१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेनीका २ सय वर्ष पुरानो चौतारी संरक्षण गरिदैं

२ सय वर्ष अगाडी निर्मित बेनी नगरपालिका अगाडीको चौतारीमा राखिएको जिल्लाभरिको पर्यटकीय गन्तव्यको विवरण। तस्बिर: हरिकृष्ण गौतम

बेनी नगरपालिकाको प्रवेशद्वार नजिकै रहेको चौतारीमा जिल्लाको प्रमुख पर्यटकीय स्थलको तस्बिर सहितको विवरण राखिएको छ।

बेनी नगर सहित जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यलाई लस्करै चिटिक्क पारेर सजाएर राखिएको छ। बसपार्क नजिक मालपोत भवन अगाडि रहेको वर र पिपलसहितको उक्त चौतारीको स्वरूप नै परिवर्तन भएको छ।

चौतारीको एक छेउमा तीन वटा मठ निर्माण गरिने छ भने अर्को छेउमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिएको छ। शनिबार पिपलको परिक्रमा, पूजा गर्ने, दियो बाल्ने तथा जल चढाउन आवश्यक पर्ने सम्पूर्ण संरचना बनाइएको छ।

कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेका चौतारीलाई समेत विस्तार गरी पूजाआजा गर्न मिल्ने र नजिकै मलामीको विश्राम स्थल समेत निर्माण गरिएको छ। सदरमुकाम बेनीमा मानव बस्तीको विस्तारसँगै पुराना चौतारी पुनः निर्माण गरी संरक्षण अभियानलाई तीव्र पारिएको हो।

चौतारीको पुनः निर्माण मात्रै नभई आधुनिक तथा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेत समेटेर पुरानो स्वरूपलाई असर नगर्ने गरी नयाँ बनाइएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। ‘चौतारी बनाउने दाताहरूलाई समेत जानकारी गराएर मर्मत गरेका छौ, ‘तत्कालिन समयमा चौतारी बनाउनेहरू पनि निकै खुसी हुनुभएको छ’ अध्यक्ष श्रेष्ठले भने। 

उनले वडाभित्र रहेका बर र पिपलसहितको चौतारी संरक्षणका साथै बेनी– महारानीथान सडक खण्डमा रहेको पुरानो पोखरीलाई समेत मर्मत सुरु गरिएको बताए। 

उनले सबैजसो चौतारी अपाङ्गमैत्री हुने भएकाले ह्वील चियरको माध्यमबाट सिधै चौतारीमा गई विश्राम लिन मिल्ने गरेर निर्माण गरिएको बताए। 

बेनी बजारभित्र रहेका १७ चौतारीको संरक्षण सहित नियमित मर्मतका लागि समेत कोष बनाउने तयारी रहेको नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष श्रेष्ठले बताए।

बजारभित्रका चौतारीलाई विश्राम स्थल बनाउने वडा कार्यालयको अभियानमा स्थानीयवासी र चौतारी र वरपीपल रोपेकाका आफन्तहरूले समेत सहयोग गरेपछि अहिले पुन निर्माणमा सहज भएको छ। चौतारीको संरक्षणसँगै वडा कार्यालयमार्फत निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वर पिपललाई धार्मिक, पौराणिक एवम् वातावरणीय महत्त्वका बारेमा जानकारी दिने गरी भ्रमण समेत गराउने योजना बनाइएको छ।

हिन्दु धर्मावलम्बीले पिपलको वृक्षलाई विष्णु भगवानको प्रतीक मानेर पूजा गर्छन्। वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनीय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शीतलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सिजनको सञ्चार हुन्छ। पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रूपमा प्रयोगमा आउँछ।

प्रकाशित: २० मंसिर २०७९ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App