१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

२७९ जना विपन्नलाई साढे दुई करोड सहयोग

म्याग्दीमा आर्थिक अवस्था कमजोर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ। गरिबीकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले स्थापना भएको ओमकुमारी शान्ति कोषले हालसम्म मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सर लगायत जटिल रोगबाट थलिएका जिल्लाभित्रका २७९ जना निम्नआयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रुपैयाँ उपलब्ध गराएको हाे। मानवीय सेवासँगै प्राकृतिक विपत्तीमा परेका म्याग्देलीको सहयोगमा निरन्तर सक्रिय रहेको संस्थाले कोषबाट ४८ लाख ५७ हजार ५३१ र बिरामी बचाउ अभियानमार्फत दाताबाट संकलन गरेर २ करोड ५ लाख ६१ हजार ५३३ सहयोग गरेको छ।  

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था कोषमार्फत सामान्य र जटिल समस्या भएका बिरामीको उपचारमा आर्थिक सहयोगसँगै अन्य ब्यवस्थापनमा समेत सघाउने गरेको संस्थाका निर्वतमान अध्यक्ष राजेश शाक्यले बताए। उनले आर्थिक उपचारबाट समस्यामा परेकालाई उपचार, मानवीय सेवामा आवश्यकता अनुसार विभिन्न सहयोग गरेको उनले बताए। हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति) को उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको १३ लाख ७८ हजारबाट सुरु भएको कोषमा यसअघि स्वदेश तथा विदेशबाट संकलन भएको आर्थिकबाट मुटु, मिर्गाैला, क्यान्सर लगायत जटिल रोगबाट थलिएका बिरामीलाई प्राथमिकता दिइएको छ। बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो।  

त्यस वखत शान्ति बचाउ अभियानमा संकलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्यसहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। कोषमा तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेर ६ वटा संस्था र यसअघि दुई लाख रुपैयाँभन्दा बढी सहयोग गरेर १८ जनाले संरक्षक सदस्यता लिइसकेको कोषमा पाँच हजार ५ सय तिरेर आजीवन सदस्यता लिन सकिन्छ । जन्मदिन, विवाह, व्रतबन्धजस्ता अवसरमा विभिन्न व्यक्तिले फजुल खर्च कटाएर कोषलाई सहयोग गर्ने गरिएको कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले बताए।  

उपचारका लागि स्थानीय तह तथा सरकारी निकायको सिफारिसका साथै चिकित्सकले दिएको विवरणको आधारमा विरामीलाई सहयोग गर्ने गरिएको कोषले जनाएको छ। देश विदेशमा रहेका म्याग्देलीको अगुवाइमा सङ्कलन हुने रकम सम्बन्धित अस्पतालले उपलब्ध गराउने बिलको आधारमा भुक्तानी गरिने कार्यालय सचिव रोकाको भनाई छ।  प्रत्येक बिरामीको सहयोग सङ्कलन अभियानका लागि छुट्टाछुट्टै बैंक खाता खोलिने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। हालैसम्पन्न भएको म्याग्दीको परोपराकी संस्थाको रुपमा चिनिएको कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  

प्रकाशित: ८ पुस २०७९ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App