१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जब श्वेताम्बरी युवतीले सर्वोच्चमा रातो रङ फ्याँकिन् !

ठ्याक्कै कार्यालय समय सुरु भएको थियो। रामशाहपथस्थित व्यस्त सडक छिचोल्दै एउटा ट्याक्सी सर्वोच्च अदालतको गेटमा रोकियो। ट्याक्सीबाट सेतो पहिरन (श्वेताम्बर)मा एक युवती ओर्लिइन्। उनीसँगै अर्की युवती पनि ओर्लिइन्। श्वेताम्बरी युवतीले सर्वोच्चको गेटतर्फ निसाना लगाउँदै धमाधम रातो रंगको तरल (रगतजस्तो) पदार्थ फालेर चिच्याउन थालिन्। त्यो चिच्याहटमा न्याय माग थियो। उनी लगातार ‘मलाई न्याय चाहियो’, ‘मलाई न्याय देऊ’ भनेर याचना गरिरहेकी थिइन्।  

सुरक्षामा तैनाथ प्रहरीले दुवैजनालाई तत्कालै नियन्त्रणमा लियो। त्यहाँबाट प्रहरी वृत्त सिंहदरबार लगेर राखियो। मंगलबार दिनभर वृत्तमा राखेपछि साँझ प्रहरीले दुवै जनालाई छाडेको छ। यसरी न्यायका लागि चिच्याउँदै सर्वोच्च गेटमा रातो रङ फाल्ने युवती सिरहाकी २७ वर्षीया बिनु यादव हुन्। उनीसँग आएकी अर्की युवती महिला अधिकारकर्मी जस्मिन ओझा हुन्। बिनुले आफूमाथि अन्यायको सिलसिला लामो भएपछि बाध्य भएर यस्तो कदम चाल्न पुगेको बताइन्। ‘ममाथि आफ्नै परिवारबाट भएको अन्यायविरुद्ध न्याय खोजी गर्दा राज्यबाटै अन्याय भयो। न्यायालयकै अंगहरूले सिलसिलाबद्ध अन्याय गर्न थाले,’ नागरिकसँगको कुराकानीमा उनले भनिन्, ‘बाध्य भएर मेरो रगतमाथि भएको अन्यायको प्रतीकात्मक अभिव्यक्तिस्वरूप यस्तो कदम चालेकी हुँ।’

घटना यस्तो थियो...

बिनुले आफ्नो परिवारका विभिन्न सदस्यहरूबाट बलात्कार, बलात्कार प्रयास, भ्रुणहत्या, ज्यान मार्ने उद्योग, शरीर बन्धकलगायत हिंसा आफूमाथि भएको आरोप लगाउँदै आएकी छन्। रामेछाप मन्थलीका प्रदीप कठायतसँग आफ्नो प्रेम बसेपछि सोही क्रममा शारीरिक सम्पर्कसमेत भएको उनले बताइन्।

जसबाट पेटमा बच्चा बसेपछि आफूमाथि अन्यायको शृंखला सुरु भएको उनको दाबी छ। जसमा उनले प्रदीपका मामा नेपाल प्रहरीका डिएसपी सुरज कार्की, काका पवन कठायतलगायत परिवारका अन्य सदस्यको नामै किटेर आरोप लगाउँदै आएकी छिन्। पहिलोपटक गर्भवती भएपछि कठायत परिवारको दबाबमा भ्रुणहत्या गर्न बाध्य भएको र त्यसपछि विवाह गर्न इन्कार गरिएको बिनुको भनाइ छ। आफू उजुरी लिएर न्यायका लागि प्रहरी कार्यालय धाउन थालेपछि बाध्य भएर अपहरण शैलीमा विवाह गरेको उनले बताइन्।  

‘उनीहरूको भक्तपुर, ठिमीमा पनि घर छ। मैले उजुरी गरेपछि २०७६ जेठ १९ गते त्यही घरमा लगेर बन्धक बनाएर राखे,’ उनले भनिन्, ‘मैले बलात्कारको मुद्दा दिने डरले हुनसक्छ। मेरो घरपरिवारका कुनै पनि सदस्य र आफन्त नबोलाई मंसिर २५ गते विवाह गरिदिए।’ जे भए पनि प्रेमीसँग बिहे गर्न पाउँदा आफू खुसी भएको उनी बताउँछिन्। ‘म खुसी भएँ तर छलकपटका लागि बिहे भएको रहेछ। बलात्कारको एकवर्षे हदम्याद कटाउन मात्रै त्यो विवाह गरिएको रहेछ,’ उनले भनिन्।  

त्यसपछि आफूलाई घरभित्रै थुनेर अनेकौं हिंसा गरेको उनको आरोप छ। जसमा आफ्नो दोस्रो पटक बसेको गर्भको नचाहँदा नचाहँदै भ्रुणहत्या गरिदिएको, पाठेघर नै खराब हुनेगरी औषधिको प्रयोग गर्न लगाएको, नभएको डिप्रेसनको बिरामी प्रमाणित गर्नेसम्मका हिंसा गरी राखेको उनले बताउँदै आएकी छिन्। यही क्रममा प्रदीपका काका पवन कठायतले आफूमाथि बलात्कारको प्रयास गरेको उनको दाबी छ। पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष हुन्। तत्काल उक्त मुद्दा परिवारकै दबाबका कारण आफूले लुकाएको बताइन्। त्यसपछि २०७७ को लकडाउन खुलेपछि प्रदीपले रामेछाप जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेपछि आफू झन् पीडित बनेको बिनुले बताइन्। ‘हिंसा त भोगिरहेकी थिएँ तर दुनियाँको नजरमा आफ्नै घरमा थिएँ,’ उनले भनिन्, ‘जब सम्बन्धविच्छेदको मुद्दा हालियो। त्यसपछि त म छाँगाबाट खसेजस्तै भएँ। मसँग बिहे गरेको चाहिँ बलात्कारको हदम्याद कटाउन मात्रै रहेछ बल्ल चाल पाएँ।’  

