coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहट र सर्लाहीमा रोकिएन तस्करी, अनुसन्धान गर्दै केन्द्रीय टोली

रौतहट र सर्लाहीका विभिन्न नाकाबाट हुने नेपाल भारत तस्करी रोकिएको छैन। नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न प्रकारका सामानहरु ओहोरदोहोर हुने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँबाट अनुसन्धान गर्न मधेस प्रदेशमै एउटा टोली परिचालन भएको छ।  

सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशका विभिन्न जिल्लामा भइरहेको तस्करीबारे एसपीको कमान्डमा अनुसन्धान टोली खटाएको छ। नागरिकले मंसिर १३ मा चुनाव सकिए लगत्तै रौतहट र सर्लाहीमा बढ्यो तस्करी भनेर समाचार प्रकाशित गरेपछि सशस्त्र प्रहरी बलको अनुसन्धान टोली तस्करीबारे स्थलगत अनुसन्धान सुरु गरेको हो।

सशस्त्र प्रहरी बल मुख्यालयबाट एसपी उद्धव रावलको नेतृत्वमा आएको टोलीले पर्साबाट अनुसन्धान सुरु गरेको छ। नेपाल भारत सीमा क्षेत्रको पर्सास्थित अलौ बिओपि तथा तस्करीसम्बन्धी अन्य संम्वेदनशील बिओपिहरुबाट अनुसन्धान सुरु गरेको छ।  

बिहीबार रातिदेखि टोलीले पर्साबाट पूर्वतिर सर्दै बाराको विभिन्न नाका तथा बिओपिहरुमा पुगेको छ। यसै गरी शुक्रवार रौतहटको बंकुल सरमुजवा हुँदै रामपुर खाप, मठिया तथा गौर भन्सारको पनि स्थलगत निरीक्षण अनुगमन गरेको स्रोतले जनाएको छ।  

स्रोतका अनुसार नाकामा पुग्नुभन्दा पहिले सम्बन्धित बिओपि तथा जिल्लाका प्रमुखलाई जानकारी दिने गरिएको छैन। नाकामा पुग्नुभन्दा पहिले टाढैबाट नाकाको निगरानी गर्ने गरेको, डिउटीमा रहेको सशस्त्र प्रहरीको गतिविधिबारे अध्ययन गर्ने गरेको पनि स्रोतको दाबी छ। यसै गरी नेपाल भारत दुवैतिर सामान तस्करी हुने नाकामा डिउटीमा खटिएका सशस्त्र प्रहरीको खल्ती चेकजाँच पनि गरिएको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले मुख्यालयका एसपी उद्धव रावलको नेतृत्वमा अनुसन्धानको क्रममा टोली आएको सुनेको तर सम्पर्क हुन नसकेको जानकारी दिएका छन्। टोली आएको यकिन हुनासाथ आवश्यक सहयोग गर्न मातहतका युनिटलाई सल्लाह दिएको एसपी कार्कीले बताए।

मधेस प्रदेशमा हुने तस्करीबारे सूक्ष्म तरिकाले अनुसन्धान गर्न एसपी नेतृत्वको टोली पहिलोपटक मोटरसाइकलमै घुमिरहेको बताइएको छ। टोलीले छड्के चेकजाँच गरिरहेको र गल्ती गरेको पाइएअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले जनाएको छ।  

सीमा वारपार हुने तस्करीबारे स्थलगत अनुसन्धान गर्न केन्द्रीय टोली आएपछि मधेस प्रदेशका विभिन्न जिल्लामा खैलाबैला मच्चिएको छ।

सर्लाहीको छतौनाको लक्ष्मीपुर नाकाबाट अझै पनि बालुवा र गिटी तस्करी भइरहेको छ। चुरे क्षेत्रबाट उत्खनन गरिएको र विभिन्न खोलानालाई दोहन गरी निकालिएको गिटी र बालुवा भारततिर निर्वाध गइरहँदा नारायणपुर, त्रिभुवननगर, मलंगवा लचका नाका, फेन्हारा लगायतका नाका हुँदै लत्ताकपडा, मलखाद, स्पेयर पार्टस, चिनी, खानेतेलका साथै चाइनिज सामानहरु ओहोर दोहोर हुँदै आएको छ।  

सशस्त्र प्रहरी बल मुख्यालयले करिब तिन महिनाअघि मधेस प्रदेशमा कार्यरत बदनाम भइसकेका दर्जनौँ सशस्त्र घुमुवालाई तानेको थियो। केही समयपछि चुनावको मुखमा मुख्यालयले सबै घुमुवालाई फिर्ता गरेपछि मधेसका विभिन्न जिल्लामा तस्करी बढेको पाइएको छ।  

प्रकाशित: १६ मंसिर २०७९ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App