दा निकै दुःख दिन थालेको छ। ‘यति विधि जाडोमा उज्यालो नहुँदै बिहानै तल झर्न थालेका छन्। हाम्रो साग सबै लुटेर लान्छन्। जोगाउनै मुस्किल छ,’ उनले पीडा पोखिन्, ‘साग मात्र होइन, बेलाबखत टोक्ने पनि गरेको छ।’

प्रातकालीन घुमफिर (मर्निङवाक)मा सधैं आउने गरेका पवन पोदारलाई पनि अचेल बाँदरको चकचकी देखेर दिक्क लागेको छ। ‘प्रातकालीन घुमफिरका लागि स्वयम्भू निकै वातावरणमैत्री छ। तर अचेल बाँदर निकै बढेकाले बाटो हिँड्नै समस्या छ,’ पोदारले अनुभव सुनाए, ‘मन्दिर जाने धर्मावलम्बीहरूलाई आक्रमण गर्ने गरेको देख्दा दुःख लाग्छ।’ उनले हाल स्वयम्भू क्षेत्रका रुख काटिएका र बासस्थान हटेकाले बाँदरहरू सडकतिर लागेको हुन सक्ने तर्क गरे।

प्रातकालीन घुमफिरमै सधैं स्वयम्भू आउने र बाँदरलाई खाना दिने विन्द्रबहादुर श्रेष्ठका अनुसार बाँदर जातैले लुटेर खाने लुटेरा हुन्। त्यसैले यिनीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी लिएका निकायले उचित खानाको व्यवस्थापन गरिदिए समस्या कम हुन्छ। १५ नम्बर वडामा अवस्थित स्वयम्भू क्षेत्रका वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भूमा बाँदरको संख्या ह्वात्तै बढेकाले समस्या आएको स्विकारे।

उनले वडामा पनि स्थानीय बाँदरबाट पीडित रहेको धेरैको गुनासो आएकाले आफू निर्वाचित भएको नाताले समस्या सम्बोधन गर्न छलफल भइरहेको जनाए। उनले स्वयम्भू क्षेत्रमा बाँदर राख्ने खोर बनाउने तयारी भइरहेको सुनाए। यति मात्र होइन, बाँदर नियन्त्रणका अन्य उपायबारे समेत छलफल भइरहेको उनको भनाइ छ।

‘स्थानीयको घरमा पसेर बाँदरले बच्चालाई टोक्ने, वृद्धवृद्धालाई सताउने, दुःख दिने, यात्रुको सामान खोस्ने र टोक्ने गरेका गुनासा मकहाँ आउने गरेका छन्,’ वडाध्यक्ष डंगोलले नागरिकसँग भने, ‘२/४ वटा हामीले नियन्त्रणका उपायबारे छलफल गरिसकेका छौं। स्वयम्भूको जंगलमा खोर बनाउने, समातेर बन्ध्याकरण गर्ने र अन्यत्र सार्ने उपायबारे छलफल भएको छ।’ उनका अनुसार स्वयम्भूमा अन्यत्रबाट ल्याएर छाडेकाले पनि बाँदरको संख्या बढेको हो।

स्वयम्भू व्यवस्थापन महासमितिका सदस्य चन्द्र बुद्धाचार्यका अनुसार जाडोको समयमा बाँदर बढी भोकाउने भएकाले खानाको खोजीमा तल झर्ने गरेका छन्। समितिले भने बिहान-बेलुका गरी २५ किलो भिजाएको चना खुवाउने गरेको उनले जनाए। बाँदरविद् प्राडा मुकेशकुमार चालिसेका अनुसार बाँदर र प्रकृतिको सकारात्मक सम्बन्ध भएकाले यसलाई उचित व्यवस्थापन गर्नु अति आवश्यक छ। उनले बाँदरले प्रकृतिको संरक्षण गर्ने भएकाले पनि यसको व्यवस्थापन गर्नुपर्ने अवगत गराए।

‘मठमन्दिरका रुखबिरुवा काटिए। बाँदरको बासस्थान खोसियो अनि उनीहरू घर र सहरतिर पस्न बाध्य बने,’ प्राडा चालिसेले भने, ‘प्राकृतिक खाने कुराभन्दा पनि कृत्रिम खाने कुराले पनि कम उमेर अर्थात् एक वर्षको उमेरमै बच्चा जन्माउने गरेका छन् सहरिया बाँदरहरू। जब कि जंगलतिर पाँच वर्षको उमेर पार गरेपछि मात्र बच्चा जन्माउँछन्। साउन-भदौ बाँदरले बच्चा जन्माउने समय हो। लामो आयु हुने भएकाले बाँदरको संख्या बढी भएका हुन्।’

‘अब मठमन्दिरका कोष र समितिले बाँदरका लागि प्राकृत्कि खानाको व्यवस्था गर्नुपर्छ। बिरामी बाँदरको उपचार गरी अन्यत्र सार्नुपर्छ। बाँदरको आयु पनि लामो नै हुन्छ। त्यही भएर उचित व्यवस्थापन आवश्यक छ,’ उनले थपे। बाँदरले खाएको फलफूलको बियाँ नपच्ने हुनाले उनीहरूले दिसा गर्ने स्थानमा समेत रुख-विरुवा फैलिन गई हरियाली बनाउन मद्दत पुग्ने उनको अनुसन्धानले देखाएको छ।

प्रकाशित: २२ पुस २०७९ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App