२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भत्काउँदै घर, बनाउँदै धनगढी

धनगढीको कैलाली पुलदेखि चौकसम्म सधैंजसो ट्राफिक जाम भइरहन्छ। बाटो काट्दा पैदल यात्रु पनि हैरान छन्। झन् अस्पताल लाइनमा त साँघुरो बाटोका कारण जतिखेर पनि भीड हुन्छ। साँघुरो सडकले यात्रुलाई अत्यास लागिरहन्छ। हो, त्यही साँघुरो सडक चाक्लो बनाउन र पुरानो धनगढीलाई नयाँ बनाउन सडक किनारमा रहेका घर भत्काउने काम भइरहेको छ।

उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकका दायाँबायाँ १५/१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ। उपमहानगरको यो निर्णयलाई नगरबासीले खुलेर समर्थन गर्दै आआफ्नो संरचना भत्काउन सुरु गरेका छन्। कैलाली पुलदेखि क्याम्पस चौकसम्मको करिब दुई हजार ३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको छ। सडकको केन्द्र भागदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गर्ने योजनाअनुसार असोज मसान्तसम्म संरचना हटाउन गत भदौ १३ गते धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो।  

व्यवसायीले दसैं, तिहार र छठ पर्व व्यापारको मुख्य समय भएकाले त्यस समयसम्म पर्खन आग्रह गरेका थिए। सोहीअनुसार छठ पर्वपछि मात्रै उपमहानगरपालिकाले संरचना भत्काउन सुरु गरेको थियो। कैलाली पुलदेखि क्याम्पस रोडसम्म दुई सय २९ भौतिक संरचना भत्काएर सडक फराकिलो बनाउने कार्यको सुरुवात भएको हो। सडक फराकिलो बनाउँदा कैलाली पुलदेखि क्याम्पस चौकसम्म २ सय २९ वटा घर भत्काउनुपर्ने अवस्था रहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बताउँछन्।

साँघुरो सडकलाई चाक्लो बनाउने अभियानअन्तर्गत यहाँका घरधनीले सहयोग गरिरहेको बताउँदै उनले भने, ‘सरकारी स्वामित्वको सेती प्रादेशिक अस्पताल भवनमा निर्मित मुख्य सडकतर्फका सटरमा डोजर चलायौं। त्यसपछि यहाँका घरधनीले आफैं आफ्नो घर स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। यसले हाम्रो अभियानमा सहयोग पुगेको छ।’  

धनगढीको जनघनत्व बढ्दै जानु र पुराना सडकमा ट्राफिक जाम पर्दै जाँदा यात्रुले हैरानी खेप्नुपरेको बताउँदै उनले भने, ‘यात्रुका दुःख पन्छाउन र ‘हाम्रो धनगढी, राम्रो धनगढी’ बनाउन सडक चौडा बनाउने कार्यमा लागेका हौं।’ सडक चाक्लो र राम्रो भएमा सहरको सुन्दरता पनि बढ्ने उनले बताए। ‘सडक राम्रो भएमा बजारको सुन्दरता पनि बढ्छ र यात्रुले सहजै हिँडडुल गर्न पाउँछन्’, उनले भने। उपमहानगरपालिकाको सडक चौडा बनाउने अभियानअन्तर्गत अधिकांश निजी भौतिक संरचना भने घरधनी आफैंले भत्काउन थालेका छन्। मुख्य सडकमा ट्राफिक जाम बढ्दै जाँदा नगरबासीले हैरानी खेप्नु परिरहेको अवस्थामा घरधनी आफैंले आफ्नो संरचना भत्काउन सुरु गरेर उपमहानगरको निर्णय कार्यान्वयनमा समर्थन बढाइरहेको मेयर हमाल बताउँछन्।

धनगढीको विकासप्रति बढेको लहरका कारण बिनाअवरोध सडक विस्तार गर्न सहज भएको उनले बताए। उनले भने, ‘यसअघि मुद्दा दायर गरेकाहरूले पनि धमाधम फिर्ता लिएर ‘हाम्रो धनगढी हामी बनाउँछौं’ अभियानमा समर्थन जनाइरहेका छन्।’ क्याम्पस चोकदेखि कैलाली पुलसम्मको २३ सय मिटर सडक विस्तारका लागि धनगढी उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App