१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘महाभारा’लाई नाटकमा देखाइने

२०७९ सालको मदन पुुरस्कार सिफारिसको अन्तिम ८ मा परेको कृति ‘महाभारा’लाई नाटकीय रूपमा मञ्चन गरिने भएको छ। इलामकै लेखक तथा पत्रकार बसन्त बस्नेतद्वारा लिखित उपन्यासलाई इलामकै कलाकारले नाटकीय रूप दिने भएका हुन्।  

यही पुस २० देखि ३० सम्म सदरमुकामस्थित नारी विकास संघको सभाहलमा स्थानीय कलाकारले नाटक मञ्चन गर्ने भएको चेतना नाट्य समूह अध्यक्ष सुरेश पोर्तेलले बताए। चेतनाले नाटक मञ्चनको आयोजना र कलाकार व्यवस्थापन गरेको हो। पूर्वीपहाडकै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पु¥याउने प्रयासले यसलाई नाटकीय रूप दिन लागिएको निर्देशक अन्वेश थुलुङ राईले जानकारी दिए।  

‘युवाको सिर्जनशीलता प्रस्फुटन गर्नु अभिनयको उद्देश्य हो,’ निर्देशक अन्वेशले भने, ‘प्रविधिको उच्चतम् प्रयोग गरिरहेको अहिलेको युवा पुस्तालाई समाजको यथार्थसँग घुलमिल गराउनु पनि हाम्रो लक्ष्य हो।’ उनले लामो समय कम्प्युटर र मोबाइलमा बिताइरहेको युवा पुस्ताको समाजसँगको सम्बन्ध टाढा हुनेतिर गइरहेको पनि बताए। नाटकमा प्रेम, धर्म र राजनीतिको सम्मिश्रण रहेको र निकै मेहनतसाथ यसको मञ्चन तयारी गरिएको निर्देशक राईको भनाइ छ।

नाटकमा १५ कलाकारले अभिनय गर्नेछन्। भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईं, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगरले नाटकमा अभिनय गर्दैछन्। २ महिनायता नाटकको रिहर्सल भइरहेको अध्यक्ष पोर्तेलले जानकारी दिए। ‘नाटकमा अभिनय गर्ने कलाकार छान्न पनि वर्कसप नै चलाएका थियौं,’ उनले भने, ‘निकै मेहनत गरिएकाले नाटक उत्कृष्ट बन्ने आशा छ।’  

दिउँसो साढे १ र साँझ गरी दिनहुँ २ पटक नाटक मञ्चन गरिने छ। दर्शकले ३ सय रुपैयाँ तिरेर नाटक हेर्न सक्ने तर विद्यार्थीका लागि यो दर आधामात्र रहने उनले बताए।  

प्रकाशित: १७ पुस २०७९ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App