२३ माघ २०७९ सोमबार
समाज

लोप हुँदै पानीघट्ट

जुम्लाका ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ,कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन्। तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको  पातारासी गाउँपालिका १ का बिष्नबहादुर बोहोराले बताए।  

पातारासीमा विभिन्न खोलाको छेउछाउमा ४ सय भन्दा बढीको हाराहारीमा पानीघट्ट रहेको बोहोराले बताए। यीमध्ये अधिकांश घट्ट छ महिना चल्ने र छ महिना बन्द हुन्छन्। वर्षा शुरु हुने बित्तिकै सबै पानीघट्ट सञ्चालनमा आउँछन्, जब हिउँदयाम शुरु हुन्छ तब खोलाको पानी सुक्छ, अनि आधाजति घट्ट बन्द हुन्छन्। चिसोले पुरै बरफ जम्छ। अन्य गाउँपालिकाका पानीघट्ट सञ्चालनमा छन् तर पानीघट्ट प्रयोगविहीन हुँदै आएको उनको भनाइ छ। नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीय बताउँछन्। हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आएका सिंजा गाउँपालिका (४ बारे गाउँका धनबहादुर बुढाले बताए।  

पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेबापत घट्ट धनीलाई ज्याला दिने चलन थियो। यस्तो प्रचलनले धेरै थोरै भए पनि आम्दानीको स्रोत बन्ने भएपछि व्यावसायिकरूपमा नै घट्टलाई लिने गर्दथे। मिलमा पिसानी गरेबापत प्रतिपाथी ९८ माना० को ३० देखि ४० सम्म रकम तिर्ने गरेको पाइन्छ। आधुनिक प्रविधिका मिलहरु बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउँछन्, पानीघट्ट सञ्चालक अर्जुन रोकाया। घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्टौँसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरु छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन्। तर पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरु बताउँछन्।  

विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युत्को सुविधा हुँदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हुँदैन भन्न सकिँदैन। त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने देखिन्छ।

के हो पानीघट्ट?

कुलोबाट गर्दै बगेको पानी खोपेर कुलेसोजस्तो बनाइएको ठाडो काठबाट जोडले पानी खनिदा काठको सानो मुढोमा मिलाएर अड्याइएका पोहरा (भुना)मा पर्दा जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुङ्गो फनफनी घुम्न थाल्छ। फनफन घुमिरहेको घट्टमाथि टाङटाङटुङटुङ गर्दै उफ्रिने काठको चराको कलात्मक उफ्राइको बलले काठको कोठामा राखिएको अन्न विस्तारै खस्दै जान्छ। फनफनी घुमिरहेको घट्टको बीच भागमा रहेको मानी (प्वाल) बाट पसेको अन्न पिसिएर घट्टको वरिपरि घेरो लाग्न थाल्दछ। घट्ट घुम्दै गर्दा एक छेउबाट अलि बढी नै पिठो फाल्ने गर्दछ। त्यस ठाउँमा बेलाबेलामा कुचोले बढारिरहनुपर्दछ। यसलाई धार मार्ने पनि भनिन्छ। 

प्रकाशित: २४ मंसिर २०७९ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App