१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा परम्परागत घर निर्माणको माग गरी हस्ताक्षर संकलन

परम्परागत घर निर्माण गर्न पाउनुपर्ने माग गरी शनिबार भक्तपुरमा हस्ताक्षर संकलन गरिएको छ। भक्तपुरको दरवार स्क्वायर प्रवेश गर्ने खौमा द्धार अगाडि विहानभर हस्ताक्षर संकलन अभियान चलाइएको हो।  

स्थानीयस्तरमा लोकप्रिय इटा, माटो अनि काठको दलानबाट बनाइने घरको पुरानो शैलि अनुसारको घर बनाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको हो। ऐतिहासिक भक्तपुर नगरमा मात्रै होइन, देशैभरि नै पुरानो शैलिका परम्परागत घर निर्माणमा केन्द्र सरकारबाटै बन्देज लगाइएको भन्दै त्यसको विरोधस्वरुप हस्ताक्षर संकलन गरिएको हो। उनका अनुसार आफनै गाउँंठाउँंका श्रोतसाधनहरुको प्रयोग गरी परम्परागत घर निर्माण गर्न चाहदा वढीमा दुई तल्लाको मात्रै बनाउन पाइन्छ। यही कारण नचाहदा नचाहँंदै पनि देशैभरिका मानिस ढुंगा माटो छोडेर डण्डी, सिमेन्टको ढलानको घर बनाउन बाध्य छन्।  

मेथड कन्सल्टेन्सी लान्चाफल्चा कमलविनायक भक्तपुरले यसका लागि अभियान नै सुरु गर्ने जनाएको छ। अभियान अन्तर्गत शनिबार भक्तपुरमा पहिलो पटक हस्ताक्षर अभियान थालेको जनाएको छ। भक्तपुरको खौमामा विहानदेखि दिउँंसो ११ बजेसम्म हस्ताक्षर अभियान चलाएको जनाइएको छ।  

मेथड कन्सल्टेन्सी लान्चाफल्चा कमलविनायक भक्तपुरका प्रबन्ध निर्देशक इन्जिनियर तुल्सीलाल बासुकलाले भूकम्पपछि नेपाल सरकारले मौलिक नेपाली शैलीको घर निर्माणमा बन्देज लगाएको आरोप लगाए। यही कारण देशैभरिका मानिसले नचाहेर पनि ढलानको घर बनाउन बाध्य भएको उनको भनाई छ।  ‘मौलिक चिनारी झल्कने घर निर्माणमा सर्वसाधारणको रुचि त घटेकै छ, त्यसमा पनि सरकारले नियोजित रुपमा बन्देज लगाएको छ, इन्जिनियर बासुकलाको आरोप छ। सरकार आफैंले यस्ता घर नबनाउने त भइहाल्यो सर्वसाधारणले वनाउन चाहे बनाउन नपाएको दुःखेसो उनको थियो।

२०७२ सालको भूकम्पपछि सरकारले परम्परागत घर बनाउन पाउने व्यवस्थासहितको डिजाइन सार्वजनिक गरेको छ। तर परम्परागत घर बनाउँंदा दुई तल्ला भन्दा वढी बनाउन पाइँंदैन। यही कारण वढीमा दुई तल्ला बनाउन चाहे मात्रै परम्परागत घर बनाउन पाइने व्यवस्था नेपाल सरकारले गरेको छ।  

इन्जिनियर बासुकलाले भने, ‘दुई भन्दा वढी तल्लाको घर बनाउन पाइन्छ भन्ने त छ तर दुई तल्ला भन्दा वढीको नक्सा लिएर गयो भने एनलाइसिस (घरको बलियोपनासहितको इन्जिनियरिग मापदण्ड) लिएर आउन भन्छ, उनले भने, ‘जबकि यसको कुनै व्यवस्था नै गरेको छैन।’  

डण्डी, सिमेन्टसहितको ढलानको घर बनाउन चाहे एनलाइसिस गर्न सकिने अवस्था छ। तर परम्परागत घर बनाउनका लागि त्यसको एनलाइसिस गर्न नसिकिने जनाइएको छ। यसकारण घुमाउरो पाराले परम्परागत घर बनाउन बन्देज नै लगाइएको जनाइएको छ।

आर्किटेक्ट सृजना प्रजापतिका अनुसार इन्जिनियरिंग पढाईको क्रममा इन्जिनियरिंगका विद्यार्थीलाई परम्परागत घरको एनलाइसिस गर्न नै पढाई गराइँंदैैन। यस्तो अवस्थामा परम्परागत घरको एनलाइसिस नै गर्न नसकिने अवस्था रहेको उनको भनाई छ। यसका अलावा अहिले पुराना नेपाली मौलिकस्वरुपको घर बनाउने कालिगढ र निर्माण सामग्री पाउन पनि कठिन छ। यहीकारण देशैभरिका बस्तीहरु विदेशी शैलीमा ठडिएका छन्। क्रंक्रिटको जंगलले नेपालका सहरहरु भरिन थालिएका छन्।  

घर निर्माणको नेपालको आफ्नो छुट्टै मौलिक एवं विशिष्ट परम्परा छ। तर, पछिल्लो दशक परम्परागत शैलीको घर निर्माण गर्ने चलन ह्वात्तै घटेको छ। भएका पुराना व्यक्तिगत र सरकारी भवनहरु पनि जीर्ण हुँदै, मासिँदै गएका छन्।

नेपाली कला झल्कने घरहरुको संरक्षणतर्फ न सरकार न व्यक्तिगत कसैको पनि चासो देखिँदैन। सर्वसाधारणले नेपाली शैलीलाई बिर्संदै गएपनि सरकारीस्तरबाट यसको संरक्षण हुनुपर्ने हो। तर, अहिले निर्माण हुने कुनै पनि सरकारी कार्यालयमा नेपाली मौलिकपनलाई ध्यान दिएको पाइँदैन। पर्यटकीय र सांस्कृतिक क्षेत्रमा एकाध परम्परागत शैलीका घर बन्ने गर्छन्। तिनले नेपालीपन जोगाउनसक्ने देखिँदैन।  

प्रकाशित: १६ पुस २०७९ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App