४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कटारीको सार्वजनिक सुनुवाइ पर्यटकीयस्थल बेतिनीमा

कटारीको पर्यटकीयस्ल बेतिनीमा आयोजित सार्वजनिकसुनुवाई कार्यक्रमका सहभागी। तस्विरः महेश्वर

कटारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिकको खर्च विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले बिहीबार एक ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम आयोजना गरी गएको साउनदेखि कात्तिक मसान्तसम्म भए गरेका कामका गतिविधि र आमदानी तथा खर्च विवरणको जानकारी गराएको हो।  

नगरपालिकाको पर्यटकीयस्तल वडा नं. ११ बेतिनीस्थित सम्पर्क कार्यालय परिसरमा आयोजित सार्वजनिक नागरिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा स्थानीय बुद्धिजीवी, नागरिक समाज र सरोकारवालाहरूको सर्वपक्षीय सहभागिता थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल किराँती र विषयगत शाखा प्रमुखहरूले ४ महिनाको अवधिमा भए गरेका काम र खर्च विवरण प्रस्तुत गरेका थिए। जस अनुसार आर्थिक, सामाजिक, भौतिक तथा पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित र संस्थागत तथा प्रशासनिक खर्च गरी समग्रमा १८.६२ प्रतिशत रकम खर्च भएको छ।

जसमा सबभन्दा बढी प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च २४.९ प्रतिशत भएको छ भने दोस्रो खर्चको आकार सामाजिक विकासतर्फ २२.०८ भएको छ।  सुशासन तथा अन्तरसम्बन्धिततर्फ ११.९६ र भौतिक पूर्वाधार विकासमा ७.१७ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइयो।  

कटारी नगरपालिकाले चालु आर्थिक वर्ष ८० करोड ४२ लाख १५ हजार ५ सय ९२ रुपैँया कुल बजेट स्वीकृत गरेको छ। जसमध्ये सबभन्दा बढी सामाजिक विकासतर्फ ४४ करोड १५ लाख ६५ हजार ६ सय २५ रुपैँया विनियोजन गरिएको छ। बिनियोजितमध्ध्ये प्रथम चौमासिकमा सामाजिक विकासतर्फ ९ करोड ७५ लाख ३ हजार २ सय ९३ रुपैँया खर्च भएको छ।

दोस्रो ठुलो आकारको बजेट छुटिएको कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ करोड ९७ लाख ८७ हजार ९ सय ६७ रुपैयाँमध्ये ३ करोड ७२ लाख ९१ हजार ८१ रुपैँया ३ पैसा खर्च भएको प्रस्तुत विवरणमा उल्लेख छ। उता १२ करोड ८३ लाख ५४ हजार विनियोजन भएको भौतिक पूर्वाधार विकासतर्फ ९३ लाख १ हजार ३२ रुपैँया खर्च भएको छ। त्यसैगरी आर्थिक विकासतर्फ छुटिएको ५ करोड २८ लाख ७८ हजारमध्ये २७ लाख ४३ हजार ३ सय ८३ रुपैँया अर्थात् ४।७१ प्रतिशत खर्च भएको छ।  

सबभन्दा कम आकारको बजेट २ करोड ६२ लाख ३० हजार विनियोजन भएको सुशासन तथा अन्तरसम्बन्धित शीर्षकतर्फ पहिलो चौमासिकमा ३१ लाख ३७ हजार १ सय ३६ रुपैँया अर्थात् ११।९६ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइएको छ। यसरी प्रथम चौमासिकमा कटारी नगरपालिकाले कुल १४ करोड ९८ लाख ७५ हजार ९ सय २४ रुपैँया ७० पैसा खर्च गरेको जनाएको छ।  

प्रमुख प्रशासकीय अधिकृत किरातीले नगर विकासका लागि आम नगर बासीको राय सुझाव संकलन गर्न र जनचाहना अनुरूप नगरको सम्पूर्ण गतिविधि पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताए। यो कार्यक्रममार्फत आएका राय सुझावलाई मनन गर्दै आगामी दिनमा नगरपालिकालाई चलायमान बनाउने तथा विकास निर्माणका कार्यमा तीव्रता दिने लक्ष्य नगरपालिकाले लिएको उनले बताए।  

नगरपालिकाको सेवा प्रवाहमा चित्त नबुझेको भए नगरबासी उपभोक्ता, नागरिक समाज र सरोकारवालाले औंल्याउन उनको आग्रह थियो। सार्वजनिक सुनुवाइमा प्राप्त आवश्यक सुझाव र राय अनुसार आगामी दिनमा सेवा प्रवाहमा सुधार ल्याउने उनले बताए। काम गर्ने सिलसिलामा कर्मचारी र जनप्रतिनिधिबाट कुनै कमीकमजोरी भए औंल्याई दिन आग्रह गर्दै उनले त्यसले आगामी दिनमा सुधार गर्दै अघि बढ्न सहज हुने बताए।

नागरिक सुनुवाइ कार्यक्रममा बिभिन्न व्यक्तिहरुले नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र प्रमुख प्रशासकीय अधिकृत किराँतीको प्रश्नोत्तर चलेको थियो। अन्तरक्रियात्मक कार्यक्रममा सम्बन्धित प्रश्नको उत्तर मेयर श्रेष्ठ, उपमेयर खड्का, प्रमुख प्रशासकीय अधिकृत किराँती र सम्बन्धित शाखाका कर्मचारीले दिएका थिए।  

सो क्रममा मेयर श्रेष्ठले नगरपालिकाले काम गर्दागर्दै जनअपेक्षा अनुरूप हुन सक्यो सकेन भन्ने बुझ्दै जनअपेक्षा अनुरूप नभएको भए के गर्दा राम्रो गर्न सकिन्छ भन्ने वुझन नागरिक सुनुवाइ कार्यक्रम महत्त्वपूर्ण हुने बताए। काम गर्दै जाँदा कोही कर्मचारी, जनप्रतिनिधिले घुस वा कमिसन मागे पर्दाफास गर्न पनि उनले आग्रह गरे। मेयर श्रेष्ठले यदि कसैले गलत काम गरेको पाइए दन्डित गर्ने प्रतिबद्धता पनि जनाए।  

उपमेयर खड्काले नगर बासीको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले नगरका बिभिन्न वडा र ग्रामीण बस्तीमा कच्ची सडक खनिएको भए पनि नाला नहुँदा समस्या भएको भन्दै त्यसतर्फ ध्यान दिँदै अघि बढ्ने प्रतिबद्धता जनाइन्। उनले दिगो विकासमा लागी पर्न सबै जनप्रतिनिधि, कर्मचारी र नगरबासी एक भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।  

प्रकाशित: १ पुस २०७९ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App