१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन

आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ।

निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस तयार गरेको राससलाई जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र क्युआरटीसमेत खडा गरेको छ। यस्तै, जिल्ला कमान्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिने प्रवक्ता थापाले बताए।

निर्वाचन नजिकिएसँगै सशस्त्र प्रहरीले सीमा नाकामा तैनाथी बढाउनाका साथै स्थिर अवधिमा हुनसक्ने निर्वाचन विरोधी गतिविधिको सूचना सङ्कलनसमेत गरिरहेको छ।

निर्वाचनका लागि गए राति १२ बजदेखि ७२ घण्टाका लागि सीमा नाका सिल भइसकेको छ। निर्वाचनको दिनमा सुरक्षित वातावरणमा आम मतदातालाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि सशस्त्र प्रहरी मतदान केन्द्र र मतदानस्थलको बाहिरी घेरामा खटिनेछ। सशस्त्र प्रहरीले मतदान सकिएसँगै मतपेटिकालाई सुरक्षित तवरले मतगणनास्थलसम्म लैजानका लागि नेपाल प्रहरी र म्यादी प्रहरीलाई सघाउनेछ।

यस्तै, मतगणना सुरु भएपछि मतगणनास्थलको बाह्य घेराको सुरक्षाको जिम्मेवारीसमेत सशस्त्र प्रहरीले लिएको प्रवक्ता थापाले बताए।

प्रकाशित: २ मंसिर २०७९ १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App