१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

झापामा रासायनिक मल अभावको समस्या गम्भीर बन्दै

झापामा रासायनिक मलको अभाव हुँदा कृषकले सास्ती भोग्नुपरेको छ। मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मलकाे अभाव हुँदा कृषकहरूलाई सास्ती भएको हो।

खेतीपाती गर्ने हरेक समय मल अभाव झेल्नुपर्ने झापा बुद्ध शान्ति–३ कञ्चनवारिका फडिन्द्र ढुङ्गानाले बताए। उनी बाली लाउने बेला मल नपाएपछि उत्पादन घट्ने डरले भारतबाट न्यून गुणस्तरीय मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन्।

ढुङ्गाना भन्छन्, 'यहाँका स्थानीय संस्थालाई जिम्मा दिएको छ भनेर सरकार पन्छिन खोज्छ, बजारमा मल छैन साइकल लिएर पारि पानी ट्याङ्की (भारत) गएर एक बोरा गुणस्तरहीन भएपनि मल ल्याउनुपर्ने बाध्यता छ।'

सरकारले साल्ट ट्रेडिङ र नेपाल कृषि सामग्री कम्पनी मार्फत सहकारीलाई मल प्रदान गर्दै आएका छन्। ती सहकारीहरूले आफ्ना सदस्य र नजिकका व्यक्तिलाई मात्रै मल बिक्री गर्ने गरेको आरोप लाग्दै आएको छ।

यता नेपाल कृषि सामाग्री कम्पनी बिर्तामोडका कायम मुकाकायम प्रमुख नारायण टुडु भने बजारमा मल अभाव नभएको बताउँछन्। उनका अनुसार मल पर्याप्त मात्रामा आएको तर स्थानीय एजेन्टले मल समयमा नउठाउँदा खेतबारीमा मल अभाव भएको हो।

उनी भन्छन्, 'प्रदेश सरकार मार्फत आएको मल हामीले जिल्लाका सबै पालिकाहरूलाई समानुपातिक वितरण गरेका छौं, तर पालिका अन्तर्गतका सहकारीले समयमा मल नउठाउँदा कृषकलाई समस्या देखिएको छ।'

उता मल वितरणको जिम्मा पाएका सहकारी भने आवश्यकता भन्दा कम मल आएकाले समस्या भएको बताउँछन्। झापा बुद्ध शान्ति गाउँपालिकाको तिन वटा वडाको मल वितरणको जिम्मा पाएको हिमशिखर साना किसान कृषि सहकारीका प्रबन्धक नारायण पौडेल समानुपातिक वितरणका नाममा आवश्यकता पूर्ति गर्ने गरी मल नआएको गुनासो गर्छन्। उनका अनुसार पालिकाबाट प्राप्त मल कृषकको माग अनुरूप छैन।

'आवश्यकता परेको बेला युरिया छैन,ल्याएको सबै मल बजारमा खपत भइसक्यो कतै मल उब्रेको छ हामीलाई पुगिरहेको छैन आवश्यकता नहुँदा पनि लामो समयसम्म भण्डारण गरेर हामी कृषकलाई मल दिनुपर्ने बाध्यतामा छौं',उनले भने।

मल वितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ र कृषि सामाग्री केन्द्र लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेको भने पनि कृषकका खेतबारी सम्म मल नपुग्दा कृषकले सास्ती भोग्नुपरेको छ। चरनयोग्य जमिन र घाँस अभावले पशुपालनमा कमी आउँदा कृषकहरू रासायनिक मलमा निर्भर हुनुपरेको सुबेदी कृषि फर्म भद्रपुर एकका अर्जुन सुबेदीको बुझाई छ। गाई, ब्राखा, र राँगा गरी झन्डै एक सय चौपाया पाल्दै आएका सुबेदी रासायनिक मल नपाउँदा केही समस्या भएपनि प्राङ्गारिक मलले काम चलाउँदै आएको बताउँछन्।

मल अभावले गर्दा अधिकांश सीमावर्ती गाउँहरूमा भारतबाट कम गुणस्तरकै भएपनि मल ल्याएर प्रयोग गर्न बाध्य छन् भने जिल्लाका अन्य क्षेत्रमा मल अभावको समस्या गम्भीर बन्दै गएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App