१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

मदन भण्डारी राजमार्गका १२ पुलको ८० प्रतिशत निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग अन्तर्गत अर्जुनधारा नगरपालिकाको गोयाङ खोलामा निर्माणाधीन पुल।

पूर्व पश्चिम जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत झापाका १२ वटा पुल द्रुतगतिमा निर्माण भइरहेका छन्।

एक अर्ब ४५ करोड ५३ लाख ५८ हजार ८५९ को लागतमा झापामा २ सडक खण्डमा गरी १२ वटा पुल द्रुतगतिमा निर्माण भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जानकारी दिएको छ।

प्रायः सबै पुलको ८० प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको कार्यालयका इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए।

पूर्वी बिन्दु मेचिडाँगी–पाटापुरदेखि शान्तिनगरको १० किलोमिटर क्षेत्रमा पुलसहितको सडक निर्माणको ३८ प्रतिशत काम सकिएको छ। यसै गरी पश्चिम क्षेत्रको बेलडाँगी देखी मावाखोला क्षेत्रको ४ किलोमिटर सडकको भौतिक निर्माणको ४० प्रतिशत काम सकिएको छ।

झापा र इलाम गरी राजमार्गको कुल १२८ किलोमिटर सडक क्षेत्र मध्येको बाँकी ३२ किलोमिटर सम्झौता हुन लागेको इन्जिनियर मण्डलले जानकारी दिए। त्यसबाहेकको ९६ किलोमिटरमा भने ड्रेन सहितको ट्र्याकको आधा भन्दा बढी काम सकिएको उनले बताए।

त्यस्तै मेची राजमार्ग पश्चिमको बिरिङ खोलाको पुल निर्माण सम्पन्न भइसकेको छ। पुल निर्माणको काम सकिएसँगै बुधबारे–खुदुनावारी यात्रा झन्डै १२ किमी छोटो बनेको स्थानीयले बताएका छन्।

मेची राजमार्ग पूर्व कुरुङ र खारखोलामा निर्माण भइरहेको पुल बनिसकेपछि इलामको रोङ गाउँपालिका र झापाको मेचीनगरको उपल्लो भेगका नागरिकलाई आवतजावतमा सहज हुनेछ।

सो क्षेत्रमा उत्पादन हुने अम्रिसो, अदुवा, सुपारी र अन्य तरकारीले मेची राजमार्ग हुँदै बजारसम्म ढुवानी गर्न सजिलो हुने स्थानीयवासीले विश्वास लिएका छन्। जिल्लामा मदन भण्डारी राजमार्गको पूर्वी बिन्दु पाटापुर र पश्चिम बिन्दु सुनसरीको मावाखोला रहेको छ।

प्रकाशित: १७ पुस २०७९ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App