१६ चैत्र २०८० शुक्रबार
समाज

खप्तडको काखमा विशाल ढुंगाको मूर्ति

नैनीमा निर्माणाधिन ढुंगाको मूर्ति। तस्विर: योगेश रावल

साँफेबगर नगरपालिका–१२ का ७८ वर्षीय अर्जुनबहादुर राना खप्तडको काखमा विशाल ढुंगा काटेर शिवपार्वतीको मूर्ति बनाउने अभियानमा छन्। उनले २०७७ सालदेखी १४० मिटर गोलो र ४२ फिट अग्लो ढुंगालाई काटेर मूर्ति बनाउन थालेका हुन्।

उनी भारत लगायतका ठाउँबाट कारिगर बोलाएर अभियानलाई सार्थकता दिने क्रममा छन्। ढुंगाको माथिल्लो भागमा भगवान शिवको आकृति तयार भैसकेको छ। उनले ढुंगाको जमिनसँग जोडिएको १० फिट बाहेक माथिल्लो भागलाई काटेर मूर्ति बनाइने बताए।

उनले ढुंगा काट्ने क्रममा दैनिक १ लाखको हाराहारीमा खर्च हुने बताए। ‘कारिगरलाई तिर्नुपर्ने ज्याला र औजारमा लाग्ने रकम धेरै खर्च भएको छ’ उनले भने–‘एकदिनको एक लाख जति खर्च हुन्छ।’

यो भूस्वर्गका नामले चिनिने खप्तड नजिकैको ठाउँ हो। यो ठाउँ भौगोलिक रुपमा अछामको साँफेबगर नगरपालिका वडा नं. १२ मा पर्छ। यो ठाउँको नाम नैनी हो। नयनीबाट अपभ्रंस हुँदै यो ठाउँको नाम नैनी हुन गएको बताइन्छ। किम्वदन्ती अनुसार भगवान शिवले पार्वतीको शव बोकेर हिँडेको बेला यहाँ नयन खसेको थियो।

यो ठाउँ धार्मिक रुपमा पनि निकै पवित्र छ। यहाँ थुप्रै ठूल्ठूला ढुंगाहरु छन्। रानाका अनुसार ती ढुंगा ऋषीमूनि हुन्। भगवान शिवले पिछा गर्दै आएका ऋषीमूनिहरुलाई श्राप दिएपछि ढुंगा भएका हुन्।  

तिनै मध्येको एक विशाल ढुंगालाई रानाले शिवपार्वतीको मूर्ति बनाउने अभियान थालेका हुन्। उनले अभियान अन्र्तगत नैनीलाई धार्मिक पर्यटकीय स्थल बनाइने बताए। उनले नैनीमा थुप्रै मठमन्दिर र तालतलैया समेत निर्माण गरेका छन्। उनले अहिलेसम्म नैनीको विकासमा १ करोड ७५ लाख रुपैयाँ खर्च भैसकेको जानकारी दिए। उनका अनुसार त्यो मध्ये ४० लाख रुपैयाँ सरकारी स्तरबाट सहयोग भएको छ।

उनले बाँकी १ करोड ३५ लाख रुपैयाँ आफंै खर्च गरेको बताए। उनले नैनीको विकासमा खर्च गर्दा आफूले धेरै सम्पत्ति बेचेको सुनाए। ‘धनगढी मेनरोडको घडेरी बेचेको छुँ’ उनले भने–‘अभियान पूरा नभएसम्म सबै सम्पत्ति बेच्न परे पनि बेच्छु।’

उनले आफ्नै पौरखले जीवनमा धेरै सम्पत्ति जोडेको बताए। उनले त्यो सम्पत्ति भन्दा नैनीको अभियान सार्थक हुनु आफ्ना लागि ठूलो सम्पत्ति रहेको सुनाए।

  

उनी खप्तड बाबाका अनुयायी हुन्। उनले नैनीमा खप्तड बाबाको शालिक निर्माण गरेका छन्। उनले १२ वर्षको उमेरमा खप्तड बाबालाई भेटेका थिए। त्यसपछि उनले धेरै पटक खप्तड बाबालाई नजिकबाट जान्ने र बुझ्ने मौका पाएको बताए। उनका अनुसार खप्तड बाबाले एक दिन जीवनमा केही कमाएर जानु भनेर अर्ती दिएका थिए।

उनलाई खप्तड बाबाको अर्तीले सोच्न वाध्य बनायो। उनी के कुरा कमाएर जाने भन्नेमा सोच्न थाले। उनले २०३८ सालमा विशाल ढुंगाको मूर्ति बनाउने कुरा मनमा आएको सुनाए। उनले ढुंगाको मूर्ति बनायो भने त्यो कहिल्यै नष्ट नहुने सोच मनमा आएको बताए। ‘यो विशाल ढुंगाको मूर्ति पृथ्वी रहेसम्म रहनेछ’ उनले भने–‘त्यतिञ्जेल सम्म म बाँचिरहने छुँ।’

विशाल ढुंगाको मूर्ति संसारमै अनौठो हुनेछ। यो कुरा धेरैका लागि अध्ययन र अनुसन्धानको विषय पनि बन्नेछ। ‘यो मेरो कमाई हुनेछ’ उनले भने–‘यो मूर्ति रहेसम्म मलाई सबैले सम्झिने छन्।’

उनी २०६३ सालमा नैनीको संरक्षणमा जुटे। उनी विगत १७ वर्षदेखी नैनीमा एक्लै बस्दै आएका छन्।

मूर्ति निर्माणको काम विगत तीन महिनादेखी रोकिएको छ। उनले रकम अभावका कारण काम रोकिएको बताए। उनले कसैले सहयोग गर्छ कि भनेर पर्खेको बताए। ‘केही समय कोही सहयोग गर्छ कि भनेर पर्खेको छुँ’ उनले भने–‘कसैले सहयोग नगरे साँफेको घर बेच्छु र काम अघि बढाउँछु।’

नैनीमा अहिले बाटो र विद्युत पुगेको छ। तर रानाले अभियान सुरु गर्दा न बाटो थियो न विद्युत नै पुगेको थियो। उनले भरिया मार्फत सामान बोकाए। ढुंगा काट्दा प्रयोग हुने औजारका लागि जेनेटर चलाए। अहिले त्यहाँ बनेका संरचना हेर्दा निकै रमाईलो लाग्छ तर विकट नैनीलाई सुन्दर फूल झैं सिगार्न रानाले गरेको संघर्ष निकै पीडादायी छ। तर उनले कहिल्यै हरेस नखाएको बताए।  

उनी अहिले पनि सबै काम आफै गर्छन। नैनी क्षेत्रमा फलफूल खेती र पशुपालन गरेका छन। उनले त्यसको आम्दानी समेत नैनीको विकासमा खर्च गरेको सुनाए।  

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले रानाको अभियान निकै ठूलो भएको बताए। उनले विरलै मान्छेले मात्रै साकार पार्न सक्ने अभियान थालेर रानाले यस ठाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याईरहेको बताए। उनले रानाको अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७९ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App