१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘वयस्क व्यवहार सिकाउन बेलविबाह’

नेवार समुदायमा कन्या कुमारी पहिलो महिनावारी नहुँदै बेल विवाह गर्नुपर्छ। यस कारण साधरणतय पाँचदेखि नौ वर्षकोवीचमै बेल विवाह गरिन्छ। यही अनुसार भक्तपुरको याछेंमा मंगलबार ५९ बालिकाहरूको सामूहिक बेलबिबाह कार्य सुरु भएको छ। परम्परा अनुसार विवाह कार्य बुधबार सम्पन्न हुनेछ।

बेल विवाहको पहिलो दिन दुस्वः (भित्रिने) हुने गर्दछ। ‘यो दिन के हुन्छ भनेर सारमा भन्नुपर्दा अव तिमी बालिका रहनौं। ठुली भइसक्यौँ। त्यस कारण तिमीले अव ठुलो उमेरमा यस्तो यस्तो काम व्यवहार गर्नुपर्छ भन्ने सिकाउनु नै पहिलो दिन दुस्व हो, आयोजक समाज सेवा समिति याछें ६ भक्तपुरका सचिव राजाराम नापितले भने।

उनका अनुसार पहिलो दिन बेल विवाहमा सहभागी सम्पूर्ण बालिकाहरूलाई वयस्क भएपछि गर्नुपर्ने काम व्यवहारबारे जानकारी गराइन्छ। यसबाहेक पनि दिनभरि अन्य विविध कार्यहरू पनि गरिन्छ।

बेल विवाहको दोश्रो अर्थात् अन्तिम दिन भने पिस्वः (बाहिरिने) हुन्छ। यो दिन बेल विवाहमा सहभागी कन्याहरूबिच मित लगाउने प्रचलन छ। विवाहमा सहभागी भएकाहरूमध्ये दुई कन्याबिच मित लगाउने गरिन्छ। मित लगाएपछि उनीहरूबिच जीवनभर सम्बन्ध रहन्छ। विवाह, व्रतबन्धलगायतका सबै कर्महरूमा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रण गराई भोज खुवाउनुपर्ने चलन छ। यसरी उनीहरुलाई समाज बुझाउन सिकाउने गरिन्छ।

इतिहास एवं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायस्थ वेलसँंग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि बिधुवा नहुने विश्लेषण गर्छन्। भविष्यमा पतिको मृत्यु भए पनि बेलसँग विवाह भएकाले उनी विधवा नहुने उनको कथन छ।

नेवार समुदायमा महिलाहरूको तीन पटक विवाह हुने मान्यता छ। पहिलो महिनावारी हुनु अगावै बेलसँग हुने बेल विवाह, दोश्रो सूर्यसँग विवाह र अन्तिममा उमेर पुगेपछि पुरुषसँग विवाह हुने मान्यता छ। नेवार समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्त्वपूर्ण कर्म मानिन्छ। बेल विवाह कर्ममा बालिकाहरू परिवारसहित विशेष पोसाकमा सजिसजाउ गरी सहभागी भएका हुन्छन्।

नेवार समुदायमा बेलकर्मको ज्यादै महत्त्व छ। जोशी, आचार्य, शर्मालगायतबाट साइट देखाएर जुराएपछि वेलविवाहको मिति निश्चित गरी विवाह कार्य सम्पन्न गर्ने चलन छ। यो क्रममा बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गर्ने गरिन्छ। कन्यादान कार्यमा प्रत्येक वालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौँको सहभागिता रहने गर्दछ।

प्रकाशित: २७ मंसिर २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App