२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

रोजगारीका लागि फर्म भर्नेको लर्को

मोरङको कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आयोजना गरिएको रोजगार मेलामा फर्म भर्नेको ठूलो लर्को रहेको थियो।

अन्तर्राष्टिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र कटहरी गाउँपालिकाले आयोजना गरेको एक दिने वृत्ति परामर्श तथा रोजगार मेलामा फर्म भर्ने र बुझ्न आउनेको ठूलो भीड लागेको हो। स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्य मेला आयोजना गरिएको थियो।

रोजगार मेलामा जुट मिलतर्फ ६ सय ५० जना, होटल तथा पर्यटन क्षेत्रबाट ५ सय, निर्माण व्यवसायसंवद्ध संस्थाले २ हजार ५ सय, सेक्युरिटी कम्पनीले १ सय जना तथा अन्य विभिन्न उद्योग कार्यालय कर्मचारी लगायतमा सीप भएका कामदारको आवश्यकता भएको विवरण दिएको थिए।

स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवालाई रोजगारको अवसर सिर्जना गर्न मेला आयोजना गरिएको हो। रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित गराएसँगै उनीहरुको रोजगारी ग्यारेन्टी भएको दाबी आयोजकले गरेको छ।

मेलाको उद्घाटनका गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बर्षेनि करिब ५ लाख युवा श्रम बजारमा आउने गरेको बताए। ‘श्रम बजारको खोजी गर्दै आउने ७० प्रतिशत वैदेशिक रोजगारीमा जानेका छन्,’ बोहोरले भने, ‘त्यसलाई स्वदेशमै रोक्न जरुरी रहेको छ। यहाँको बजारको आवश्यकता अनुसार उनीहरुलाई दक्ष बनाएर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ।’

उनले उद्योग प्रतिष्ठानहरुमा दक्ष जनशक्तिको अभाव हुँदा छिमेकी मुलुकका श्रमिकहरुले नेपाली श्रम बजारमा पहुँच बढाएकोले त्यसलाई निरुत्साहित गर्दै नेपाली श्रम बजारको बलियो उपस्थिति निर्माण गर्न आवश्यक रहेको बताए।

रोजगार मेलामा पुरुष तथा महिलाको विभिन्न उमेर समूहका साथै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App