८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

शोभराजले पाए कैद छुट पुर्जी

भक्तपुर र काठमाडौं जिल्ला अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजका लागि बिहीबार कैद छुट पुर्जी पठाएका छन्। सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।  

भक्तपुर जिल्ला अदालतले शोभराजलाई २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्ने फैसला गरेको थियो। सर्वोच्चको आदेश बमोजिम जिल्ला अदालतले शोभराजलाई कैद छुट पुर्जी पठाएको हो। यता काठमाडौं जिल्ला अदालतमा शोभराजविरुद्ध जाली राहदानी र ज्यान मार्ने उद्योगसम्बन्धी दुईवटा मुद्दा चलेका थिए। त्यसै विषयमा केन्द्रीय कारागार काठमाडौंले जिल्ला अदालतले काठमाडौंलाई पत्राचार गरेको थियो। काठमाडौं अदालतले भक्तपुर जिल्ला अदालतले पठाएको पत्रानुसार जवाफ पठाएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। ‘कारागारले काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएको थियो। त्यसको जवाफ पठाइएको छ। भक्तपुर जिल्ला अदालतले नै भने बमोजिम पठाइएको छ,’ सूचना अधिकारी दाहालले भने।  

भारतीय नागरिक मनमित भाटियाले जाली नोट कारोबारी युनिस अन्सारीमाथि गोली प्रहार गरेपछि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जोडिएका थिए। भाटिया शोभराजलाई कानुनी सहायता दिने निहुँमा केन्द्रीय कारागारभित्रै पुगेर गोली हानेका थिए। उनलाई भेट्न गएका व्यक्तिले नै कारागारभित्रै गोली हानेपछि ज्यान मार्ने उद्योगमा मतियार मानिएका शोभराजलाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। मुद्दामा ५ वर्ष जेल सजायको फैसला भएको थियो।  

भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले अदालतबाट बिहीबार नै कारागारमा पत्र पठाइएको बताए। ‘सर्वोच्च अदालतको आदेश बमोजिम शोभराजको मुद्दामा आजै (बिहीबार) नै इमेलबाट र प्रिन्ट गरी कैद छुट पुर्जी पठाएका छौं,’ उनले भने, ‘१९ वर्ष कैद भुक्तान गरिसकेको देखियो। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणमा आदेश भएकाले पत्र पठाएका हौं।’

शोभराजका अधिवक्ता गोपाल शिवाकोटी कैद छुट पुर्जीका लागि भक्तपुर जिल्ला अदालत पुगेका थिए। भक्तपुर जिल्ला अदालतमा एकजना क्यानेडियन नागरिकलाई मारेको कर्तव्य ज्यान मुद्दामा मात्रै कैद छुट पुर्जी पठाएको हो। ‘भक्तपुरमा एउटा मात्रै कर्तव्य ज्यानसम्बन्धी मुद्दा ठहर भएको थियो। काठमाडौं जिल्ला अदालतमा भएको मुद्दामा हामी बोल्न मिल्दैन,’ स्रेस्तेदार पुलामी मगरले भने। तर, भक्तपुर अदालतले काठमाडौं जिल्ला अदालतलाई पनि कैद छुट पुर्जी पठाएको बारेमा जानकारी गराइएको उनले बताए।  

सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराज मुटुको बिरामी रहेका र कैदीको चालचलनमा सुधार आएको भन्दै कैद मिनाहा गरी आफ्नै देश पठाउन बुधबार आदेश गरेका हुन्। सर्वोच्चको आदेशसँगै शोभराजले ८ महिना कैद मिनाहा पाएका हुन्। शोभराजले आफूले २० वर्ष सजाय तोकिएको मध्ये १५ वर्ष भुक्तान गरिसकेको दाबी गर्दै २०७५ सालमै रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। हाल ७८ वर्षका शोभराज वृद्ध भएको र असल चालचलनमा रहेको साथै ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद छोट्याउन सकिने सर्वोच्चको ठहर छ। मुटुरोगबाट पीडित उनलाई सर्वोच्चले यसअघि दुईपटकसम्म कैद भुक्तानमा छुट दिन आदेश गरेको थियो। 

प्रकाशित: ८ पुस २०७९ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App