१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रिलायन्स चिनी मिल बिरुद्ध किसानहरू प्रदर्शनमा

फोटोः सुकेको उखुलाई मानवाट– मटिअर्वा सडक खण्डको घाट श्रीपुरमा राखेर प्रदर्शन गर्दै पीडित किसान।

सुक्न थालेको उखुको क्षतिपूर्तिको माग गर्दै आन्दोलित बनेका उखु किसानहरूले तेस्रो दिन सोमबार पनि प्रदर्शन गरेका छन्।

कलैया उप-महानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रणालीसँग सुकेको उखुको क्षतिपूर्ति माग गर्दै चिनी मिल विरुद्ध उनीहरुले आन्दोलन गरेका हुन्। चिनी मिलले रोप्न लगाएको उखु समय नै नपुगी सुक्न थालेपछि  रिलायन्स चिनी मिल विरुद्ध आन्दोलनमा उत्रनु परेको उखु उत्पादन संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाले बताए।

बारामा चिनी मिलले किसानहरूलाई बिउँ दिएर छ हजार बिघामा उखु बाली लगाउन लगाएको थियो। रोपिएका उखु मध्ये ६० प्रतिशत अहिले सुकीसकेका छन् सुकेको उखुबाट मात्र किसानलाई झन्डै ७२ करोड भन्दा बढी क्षति पुग्ने देखिन्छ। चिनी मिलले रोप्न लगाएको गुणस्तरहीन बिउको कारण आफूहरू समस्यामा परेको उखु किसान रामानन्द यादवले आरोप लगाएका छन्।

चिनी मिलले बर्षै देखि यस क्षेत्रका किसानहरूले लगाउँदै आएको उखुलाई रोप्न नदिएर आफू खुसी भारतबाट ल्याएको विऊ किसानलाई दिएको यादवको भनाई छ। चिनी मिलले  भारतबाट आयात गरेको गुणस्तरहीन  सिओ जी –२३८ जातको उखुको बिउँ किसानलाई रोप्न दिएको यादवले जानकारी दिए। 

आफुले  १८ बिघा मध्ये ३ बिघामा लगाएको उखु मात्र राम्रो भएको उनको भनाइ छ। किसानले प्रयोग गरेको विऊ , मलखादबाट चिनी मिलले रकम असुल्ने गरेको छ। विषादी र मल प्रयोग गरेपनि उखु सुक्न नछोडेको किसानको भनाई छ। बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले  बाटो अवरुद्ध गरेर प्रदर्शन नगर्न किसानलाई आग्रह गरेका छन्। 

सुकेको उखुको क्षतिपुत्तिको लागि चिनी मिल सञ्चालक र पीडित किसान बिच एक आपसमा छलफल गरेर अगाडी बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको सुझाव रहेको छ। रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीले बारा र पर्साका नौ हजार किसानसँग उखु खरिद गर्ने सम्झौता सहित उखु बाली रोप्न लगाएको किसानहरूले जानकारी दिएका छन्।

प्रकाशित: २६ मंसिर २०७९ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App