१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिम तराईमा ह्वात्तै बढ्यो चिसो

चिसो बढेपछि आगो ताप्दै सर्वसाधारण।तस्बिर: गणेश/नागरिक

मंगलबार बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, बर्दियाको गुलरिया, बासँगढीलगायतका पश्चिम तराईमा चिसोले जनजीवन प्रभावित पारेको छ। बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, दाङलगायतका जिल्लामा अत्यधिक चिसो बढेको छ।

बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारी साधन कम चलेका छन्। यस वर्ष जाडो सिजनमा सबैभन्दा चिसो मंगलबार महसुस भएको छ। नेपालगन्जमा बिहान करिब एक घन्टाजति शीतलहरसमेत चलेको थियो। ‘बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको छ’, नेपालगन्जका स्थानीय रामबहादुर केसीले भने, ‘चिसोले गर्दा घरबाहिर निस्किनै सकिएको छैन।’ यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन्। आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन्। ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन’, उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छु।’

चिसोले गर्दा ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन्। उनीहरू काममा जानै पाएनन्। ‘चिसोले गर्दा काममा जान पाइएन’, मजदुर तिलक थारूले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ। केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ।’ दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका लागि जिल्लामा सर्वसाधारण झर्ने गर्छन्। दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्की ज्यामी कमला सुनारले बताइन्। ‘अत्यधिक चिसोले काममा जान पाइएन’, उनी भन्छिन्, ‘एकदुई घन्टा घाम लागेको भए इँटा ‘लोडअनलोड’ गरेर केही पैसा कमाउन सकिन्थ्यो।’

त्यस्तै चिसोले गर्दा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ। अस्पतालमा बिरामीसमेत समस्यामा परेका छन्। केही दिनअघि बिहान हुस्सु र कुहिरो लाग्ने गरे पनि दिनमा भने मौसम सफा हुँदै गएको थियो। मंगलबार भने दिनभरि हुस्सु र कुहिरो लाग्यो। जसले गर्दा नेपालगन्जबाट काठमाडौं, पोखरा र पहाडी तथा हिमाली जिल्लामा हुने उडानसमेत प्रभावित भएको छ। बिहानै हुने उडान दिउँसोतिर भएका नेपालगन्ज विमानस्थलले जनाएको छ।

कार्यालयले गर्दैन मौसम अपडेट

मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले फेसबुक पेज सञ्चालन गरेको छ तर पछिल्ला दिनमा मौसम परिवर्तन हुँदै गर्दा उक्त पेजबाट कुनै सन्देश प्रवाह गरिएको छैन। जसले गर्दा मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारणलाई समस्या भएको छ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका कर्मचारीले सञ्चारमाध्यममा समेत मौसमसम्बन्धी जानकारी दिन सकेनन्। कार्यालय प्रमुख र सूचना अधिकारी कार्यालय नहुँदा उक्त सूचना सञ्चारमाध्यमले पाउन सकेनन्। ‘म १० दिनदेखि कार्यालय बाहिर छु’, मौसमविद् तथा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका सूचना अधिकारी राजीव झाले भने, ‘म अहिले मौसमसम्बन्धी जानकारी दिन सक्दैन।’ उनले नागरिकसँग भने, ‘कार्यालय प्रमुखसँग जानकारी लिनुस्।’

प्रकाशित: १३ पुस २०७९ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App