१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण

विराटनगर महानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ। सामुदायिक कुकुरले गर्दा दुर्घटना र रेविज रोग लाग्ने भएकाले बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप अभियान चलाइएको हो।

महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरुवात गरेको छ। अभियान अन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोपसमेत लगाइने छ। अभियान अन्तर्गत पहिलो दिन कञ्चनबारी, नोबेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए।

विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिने छ। विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिई केन्द्रमा लगेर पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए। पहिलो चरणमा ४ सय कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइने योजना रहेको छ।

बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिने छ। बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए।

विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर नागेश कोइरालाले बताए। 

‘पदैल यात्रा गर्दा मानिसहरुलाई टोक्ने र सवारीसाधन कुडिरहेको समय एक्कासी अगाडि आउनुका साथै बाटो काट्दा दुर्घटना हुने हुँदा त्यसलाई न्यूनीकरण गर्नका लागि बन्ध्याकरण अभियान थालेको हौं,’ मेयर कोइरालाले भने, ‘बन्ध्याकरण गरेर सामुदायिक कुकुरको वृद्धि रोक्ने र भएका कुकुरले टोकेमा रेविज नलागोस् भनेर खोप अभियानसँगै सञ्चालन गरेका छौं। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गर्छु।’

सामुदायिक कुकुर पनि विराटनगरको समस्याका रुपमा रहेको बताउँदै, मेयर कोइरालाले भने, ‘बन्ध्याकरणले विराटनगरमा देखिँदै आएको सामुदायिक कुुकुरको समस्यामा कम हुन्छ। विभिन्न चरणमा १ हजार ६ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य महानगरले राखेको छ।’ एउटा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउँदा २ हजार ५ सय रुपैयाँ खर्च लाग्ने छ भने त्यसको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने छ। पहिलो दिन सोमबार ३४ वटा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App