२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखराको हवाई सेवा दिनहुँ साढे ५ घण्टा प्रभावित हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) सुरु हुने भएपछि सोमबारदेखि यहाँबाट हुने नियमित हवाई सेवा प्रभवित हुने भएको छ। हाल पुरानो विमानस्थलबाटै नियमित उडान भइरहे पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट हुँदा नियमित उडानमा असर पर्ने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

क्यालिब्रेसन फ्लाइट नसकिएसम्म नियमित उडान प्रभावित हुने हवाई कम्पनीले बताएका छन्। नयाँ र पुरानो विमानस्थलको दूरी करिब ३ किलोमिटर रहेको छ। सोमबारदेखि हुने क्यालिब्रेसन फ्लाइटका लागि शनिबार बिहान नेपालगञ्जबाट जहाज पोखरा आएको हो। पोखराको यो विमानस्थल थाइल्याण्डको एरो थाई कम्पनीको जहाजले यान्त्रिक परीक्षण गर्दैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंसिर ५ गते (२१ नोभेम्बर) बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट हुने बताएको छ। प्राधिकरणले मंसिर ११ (२७ नोभेम्बर) सम्म क्यालिब्रेसन फ्लाइटका लागि उडान तालिका स्वीकृत गरेको छ। त्यही अनुसार पोखराको हाल चल्तीमा रहेको विमानस्थलबाट हुने नियमित उडानका लागि ‘नोटाम’ जारी गरिएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि बेलुकी साढे पाँच बजेसम्म क्यालिब्रेसन फ्लाइटका लागि नोटाम जारी गरिएको छ। ‘क्यालिब्रेसन फ्लाइट’ लागि नोटाम जारी भएको समयमा अरू नियमित उडान हुँदैनन्। केही दिनका लागि पोखराको नियमित हवाई उडान प्रभावित हुनेछ,’ जोशीले भने, ‘नियमित उडान तालिका प्रभावित हुन्छ। क्यालिब्रेसन फ्लाइटबाहेकको समयमा मात्र अन्य जहाजको उडान हुनेछ।’

जोशीका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सबै खाले उपकरणको परीक्षण गर्ने छ। सञ्चार उपकरणको भने अहिले पनि परीक्षण भइरहेको छ।

खासगरी इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) को परीक्षण हुनेछ। यो सिस्टम प्रविधिमा आधारित रहेर उडान र अवतरण गर्दाको अवस्थामा प्रयोग हुन्छ। ‘विमानस्थलको कम्युनिकेसन, नेभिगेसन लगायतका सबै प्रविधिको परीक्षण हुने उनले बताए।

हवाई उडान हुने मुख्य समयमा पोखराको चालु विमानस्थलबाट हुने सबै खालका उडान प्रभावित हुनेछन्। अहिले पोखराको चालु विमानस्थल बिहान साढे ६ बजे खुल्छ तर हुस्सु लाग्न थालिसकेकाले उडान समेत प्रभावित हुने गरेका छन्। विमानस्थल खुल्नासाथ पोखराबाट जोमसोम र काठमाडौंका लागि उडान सुरु हुन्छ। बेलुकी पोखरा विमानस्थलमा बास बसेको जहाजले बिहानै काठमाडौंका लागि उडान भर्छ। त्यस्तै बिहानैमात्र उडान हुने जोमसोमका उडान पनि बिहान हुन्छन्।

अहिले पोखरा विमानस्थलबाट दैनिक दुई दर्जन बढी ठूला आकारका जहाजको उडान भइरहेको छ। पोखराबाट काठमाडौंसँगै भरतपुर, भैरहवा, धनगढी, नेपालगञ्ज र जोमसोमसम्मका लागि नियमित उडान भइरहेका छन्। बेलैमा विमानस्थल खुलेको खण्डमा क्यालिब्रेसन फ्लाइट अवधिमा बिहान १० बजेअघि र दिउँसो १ देखि साढे २ बजेसम्म (डेढ घण्टा) मात्र उडान हुनेछ। पोखराको चालु विमानस्थलबाट बेलुकी ढिलोमा साढे पाँचबजेसम्म मात्र उडान हुन्छ।

‘हुस्सु लागेन भने त बिहानै धेरै उडान हुनेछन् तर हुस्सु लाग्न थालेको र यहीबेला क्यालिब्रेसन फ्लाइट हुने भएकोले नियमित उडान प्रभावित हुनेछन्,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने अब पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ।  

प्रकाशित: ६ मंसिर २०७९ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App