२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाजुरालीको पहिचान भुवा पर्व सुरु

फाइल तस्बिर मार्तडीका भुवा चाली खेल्दै स्थानीय

बाजुरा जिल्लाको  दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।  

भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ। पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ। जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ।  

तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ। पौराणिक कालमा पाण्डव र कौरव बिच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ।

यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ। भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ।  

 भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रदर्शन गर्ने प्रचलन रहेको छ। भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ। जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ।

पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार ढाल लिएर खेल्ने गरेको पाइन्छ। भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ।  

भुवा पर्वका अवसरमा बह्मातोलामा होरीनो पर्व मनाइने भएको छ। होरिनुकमा पाण्डवले प्रयोग गरेका हलिया जस्तै वस्तुको प्रदर्शनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्बिरहरू पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ।  

जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन्। पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ।  

प्रकाशित: ८ पुस २०७९ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App