७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लामा स्वरोजगार बन्दै अटो व्यवसायी

फाइल तस्बिर

तातोपानी गाउँपालिका ६ का २२ वर्षिय पदमबहादुर खड्का अटो रिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ कमाउँछन्।

तीन वर्ष मलेसियाबाट घर फर्केर अटो रिक्सा व्यवसायमा लागेका उनी अहिले आफ्नो कमाइप्रति निकै सन्तुष्ट छन्। सबै खर्च कटाएर दैनिक एक हजार रुपैयाँ बचाउँछु। उनले भने, 'अटो रिक्सा किनेपछि स्वरोजगार भएको अनुभुति गर्दैछु।' सात लाख रुपैयाँ किस्तामा अटो ल्याएका खड्का अहिले मासिक पन्ध्र हजार रुपैयाँ किस्ता तिर्दै आइराखेका छन्।

उनले भने,'महिनामा पन्ध्र हजार किस्ता, मर्मत खर्च सबै बेहोरेर बैंकमा ३० हजार रुपैयाँ जम्मा गरिरहेको छु। यो राम्रो कमाइ हो।' एसएलसी उर्तिण भएर रोजगारीको लागि विदेश हानिएका उनी अहिले गाउँमै स्वरोजगारको एक उदाहरण बनेका छन्। मेहनत र धैर्य गरेको खण्डमा गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश छर्न सफल भएको उनी बताउँछन्।

'शुरु शुरुमा अटो रिक्सा कमै थिए। उतिबेला दैनिक ४ देखि ५ हजार रुपैयाँ सम्म पनि कमाइयो। हाल १ दिनको १५ देखि १८ सय रुपैयाँ सम्म कमाउदै आएको छु', उनले थपे। तातोपानीकै २० वर्षिय मिलन खड्का अटो रिक्साबाट मनग्य आम्दानी भएको बताउँछन्। उनी पनि तीन महिना विदेशमै बसे। मलेसियामा कामदारका रुपमा काम गरे। मलेसियामा बसेका खड्काले विदेशभन्दा स्वदेशमै अटो रिक्साबाट राम्रो आम्दानी भएको अनुभव सुनाए। आफ्नै देशमा परिवार सँगै बस्न पाइएको छ। व्यवसाय गरेर राम्रो कमाई भएको छ।  

उनले भने,'स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश जानु खासै आवश्यक ठानिएन्। अर्काको देशमा रातदिन पसिना बगाएपनि आत्मसम्मान पाइदैन्।' मिलन र प्रेमबहादुर एक उदाहरण मात्र हुन्।

पछिल्लो समयमा जुम्लाका अधिकांश युवा अटो चलाएर स्वरोजगार बनेका छन्। पाँच लाख देखि सात लाख रुपैयाँको लागतमा खरिद गरेर जुम्लाका ६० भन्दा  बढी युवा मासिक २० देखि ३० हजार आम्दानी गर्न सफल भएका हुन्।  

वैदेशिक रोजगारीबाट फर्केका युवाहरु अहिले आफ्नै गाउँठाँउमा अटो खरिद गरेर रमाइरहेका छन्। आफ्नै गाउँठाउँमै अटो रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकहरू पनि अटो रिक्सातर्फ आकर्षित भएको उनीहरु बताउँछन। गाउँमै स्वरोजगार भएपछि कसैको कर र चापमा बस्नु पदैन्। विदेशमा नेपालीहरूले भोगिरहेको दुस्खका व्यथाहरु बताउँदै उनीहरु भन्छन्,'अर्काको देशमा नेपालीको हालत मर्दा कुकुर बिरालो मरे जस्तै हुने गर्छ।'

जुम्लामा दुई वर्ष अघिदेखि अटो रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको छ। सानातिना ढुवानीदेखि आवतजावतमा अटो रिक्सा सञ्चालनले टेवा पुगेको छ। ठूला सवारी नपुगेको गाउँघरको बाटोमा पनि अटो रिक्सा पुग्ने गरेको छ। ग्रामीण क्षेत्रमा अटो रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ। कहाँ एम्बुसलेन्स खोज्ने भन्दै तुरुन्तै गाउँकै अटो रिक्सा बोलाएर अस्पतालमा बिरामी र्पुयाउन सहज भएको स्थानीय बताउँछन्।

हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिका भित्र र तातोपानीको एरेनी सम्मको रुटप्रमिट पाएका छन्। हाल जुम्लामा ६० वटा अटो रिक्सा जुम्ला पुगेका छन्। बेरोजगार युवाहरुको मुख्य आम्दानीको स्रोत अहिले अटो रिक्सा बनेका छन्।

प्रकाशित: १८ पुस २०७९ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App