रौतहट-टाटा सुमोको ठक्करबाट पूरा परिवार नै घाइते भई श्रीमती समेत गुमाएका घाइते पत्रकारलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ। दुई हप्ताअघि निजगढबाट मोटरसाइकलमा चन्द्रपुरस्थित घरतिर आइरहेका नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष एवं रासस प्रतिनिधि नरहरी आचार्यलाई सुमोले ठक्कर दिएको थियो। शाखाले उनलाई २५ हजार नगद सहयोग गरेको हो।
गत जेठ ३० गते बाराको निजगढ स्थित ससुराली घरबाट फर्किने क्रममा पत्रकार आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रशंसा आचार्य चढेको ना २७ प ६३१२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना १ ज ३७४८ नम्बरको शिखरापुर टाटा सुमोले ठक्कर दिएपछि तीनै जना घाईते थिए।
घाइते अबस्थामा तिनै जनाको हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचार हुदै आएकोमा बुधबार पत्रकार आचार्यको श्रीमती प्रमिला भण्डारीको निधन भएको छ। पत्रकार आचार्यको छोरी प्रशंसा आचार्यको थप उपचारको लागि बिहीबार काठमाण्डौ स्थित नर्भिक अपताल भर्ना गरिएको छ। उनी चढेको मोटरसाइकल ठक्कर दिने टाटा सुमोका चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन्।
प्रकाशित: १० असार २०७३ १३:४५ शुक्रबार