१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

फायल तस्वीर

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।

नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी-१ को टार लगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडकछेउमै फोहर फालिएको छ भने प्लास्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथिका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन्। प्लास्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ। जैमिनी-१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए। उनले भने, ‘कुस्मीशेराको फोहर जति सबै जथाभावी रूपमा ठेउले खोलामा फालिएको छ, सडकछेउमा पनि सर्वत्र छरिएको छ, फोहर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासीन बनेको छ।’

साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहर पनि बढी नै हुने गरे र फोहर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे।

उनले बजारवासीले फोहर व्यवस्थापनमा पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउँछन्। ‘बजारको फोहर यत्रतत्र फालिएको छ। यसको गन्धले वरपर पुग्न पनि सकिंदैन, त्यो नजिकको बस्तीमा त बसीनसक्नु हुन्छ गन्हाएर, फोहर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकैठाउँ छ, सिसा पनि त्यहीं, छ प्लास्टिक पनि एकै ठाउँ छ।’

उनले फोहर व्यवस्थापनको विषय महत्त्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। दिनदिनै बजारमा जनसंख्या बढी रहेको र फोहर पनि बढ्दै गइरहेको उनको भनाइ छ। प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन्। जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडकछेउमा नै स्थानीयले फोहर थुपार्दा दुर्गन्ध फैलिएको बताए। स्थानीयले फोहरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए। फोहर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउँछन्।

‘बजार वरपरका केही ठाउँमा फोहर अस्तव्यस्त रूपमा फालिएको छ। हामी मर्निङ-वाक जाँदा पनि देखेका छौं, त्यसको व्यवस्थापनका लागि खासै छलफल भएको छैन। यस्तो समस्या देखियो, यसको सही व्यवस्थापनमा लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन गर्नुभयो, जग्गा व्यवस्थापन गरेर यहाँको फोहर सो ठाउँमा फ्याक्ने व्यवस्था मिलाउने छौं, नगर प्रमुख पुनले भने।

सडकछेउमा नै फोहर फालिंदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रु समेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन्। जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामी समेत हिंड्ने सडकछेउमा फोहर फालिंदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित छन्। कुश्मीसेरामा हप्तामा एकपटक फोहर संकलन गरिन्छ भने संकलित फोहर सडक छेउमा फाल्ने र जलाइने गरिन्छ।

फोहर संकलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका–१ कुश्मीसेराका मिलन थापाले लिएका छन्। पालिकाको बोलपत्र आह्वानपछि आफूहरूले हप्तामा एकपटक फोहर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताए। स्थानीयवासी थापाले फोहर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताए।

‘बजारको फोहर उठाउने जिम्मा त लियौं तर ठाउँ पाएनौं। प्रशासकीय अधिकृतलाई फोहर फाल्ने ठाउँ व्यवस्थित गराइदिन भनेका थियौं तर उहाँहरूले जग्गा व्यवस्थापन नगरिदिंदा फोहर बाटोछेवै फाल्नुपरेको छ’, उनले भने। पालिकाले फोहर संकलन गर्ने मेसिन समेत मर्मत नगरिदिंदा आफूहरूलाई समस्या भएको उनको भनाइ छ। रासस

प्रकाशित: ११ पुस २०७९ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App