२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

खोटाङमा मतगणना राति ९ बजेदेखि सुरु

अघिल्लो दिन सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना खोटाङमा राति ९ः०० बजेदेखि सुरु हुने भएको छ। भौगोलिक रुपमा बिकट र पहाडी भेग रहेको खोटाङमा मतपेटिका संकलन गर्न समय लागेकाले गणना गर्न ढिला भएको हो।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँढाईले जिल्लाका १ सय ९४ मतदान केन्द्र सबैमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको तर, बिकट भूगोल भएकाले मतपेटिका सदरमुकामसम्म ल्याई पुर्‍याउन समय लागेकाले गणना गर्न पनि ढिला भएको बताए। उनका अनुसार खोटाङमा त्यत्ति उत्साहजनक मतदान भने भएको छैन। १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेको जिल्लामा ४७.१८ प्रतिशत अर्थात ६७ हजार ३ सय ७३ मत मात्र खसेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले खोटाङ भौगोलिक रुपमा बिकट जिल्ला भएकाले ढुवानी कठिनाईकै कारण मतपेटिका टाढाटाढाबाट ल्याउन ढिला भएर गणना सुरु गर्न समय लागेको बताए।

२ नगरपालिकासहित १० वटा स्थानीयतह रहेको खोटाङमा सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक सबै दुर्गम भेगमा पर्छन्। बिकट र टाढा ठाउँ भएकाले सोमबार साँझसम्म मात्र मतपेटिका सदरमुकाम आईपुगेको उनले बताए। मतपत्र आईपुगेलगत्तै सर्वदलीय बैठक राखेर रातिदेखि नै गणना सुरु गर्न लागिएको डिएसपी मुकारुङले बताए।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यको कोटा रहेको खोटाङमा गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) र एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई उम्मेदवार छन्। उनीहरुसँगै जनता समाजवादी पार्टीबा केके राई लगायतको उम्मेदवारी परेको छ।

प्रदेशतर्फ (क) मा गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश १ महामन्त्री भूपेन्द्र राई र (ख) मा एकीकृत समाजबादीका वीरबलकाजी राई मैदानमा छन्। उनीहरुसँगै एमालेबाट पाँचकर्ण राई (पिके) र राम दंगाल प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App