१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिरिन्जबाट लागुऔषध लिने बढे

काठमाडौं- माघ २१ गते ललितपुर, पुल्चोक क्षेत्रबाट पक्राउ परेका कीर्तन लामा र सरोज प्रहरीसमक्ष लर्बराइरहेका देखिन्थे। बोली स्वाभाविक थिएन, हातखुट्टा लुगलुग काम्दै थिए। वास्तवमा प्रहरीसँगको डरभन्दा पनि लागुऔषध सेवन गर्ने बानीले उनीहरूको यो हबिगत थियो। हातखुट्टामा बारम्बार सुई घोचिएका निसान प्रस्ट थिए।

लागुऔषध प्रयोगकर्ता र कारोबारी उनीहरूले डाइजापाम, नुफिन, लोकोजेसिक, एभिल फेनारगन, नाईट्राजेपाम ट्याब्लेटजस्ता औषधिजन्य लागुऔषध मिसाएर दैनिक चार मिलिलिटरसम्म प्रयोग गर्दै आएको खुलेको छ।

काठमाडौंका विभिन्न प्रहरी युनिटले वार्षिक एक लाख हाराहारी लागुऔषधका एम्पुल बरामद गर्छन्। काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रे र सिन्धुपाल्चोकसम्म खपत हुने उक्त परिमाणले उपत्यकामा सुईबाट लिइने लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको देखाउँछ। लागुऔषध नियन्त्रण ब्युरोले वैशाखसम्म मात्र ४७ हजार थान लागुऔषध एम्पुल बरामद गरेको छ। अन्य युनिटले समेत उल्लेख्य संख्यामा बरामद गर्दै आएका छन्।

धुलोको तुलनामा सस्तो हुने भएकाले सुईबाट लिने प्रयोगकर्ता बढेको एक दुर्व्यसनीले नाम नलेख्ने सर्तमा भने। उनका अनुसार प्रहरीले थाह पाउने डरले उनीहरू आफ्ना साथीमाझ र बिक्रेताका लागि फरक भाषा प्रयोग गर्छन्। उनले प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, सामान र माखा, एम्पुललाई पानी र ग्लुकोज र विक्रेतालाई डिलर, घैंटे, साहू र साथीजस्ता शब्द प्रयोग गर्छन्। 'धुलो पाइँदैन अनि पानी नै हो काम चलाउने, धेरै छ,' ती प्रयोगकर्ताले भने।

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा कडा प्रकारको लागुऔषध प्रयोग गर्नेको संख्या ३६ हजार ९ सय ९८ छ। तीमध्ये ३ हजार ४ सय ८५ जना महिला छन्। गृह मन्त्रालयको लागुऔषध नियन्त्रण कार्यालयले २०६९ मा सार्वजनिक गरेको उक्त तथ्यांकले देशभर ९१ हजार लागुऔषध प्रयोगकर्ता रहेको देखाउँछ। उपत्यकामा २०६३ मा १७ हजार ४ सय ५६ प्रयोगकर्ता थिए। त्यस बेला देशभरको तथ्यांक भने ४६ हजार ३ सय ९ जना थियो।

ब्युरोका एसएसपी गणेश केसी बरामद परिमाणका आधारमा हेरोइन र एम्पुलका प्रयोगकर्ता राजधानीमा अत्यधिक रहेको बताउँछन्। खैरो हेरोइनका नियमित प्रयोगकर्ताले प्रतिस्थापन लागुऔषधका रूपमा एम्पुल प्रयोग गर्ने गरेको उनको भनाइ छ। 'आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर होला सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ,' थापाले भने, 'वास्तविक तथ्यांक अझै बढी हुन सक्छ।'

गृह मन्त्रालयका अनुसार नेपालमा १७ देखि ४५ वर्षसम्म र अपवादका रूपमा ६५ वर्षसम्मका नियमित लागुऔषध प्रयोगकर्ता छन्। गृहको सर्वेक्षणमा अधिकांशले पहिलोपटक १७ वर्षमा लागुऔषध सेवन गरेको उल्लेख छ। तिनमा निरक्षर एकल जीवनमा रहेका ६५ प्रतिशत, भर्खरै विवाह गरेका २९ प्रतिशत, एकल शून्य दशमलव ४ र छोडपत्र गरेका ५ दशमलव ४ प्रतिशत छन्। शैक्षिक हिसाबले अशिक्षितभन्दा कामकाजी व्यक्ति लागुऔषध प्रयोगकर्ता बढी छन्। ६ देखि १० कक्षासम्म पढेका व्यक्ति कुलतमा फसेका पाइन्छन्।

प्रकाशित: १२ असार २०७३ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App