१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चोक तथा चहलपहल हुने ठाउँमा आगो बालिने

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान तयार पार्ने र राहतलाई प्राथमिकता दिने निर्णय गरेको छ।

 बुधबार बसेको समितिको बैठकले चिसो र शीतलहरबाट बच्न यस्तो निर्णय गरेको हो। चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गर्ने र राहत वितरणमा प्राथमिकतामा राख्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाए।

‘चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सवडिभिजन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने। दाउरा उपलब्ध गराउँदा सहुलियत दररेटमा समेत उपलब्ध गराउन अनुरोध गरिएको छ,’ उनले भने, ‘चिसो तथा शीतलहरको प्रभावबाट बच्न/बचाउन जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयार गर्ने छ।’

यस वर्षको चिसोयाम सुरु भइसकेकाले बाँकेमा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना–२०७९ को मस्यौदामाथि छलफलसमेत गरिएको छ।

उक्त मस्यौदा परिमार्जित शीतलहर आकस्मिक योजना, बाँके २०७८ स्वीकृत गरिएको छ। साथै सबै पालिका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले आआफ्नो शीतलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तर्जुमा गरी लागु गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जनाए।

‘जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शीतलहरबाट बच्ने/बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने भएको छ।’

साथै कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण छिमेकी देश तथा विश्वव्यापीरुपमा बढिरहकोले सो को नियन्त्रण तथा रोकथामका लागि प्रयास थाल्ने निर्णय भएको छ। ‘स्वास्थ्य मापदण्डका उपायहरु अपनाउँदै कोभिड–१९ को संक्रमण न्यूनीकरणको उपाय अपनाउन जनचेतनामूलक गतिविधिलाई थप बढाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने,’ बैठकको निर्णयमा भनिएको छ, ‘सिमानाका रुपैडियालगायत अन्य नाकाहरुमा थप कडाइ गर्ने। स्वास्थ्य चेकजाच बढाउने। शंकास्पद लक्षण देखिएमा अनिवार्य परीक्षणको व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिने।’

उक्त बैठकमा आपतकालीन सेवा दमकल, एम्बुलेन्स, छाडा चौपायाको व्यवस्थापन हुँदै आइरहेकोमा यस सेवालाई थप प्रभावकारी बनाउन जिल्लास्तर तथा पालिकास्तरमा कार्यविधि तयार गरी सेवालाई प्रभावकारी बनाउन छलफलसमेत भएको छ।

प्रकाशित: १८ पुस २०७९ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App