त्यसपछि आफू सम्बन्धविच्छेद गर्न नमानेको उनले बताउँदै आएकी छन्। ‘मैले सम्बन्धविच्छेद गर्दिनँ भनेँ। मेरो कुरा कसले सुन्ने। एउटा आमाको सहारामा भएकी मसँग वकिल व्यहोर्ने पैसा थिएन,’ उनले भनिन्। रामेछाप अदालत पुगेर राखेका वकिल सञ्जयराज अधिकारीले पनि कठायत परिवारसँग मिलेर आफ्नो मुद्दा कमजोर बनाउन लागेको उनको आरोप छ।  

रामेछाप अदालतका तत्कालीन जिल्ला न्यायाधीश बद्रीप्रसाद वलीले पनि इजलासमै आफूलाई अपमानित हुनेगरी अभिव्यक्ति दिएको उनको आरोप छ। उनी भन्छिन्, ‘वकिल, न्यायाधीश सबै मिलेर मलाई अन्याय गरे। मेरो आवाज कसैले सुनेन।’  

इजलासमै विष सेवन

न्यायाधीश, वकिल र कठायत परिवारको सेटिङ बिनुले पहिल्यै चाल पाइसकेको दाबी गर्छिन्। ‘वकिलले तिम्रो प्रमाण पुग्दैन भन्थे। न्यायाधीश राम्री छौ, उमेर छ, अर्को बिहे गर भन्थे। यो सबै बुझ्दा मलाई हराउने चाल पाइसकेकी थिएँ,’ बिनुले भनिन्, ‘त्यसपछि मैले इजलासमै विष सेवन गरेर आत्महत्या गर्ने योजना बनाएँ।’  

उनका अनुसार गत वैशाख ७ गते जिल्ला अदालतले अन्तिम फैसला तोकेको थियो। त्यहीँ दिन इजलास चलिरहँदा उनले विष सेवन गरेर आत्महत्याको प्रयास गरिन्। उता अदालतले प्रदीपले मागेको सम्बन्धविच्छेद सदर गरिदियो। त्यसपछि अदालतमा भएकाहरूले बिनुको ज्यान भने जोगाए।  ‘अहिलेसम्म पनि पेसी चढेको छैन। पाटनको उच्च सरकारी वकिल कार्यालय, उच्च अदालत जता धाउँदा पनि राम्रो रेस्पोन्स पाइन्न। अझै दुईतीन महिना लाग्छ रे ! त्यत्रो समय के खाएर बाँच्ने ?’ उनले दुखेसो पोखिन्। उता धेरै कर गरेपछि भदौ १५ गते जिल्ला अदालत रामेछापमा पवन कठायतविरुद्ध ‘जबरजस्ती करणी उद्योग’मा मुद्दा दर्ता भएको छ। जिल्ला अदालतको थुनछेक बहसमा उनलाई पुर्पक्षका लागि जेल चलान आदेश जारी गरिएको थियो। त्यो आदेशविरुद्ध उच्च अदातल पाटन पुगेर उनी धरौटीमा छुटेको बिनुको भनाइ छ तर त्यो कसरी र कहिले भयो ? आफूलाई कुनै जानकारी नै नभएको उनले बताइन्।  

‘मैले असोज २४ गते उच्च सरकारी वकिल कार्यालय पुगेर सोधेकी थिएँ। कुनै फाइल जिल्लाबाट नआएको भनियो। सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाले नै यसो भन्नुभएको थियो,’ उनले भनिन्, ‘एकाएक २७ गते छुटेको कुरा सुनेँ। मलाईसम्म थाहा दिइएन।’ यो सबैमा मिलेमतो भएको उनको दाबी छ। ‘सबै राजनीतिक पहुँच र पैसाको सेटिङ हो,’ उनले भनिन्। त्यसमा एकजना नेताले आफूलाई भेटमै ‘मारेर पाँच लाखमा केस टुंगिने’ भनेर धम्क्याएको उनले बताइन्।  

उच्च अदालतले छाडेपछि आफूले सो फाइल सर्वोच्च पठाइदिन आग्रह गर्दा सहन्यायाधिवक्ता कोइरालाबाटै अभद्र व्यवहार व्योहोरेको बिनुको आरोप छ। ‘मैले फाइल सर्वोच्च पठाइदिन भन्दा उहाँले तेरो फाइल कतै पठाउन्न। ‘आफ्नै निजी वकिल राखेर लड्’ भनेर भन्नुभयो। एउटी पीडित महिलालाई तँ माथि तँ भनेर हेप्नुभयो,’ नागरिकसँग उनले भनिन्, ‘अनि न्याय दिने ठाउँमा बसेकाहरूबाटै सिलसिलामा अन्याय हुन थालेपछि आज सर्वोच्चको गेटमा रातो रङ फालेकी हुँ।’ फालिएको रङ आफ्ना दुईवटा भ्रुण र बगेको रगतको प्रतीक रहेको उनले बताइन्। 

प्रकाशित: १४ मंसिर २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App