‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रणा दिनु हो। जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो। एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन,’ यदी यो भनाइ सत्य हुँदैन्थ्यो भने आज कोहलपुरमा अटो रिक्सा चलाउने ३१ वर्षीया मनिषा शाहीको जीवनमा सकारात्मक उर्जा आउने थिएन।
एक वर्ष अघि उनको जीवनमा निराशाले चारैतिरबाट घेरा हाल्यो। त्यतिबेला उनले आफ्नो सफलता र उपलब्धिको सम्झना गरिन्। त्यसपछि एउटा नयाँ र राम्रो कामको थालनी गरिन्। जसले आज उनलाई पौरखी हातसम्म डोर्यो। अछाम घर भएकी मनिषा पाँच वर्षअघि उपचारका क्रममा कोहलपुर झरेकी थिइन्। पाठेघर, नसासम्बन्धी समस्याले उनी अहिले पनि पीडित छिन्। अप्रेसन गर्न धेरै पैसा लाग्ने र घर फर्किँदा त्यतिधेरै पैसा जम्मा गर्न नसकिने अवस्था आएपछि उनी परिवारसहित कोहलपुरमै बसिन्। साँझबिहान काम गरेर दिन गुजारा चलाउथिन्। पछि तरकारी र फलफूल पनि बिक्री गर्न थालिन्। तर, त्यसबाट उनले मनग्गे आम्दानी गर्न सकिनिन्। परिवार पाल्न र आफ्नो उपचार गर्नै समस्या हुँदा उनीलाई ठूलो पीडा थियो। श्रीमान्ले साथ र सहयोग गर्नुको साटो अनेकन आरोप लगाउथें। श्रीमान्लाई मनिषाले कमाउनका लागि भारत नपठाएकी पनि होइनिन्। ‘यहाँबाट पैसा सापटी लिएर भारत पठाउँथें,’ उनले भनिन्, ‘उहाँ (श्रीमान्) ले कमाएर पैसा ल्याउनुको साटो उल्टै ऋण लगाएर घर फर्किनु हुन्थ्यो। जसले मलाई थप पीडा दिन्थ्यो।’
श्रीमान्ले उनको दुःख र पीडामा काँध नथापे पनि उनले कहिले श्रीमान्लाई नराम्रो व्यवहार गरिनन्। ‘श्रीमान्लाई मैले कहिलै नराम्रो व्यवहार गरिन्ँ,’ उनी भन्छिन्, ‘सधैं सम्मान र माया गरिराखेँ।’ यत्तिकैमा श्रीमान्ले मनिषालाई छाडे। अर्थात् दोस्रो विवाह गरे। ‘अर्को विवाह गरेर भारत जानुभयो भन्ने सुनेको छुँ,’ उनी भन्छिन्, ‘एक वर्ष भयो परिवारको सम्पर्कमा हुनुहुन्न।’ उनी चाहन्थिन्, ‘संघर्ष बरु मै गरू। श्रीमान्ले सधै साथ दिइराखोस्।’ तर उनको चाहना उल्टो भयो। ‘डरलाई सधैंभरि जित्नुहोस्। म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखि टाढा राख्नुहोस्,’ यस हरफलाई उनले गज्जबले आत्मसाथ गरेको देखिन्छ। र, त आज श्रीमान्ले छाडे पनि जिन्दगीको यात्रालाई ‘ड्राइभिङ’ गरिरहेकी छिन्।
पूर्णरुपमा श्रीमान्को साथ नपाएपछि उनी कठिन मोडमा उभिइन्। जिन्दगीको यात्रालाई अगाडि बढाइन्। अहिले उनी आफ्नो, तीन छोरी र एक छोराको चालक मात्र होइन, कयौं व्यक्तिको यात्राको चालक बनेकी छिन्। अर्थात, उनी अटो रिक्सा चालक हुन्। अटो रिक्सा चलाएर उनले यतिबेला दैनिकी गुजारा चलाइ रहेकी छिन्। ‘तरकारी र फलफूलबाट आम्दानी ठीकै हुन्थ्यो,’ मनिषा भन्छिन्, ‘तर, तरकारी र फलफूल बिक्री भएन भने कुहिएर जाने जोखिम पनि हुन्छ। जसले घाटा व्यहोर्नुपर्छ।’
तरकारी र फलफूल व्यवसायबाट जोखिम हुने भएपछि अटो रिक्सा चलाउन थालेको उनी बताउँछिन्। भनिन्छ, ‘यदि सपना पूरा भइरहेको छैन भने बाटो बदल्नुस्, सिद्धान्त होइन, किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन।’ उनले यसलाई आत्मसाथ गर्दै व्यवसायको बाटो बदलिन। उनको सिद्धान्त थियो, ‘सहजरुपमा परिवार पाल्ने।’ बाटो थियो, ‘फलफूल र तरकारी बिक्री गर्ने।’ उनले यही बाटो बदलेर अहिले अटो चलाउन थालेकी छिन्।
एक लाख ६० हजार रुपैयाँमा उनले आजभन्दा ६ महिना अघि उक्त रिक्सा किनेकी थिइन्। त्यतिबेलादेखि अहिलेसम्म उनले अटो चलाइ राखेकी छिन्। यसमै उनी सन्तुष्टि र खुसी छिन्। मान्छेको आवतजावत हुने दिन राम्रो कमाइअर्थात दैनिक एक हजारभन्दा बढी आम्दानी हुन्छ। मान्छेको चहलपहल कम हुने दिन दैनिक पाँच सयसम्म कमाइ हुने उनी बताउँछिन्। यो कमाइले उनलाई परिवार पाल्न मुस्किल छैन। तर आफ्नो उपचार गर्न भने उनलाई कठिन छ। त्यसै पनि उनलाई साह्रो काम गर्न समस्या छ।
विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवम् महान् व्यक्तित्वहरूले बोलेका कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ। ति भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ। जो हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन्। त्यसैगरि मनिषाको जीवन संघर्ष हेर्दा रोजगारी छैन र काम पाइँदैन भन्ने भीडलाई एउटा उर्जा, उत्साह र सहास प्रदान गर्छ। धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ। जब जिन्दगीमा तृप्ति ९सन्तोष० मिल्छ तब साग, सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल। सम्पत्तीका हिसाबले उनी सम्पन्न नभए पनि सन्तुष्टि मनले जीवनलाई खुसी तुल्याएकी छिन्। संघर्ष र मेहनत गर्नेहरुका लागि मनिषा खुला किताब हुन्। जुन किताबले जिन्दगीलाई अगाडि बढाउन बाटो सिकाउँछ। उर्जा र हौसला प्रदान गर्छ अनि आत्मसम्मान र सन्तुष्टि प्राप्त हुन्छ।
प्रकाशित: ९ पुस २०७९ ०९:०२ शनिबार