१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक शौचालय बनाउन महानगरपालिकाद्वारा एनआरएनसँग सम्झौता

एनआरएनएसँग सम्झौता गरिँदै। तस्बिर नागरिक

पोखरा महानगरपालिकाले पोखरा–९ महेन्द्रपुल शौचालय निर्माण गर्न गैरआवासीय नेपाली संघसँग सम्झौता गरेको छ। शौचालय बनाउन महानगर र एनआरएन बीच सम्झौता भएको हो।  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरेका छन्। शौचालयसँगै चमेना गृह समेत निर्माण गरिने छ।  

पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी जीर्ण भवनहरु विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताए। स्तनपान कक्ष सहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध हुनेछ।

एनआरएनएका कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गर्न सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाईन्। पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता हुने अपेक्षा गरिएको छ। पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान पुग्ने विश्वास समेत एनआरएनले गरेको छ। एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको समेत उनको भनाई थियो।  

सम्झौता अनुसार महेन्द्र पुलको उत्तर तर्फ रहेको किन.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिने छ एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ। करिब १ करोडको लागतमा ३ महिना भित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ।

। पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय रहेका छन । महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ। त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको झन्डा समेत राखिनेछन्। पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ।  

प्रकाशित: २० पुस २०७९ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App