१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीय तहमा गोली चलेको उदयपुरमा यो पटक शान्तिपूर्ण मतदान

जिल्ला निर्वाचन कार्यालय उदयपुर। तस्विरः महेश्वर

गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको ज्यान जानुका साथै अर्का १ घाईते भएर नरमाईलो भएको उदयपुृरमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

आईतबार सम्पन्न चुनाव जिल्लाभरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले बताएका छन्। सिडिओ गौतमका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । 

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभा ४ निर्वाचन क्षेत्र रहेको उदयपुरका १ सय ३ वटै मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा विहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म तोकिएको समयसीमाभित्र शान्तिपूर्ण चुनाव सम्पन्न भएको उनले बताए।

यस पटकको चुनावमा ५३.६ प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट आएको बताउँदै सिडिओ गौतमले शान्तिपूर्ण चुनाव सम्पन्न गर्न सहयोग गर्ने उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र मतदातालगायत सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्।

जिल्ला निर्वाचन कार्यालयले समग्रमा जिल्लाभरी ५३.६ प्रतिशत मत खसेको तर, कुन स्थानीयतहमा कति भन्ने पूर्ण विवरण भने आईनसकेको जनाएको छ। प्रारम्भिक विवरण अनुसार सदरमुकाम त्रियुगा नगरपालिकामा ५८.६५ प्रतिशत मत खसेको छ । ६३ हजार ४ सय ८१ मतदाता रहेको त्रियुगामा ३७ हजार ९ सय २१ मत खसेको विवरण सुरक्षाकर्मीबाट पाएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए।

अर्को ठूलो नगरपालिका कटारीमा २२ हजार २० मत खसेको छ। १४ वटा वडा र ४० हजार १ सय १५ मत रहेको कटारीमा ५४.८९ प्रतिशत मत खसेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रबिण कार्कीले बताए। उनका अनुसार गएको स्थानीयतह चुनावमा गोली चलेर मान्छेको ज्यान गएको कटारी १० सोरुङछबिसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा यसपटक शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ।

सो ठाउँमा स्थानीयतह चुनावमा मतदान भईसकेपछि विवाद सिर्जना हुँदा सुरक्षाकर्मीको गोली लागेर १८ वर्षीय स्थानीय वीरबहादुर कटुवालको ज्यान गएको थियो। यो चुनाव भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको सो केन्द्रमा १ हजार २६ मत खसेको डिएसपी कार्कीले बताए। २ हजार १ सय १६ मतदाता रहेको सो वडामा ४८.४८ प्रतिशत मत खसेको छ। गत स्थानीयतह चुनावमा सो केन्द्रमा १ हजार ४ सय ६८ मत अर्थात ६९.३७ प्रतिशत मत खसेको थियो।

अन्य स्थानीयतहको बिबरण आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीयतहमध्ये सबभन्दा बढी त्रियुगामा ६३ हजार ४ सय ८१ र दोस्रो ठूलो नगरपालिका कटारीमा ४० हजार १ सय १५ मतदाता रहेको सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताए।

उनका अनुसार मतसंख्याको सबै विवरण आउन भने केही समय लाग्ने छ। नजिकका मतदान केन्द्रको विवरण र मतपेटिकाहरु आउन थालेको तर, टाढा र फोन नलाग्ने ठाउँका केन्द्रको विवरण  र मतपेटिका आउन समय लाग्ने सहायक अधिकृत कार्कीले बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App