८ वैशाख २०८१ शनिबार
समाज

‘योमरी पुन्हि’ को संरक्षणमा गोरखाका नेवार समुदाय

नेवार समुदायको मुख्य पर्वका रुपमा रहेको योमरी पुन्हि अर्थात धान्य पुर्णिमाका दिन विहिबार गोरखाको सदरमुकाम रानीपोखरीमा विषेश कार्यक्रम आयोजना गरियो। समुदायमा  लोप हुन लागेको योमरी पुन्हिलाई संरक्षण गर्न गोरखाका नेवार समुदाय जुटेका हुन।

घरघरमा मनाउँदै आएको पर्व यस वर्षबाट सामुहिक रुपमा सबै भेला भएर मनाउन सुरु गरिएको नेवा देय दबू गोरखाका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए। योमरी पुन्हि नेवार समुदायको मौलिक एवं प्रचलित खाना योमरी सँग जोडिएको छ। योमरीको शाब्दिक अर्थ मिठो रोटी हो। यो दिनमा योमरी, चटामरी, बारा, छोईला लगायत नेवारी खानाका परिकार बनाएर खुवाउने गरिन्छ। त्यस्तै, योमरीलाई भकारीलगायत अन्नको भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहि आएको छ।  

यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको उनले जानकारी दिए। घरभित्र मात्र सिमित रहेको नेवारी खाजाहरुलाई बाहिरका समुदायलाई परिचित गराउन र स्वाद चखाउनका लागि पहिलो पटक सामुहिक रुपमा प्रथम योमरी पुन्हि २०७९ मनाइएको नेवा देय दवु गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए।  नेवारी खानाको परिकार बनाउने संस्कार लोप हुन लागेकाले यसलाई संरक्षण गर्न सामुहिक रुपमा कार्यक्रम आयोजना गरिएको उनले बताए। उनका अनुसार यो पर्व हरेक वर्ष नेपाल संवतको दोस्रो महिनामा मनाउने गरिन्छ।  

योमरी पुन्हि पर्व घरभित्र मात्र मनाउदा नेवार समुदायमा मात्र सिमित हुने भएकाले सबैलाई यो पर्वको बारेमा जानकारी गराउन समुदाय स्तरमा पर्व मनाइएको पनि नेवा देय दवु गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए। नयाँ धान भित्रएको बेला यो पर्व मनाउने गरेको बताउँदै किसानले खेतवारीमा गरेको दुख विर्साउन चामलको पिठोबाट बनाएको योमरी अर्थात मिठो रोटी खाने परम्परा रहेको उनले बताए।  

रानीपोखरीमा भएको कार्यक्रममा नेवारी भाषाका गीत, बाजागाजा सहितको नाँच प्रस्तुत गर्नुका साथै  पाँच वटा स्टलमा नेवारी खानका परिकार राखिएको थियो। आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने नेवा देय दबुले जनाएको छ।  नेवार समूदायहरुले ज्यापू दिवसको रुपमा यो पर्व मनाउने गर्छन्। यस दिन नेवारी समूदाय चामलको पिठोमा चाकु लगायतका सामाग्रीको झोल मिसाएर योमरी बनाएर खाने गर्छन्।नेवार समुदायमा योमरीको निकै महत्व रहेको पाइन्छ। नेवार समूदायमा बच्चाको दुई र चार वर्षको जन्म दिनमा अनिवार्य रुपमा योमरीको माला लगाइ पुजा गर्ने प्रचलन छ। यस्तै दिदी बिहिनीहरुलाई भेटघाट (नखेट) मा बोलाउदा पनि योमरी बनाएर खुवाउने चलन रहेको छ

प्रकाशित: २२ मंसिर २०७९ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App