३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

अनुदानमा दिइने चामल जुम्लीवासीका लागि प्रभावकारी बन्दै

जन्म र मृत्युको बेला दिइने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिँदै आइरहेको छ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका ९ का धनबहादुर बुढा बताउँछन्।

चालु आर्थिक वर्षको अहिलेसम्ममा ३ सय ११ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख निर्मल विष्टले  बताए।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्यु दर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ।

कार्यक्रम अन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई ५ सय दिइएको छ, भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ।

जुम्लाका ८ वटै स्थानीय तहका स्थानीयहरुले सेवा लिइरहेका छन्। सबैभन्दा बढी चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर, पातारासी र तिला गाउँपालिकाका बासिन्दाले उपयोग गर्ने गर्दछन्। भौगोलिक हिसाबले टाढा पर्ने भएको हुँदा सिञ्जा, हिमा, कनकासुन्दरी गाउँपालिकाका बासिन्दाले भने कमै मात्रामा उपयोग गर्ने गर्दछन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जिल्लाका स्थानीय बासिन्दालाई उक्त चामल र ढुवानी रकम प्रदान गर्ने निर्णय भएको थियो।

सुरुमा कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै चर्को विरोध भएको अहिले जन्म र मृत्युमा २० केजी चामल लिनेको सङ्ख्या निकै प्रभावकारी बन्दै गएको छ।

प्रकाशित: २० मंसिर २०७९ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App