७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरबाट तस्करीका कपडा बरामद

भन्सार छलेर अवैध रुपमा चोरी तस्करी गरेर ल्याइएको दुई गाडी कपडा विराटनगर भन्सार कार्यालयले बरामद गरेको छ। शुक्रबार विराटनगर–७ स्थित महावीरोडमा रहेको एक घरको एउटा ‘फ्ल्याट’मा अवैध रुपमा ल्याएर भण्डार गरेको अवस्थामा भन्सार कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका अनुसार अनिल साहले बहालमा पूरै घर लिएर अवैध कपडा भण्डारण गर्ने गरेको खुलेको छ। विशेष सूचनाका आधारमा त्यहाँ तस्करी गरेर कपडा भण्डारण गर्ने गरेको पाएपछि साहको गोदाममा छापा हान्दा ठूलो परिमाणमा कपडा भेटिएको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी रामचन्द्रप्रसाद ढंगानाले जानकारी दिए।

साहले मोरङ र सुनसरीबाट अवैध रुपमा कपडा भित्र्याउने गरेको पाइएको छ। उनले आफैले एउटा मारुती भ्यानमा दैनिक विराटनगर नजिकको खुला सीमाको फाइदा उठाउँदै ल्याउनुका साथै विभिन्न ‘क्यारिङ’मार्फत तस्करी गरेर कपडा ल्याउने गरेका थिए। यहाँ भण्डारण गरेर काठमाडौं, विराटनगरलगायत पूर्वका बजारमा पठाउने गरेको खुलेको छ।

साहको गोदामबाट बरामद गरिएको कपडा प्रहरीको ठूलो बसभरी र एउटा ट्याक्टरभरी राखेर लगिएको थियो। बरामद गरिएको कपडाको खरिद बिल साहले देखाउन नसकेपछि उनकै अगाडि बरामद गरिएका कपडाका पोका खोली मुचुल्का बनाएको बताउँदै, सूचना अधिकारी ढंगानाले भने, ‘अहिले खोलिएको पोकामा ३७ प्रकारका विभिन्न कपडाहरु छन्। त्यसको प्रति गोटा (पिस) गन्ने काम भइरहेको छ। ठूलो परिमाणमा भएकाले पूरै गन्नका लागि केही समय लाग्ने छ।’

बरामद गरिएको कपडाको गणना सकिएपछि मात्रै त्यसको सरकारी मूल्य र बजार मूल्य आउने हुँदा अहिले त्यसको मूल्य खुल्न सकेको छैन, सूचना अधिकारी ढंगानाले भने।

मंसिर २३ गते राति साढे १० बजेतिर नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सारको ३ नम्बर गेट नजिक कपडा तस्कर र भन्सार कर्मचारीबिच झडप भएको थियो। भन्सारको ३ नम्बर गेट सीमा प्रहरी चौकीको गेटमै रहेको छ। त्यहाँबाट कपडा तस्करी हुँदै गर्दा भन्सारका कर्मचारी र तस्करबीच झडप हुँदा प्रहरीले कर्मचारीलाई असहयोग गरेको उनीहरुले आरोप लगाएका थिए।

झडप हुँदा तस्करीले सबै सामान लिएर जाँदासमेत प्रहरीले सहयोग नगरेको भन्दै भन्सार कार्यालय विराटनगर विज्ञप्ति नै जारी गरेर शान्ति सुरक्षाको माग गरेको थियो। तस्करीका सामानसहित सवारीसाधन नियन्त्रणमा लिने क्रममा तस्करहरूको समूहले भन्सारका कर्मचारीलाई ढुंगामुढा गर्दै ज्यान मार्ने धम्की दिँदै सामान र सवारीसाधन जबरजस्ती लग्दासमेत त्यहाँ रहेका प्रहरीले कर्मचारीलाई सहयोग नगरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

भन्सार विभाग तथा अर्थ मन्त्रालयबाट यस कार्यालयलाई आवश्यक शान्ति सुरक्षाको व्यवस्था तथा चोरी पैठारी नियन्त्रणमा सुरक्षा निकायको पर्याप्त सहयोगको व्यवस्थापन गर्न माग गरेका थिए।  

प्रकाशित: १५ पुस २०७९ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App