२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

जापानी नागरिकदेखि सरकारका पूर्व उपसचिवसम्म पक्राउ

भूकम्पपीडितलाई जापान पठाइदिने भनेर ठगी गर्ने बज्र गुरुङ

काठमाडौं— भूकम्प पीडितका नाममा विदेश जाने कोटा आएको छ भन्दै ठगी गर्ने ठगको संख्या बढेको छ। प्रहरीले असारमा मात्र एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले आईतबार काठमाडौं टोखाका देवजङ पण्डितलाई भूकम्प पीडितको कोटामा क्यानडा पठाउने भन्दै २२ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको छ। पण्डितले बुढानिलकण्ठका मच्छे श्रेष्ठलाई क्यानडा पठाउने भन्दै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेको महाशाखाले जनाएको छ। बानेश्वरबाट पक्राउ परेका पण्डितबाट ठगिने अन्य समेत हुनसक्ने महाशाखाको शंका छ।

महाशाखाले असार १२ गते नेपाल सरकारका पूर्व उपसचिव तथा जिल्ला शिक्षा अधिकारी सिन्भुपाल्चोकमा पुण्यप्रसाद दंगाललाई भूकम्पपीडित कोटामै विदेश पठाउने भन्दै २४ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

अमेरिकामा चारवर्ष बिताएर आएका दंगालले भूकम्पपीडित कोटामा  जापान, क्यानाडा, अमेरिका लगायतका देशहरुमा  पठाइदिन भन्दै  आठजना युवायुवतीबाट २४ लाख ३० हजार असुली गरेका थिए। उनले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट  ५ लाख, सगुन मानान्धरबाट २ लाख, छिरिङ तामाङबाट १ लाख, राम बहादुर तामाङबाट  १ लाख, खुदनाथ घोडासैनिबाट  ४ लाख ४० हजार, विकाश तामाङबाट ३ लाख र सितामाया तामाङबाट  ३ लाख ४५ हजार उठाएको खुलेको छ।

महाशाखाका अनुसार  दंगालले जोतिषी सिद्धान्तमा पिएचडी, संस्कृत र फलितमा आचार्य पास तथा एमएस्सी गरेका छन्। उनी कास्की र  रुपन्देही जिल्लामा पूर्व जिल्ला शिक्षा अधिकारी समेत थिए। द्वन्द्वकालमा विस्तापित भई अमेरिकामा ४ बर्ष बसी अमेरिका,जापान,क्यानाडामा सम्पर्क स्थापीत गर्न सफल भएपछि दंगाल नेपाल फर्केर विदेश पठाउने धन्दामा लागेको अनुसन्धानमा खुलेको छ।

यस्तै असार ३ गते महाशाखाको टोलीले जापानिज नागरिक हिरोसी मोरिकावा र बज्र गुरुङलाई भूकम्प पीडितका नाममा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरी कारवाही अघि बढाएको थियो। नेपालमा डि इम्मानुल कन्स्लटेन्सी नामक संस्थामार्फत दोलखामा विविध तालिम दिन सरकारी अनुमति लिएका मोरिकावाले जापान पठाउने भन्दै १२ जनाबाट ११ लाख ३० हजार ठगी गरेका थिए।

मोरिकावालाई जिल्ला प्रशासन कार्यालय दोलखा र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले समेत तालिम संचालनका लागि अनुमति दिएपछि उनले यसैलाई अश्त्र बनाएर भुकम्प पीडितलाई विदेशको सपना देखाएर ठगी गरेको अनुसन्धानमा खुलेको हो।

महाशाखाका एसपी प्रकाशजंग कार्कीले पछिल्लो समय भुकम्प जल्दोबल्दो बिषय भएको र यसबाट पीडित चाडै प्रलोभनमा फस्ने भएकाले ठगहरुले अश्त्रका रुपमा प्रयोग गरेको बताए। उनले ठगहरुले पीडितलाई प्रलोभनमा पार्न विभिन्न ब्यक्ति र संस्थाका नाम र ब्यक्तिलाई समेत प्रयोग गरेको अनुसन्धानमा देखिएको बताए। उनले भने ‘ठगका अनेक उपाय हुन्छन, पछिल्ला घटनामा भुकम्प पीडित कोटा नयाँ अश्त्र बनेको देखियो, सर्वसाधारण सचेत हुन जरुरी छ।’

 

प्रकाशित: १९ असार २०७३ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App