सशस्त्र प्रहरी बल नेपालको २२ महिने कमान्ड नारायणदत्त पौडेलको काँधमा पुगेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) पौडेललाई १३औं आइजिपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो। उनले यही वैशाख १८ पछि कमान्ड सम्हाल्नेछन्। हाल उनी सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखका रूपमा कार्यरत छन्।
हालका आइजिपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदै छन्। उनी अवकाशमा जाने भएपछि सरकारले सोमबार नै पौडेललाई आइजिपी बनाउने निर्णय गरेको हो। पाँच दिनअघि नै सरकारले आइजिपीको अन्योल तोडेको छ।
उनलाई आइजिपी नियुक्त गरेसँगै वर्तमान आइजिपी राजु अर्यालले थालेका सकारात्मक कामलाई जोगाउने पहिलो चुनौती देखिएको छ। आइजिपी अर्याल चार वर्षे लामो कार्यकालमा विवादमा नआई बिदा भएका हुन्। २२ महिने जिम्मेवारीमा रहँदा पौडेललाई यही पहिलो चुनौती देखिएको छ।
सरकारले सबैभन्दा कम दरबन्दी दिएर सबैभन्दा बढी जिम्मेवारीमा खटाएको संगठन भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने दायित्व पनि पौडेलकै काँधमा आएको छ। अघिल्लो कार्यकालमा गरिएका सुधारका कामलाई साथ लिएर हिँड्नेदेखि संगठनमा रहेका अधिकृतहरूलाई काखापाखा नगर्नेसम्मको जिम्मेवारी उनमा छ। पौडलेका लागि सीमालाई बलियो बनाउन भारतसँग सीमा जोडिएका जिल्लामा सीमा सुरक्षा कार्यालयको स्थापना, उत्तर तथा दक्षिणी सीमामा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना, पूर्वी पहाडी जिल्लामा गुल्मको स्थापना गर्ने जिम्मेवारी पनि रहेको देखिन्छ।
विपत्को उच्च जोखिममा रहेको नेपालमा जुनसुकै बेला हुन सक्ने जोखिमको सामना गर्न मुलुककै पहिलो विपत् व्यवस्थापन तालिम केन्द्रको स्थापना भएको छ। यसका अतिरिक्त औद्योगिक तथा राजस्व सुरक्षामा परिचालन, विकास परियोजनामा भरपर्दो सुरक्षा प्रदान, बिओपी थप, सशस्त्र प्रहरी बललाई ७७ जिल्लामा पुर्याउने तथा भौतिक निर्माणका विषयले निरन्तरता पाइरहेका बेला जनशक्ति अभाव देखिन्छ।
वर्तमान आइजिपीको कार्यकालमा सशस्त्रमा फौजको क्षमता विस्तार गर्न व्यावसायिक क्रियाकलाप चक्रको सुरुआत भएको र फौजलाई अझ बढी व्यावसायिक बनाउन ‘बर्ड’ अवधारणाअन्तर्गत विशिष्टीकृत गर्न थालिएको र यसलाई निरन्तरता दिने अर्को चुनौती पौडेलमा रहेको छ। अझ सशस्त्रलाई सीमामा ‘डेडिकेटिड फोर्स’का रूपमा विकसित गर्न, राज्यको आवश्यकताअनुसार आन्तरिक सुरक्षामा भूमिका खेल्न, समय–समयमा देशका विभिन्न भागमा हुने राजनीतिक, साम्प्रदायिक, धार्मिक तथा अन्य आवरणमा हुने दंगा नियन्त्रण गर्न र देशभर वर्षैभरि भइरहने विपद्का घटनालाई समयमा उद्धार गर्ने र राहतका लागि खट्न सक्ने जनशक्तिको निर्माण गर्ने जिम्मेवारी पनि रहेको छ।
छाङरु, टिंकर र ओलाङचुङ्गोला केचनादेखि सुस्ता हुँदै दोधरा चाँदनीसम्म खटिएका जवान तथा अधिकारीहरूलाई विशेष सेवासुविधा व्यवस्था गर्नुपर्ने पनि उत्तिकै दायित्व छ। यसका साथै सशस्त्र प्रहरी ऐन ल्याउने, आन्तरिक सुरक्षामा क्षमता अभिवृत्ति गराउने, आतंकवाद र पृथकतावादी नियन्त्रणमा ध्यान दिने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, जनशक्ति अभावलाई पूर्ति गर्ने, सरुवा–बढुवालाई थप व्यवस्थित गर्ने, कल्याणकारी सेवालाई प्रभावकारी बनाउने, शान्ति मिसनलाई बढाउने, विपद, उद्धार र व्यवस्थापनमा थप सबल बनाउने, राजनीतिबाट टाढा राख्ने चुनौतीहरू पनि उनका सामु छन्।
पौडेलले सशस्त्र प्रहरीमा पछिल्लो पटक देखिएका चुनौती सामाना गर्न अहिले भइरहेका कामकारबाहीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। ‘वर्तमानमा जे काम भइरहेका छन्, ती कामलाई निरन्तरता दिनुपर्छ। राज्यले दिएका निर्दिष्ट गरेका र कानुनले दिएका अधिकारलाई प्रयोग गर्ने दायित्व काँधमा आएको छ,’ पौडेलले भने। उनले आन्तरिक र बाह्य दुवै चुनौतीलाई सामाना गर्न योजनाबद्ध ढंगले कार्ययोजनासहित लाग्नुपर्ने आवश्यकता रहेको समेत जनाएका छन्। ‘सरकारले दिएको महत्वपूर्ण जिम्मेवारीहरू पूरा गर्ने दायित्व सबैको हो। राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालाई थप प्रभावकारी बनाइने छ। आन्तरिक वृत्ति विकासमा अझ जोड दिइने छ। कतिपय कामलाई निरन्तरताको आवश्यकता छ,’ पौडेलले भने।
को हुन् पौडेल
२०५४ साल १८ चैतमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका पौडेल आइजिपी बढुवाका लागि पहिलो दाबेदार थिए। बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआइजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए तर उनीहरू दुवै पौडेलभन्दा जुनियर हुन्। पौडेल २०७९ जेठ ६ मा एआइजीमा बढुवा भएका थिए। राजु अर्याल आइजिपी बनेपछि एआइजीको रिक्त पदमा उनी बढुवा भएका थिए।
पौडेल २०८४ चैत १८ सम्म दुई वर्ष संगठन प्रमुख बन्नेछन्। विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण उनी उक्त मितिमा अवकाशमा जानेछन्। सुर्खेतको साबिक जर्बुटा गाविस–५ मा जन्मेका उनले सुर्खेतबाट एसएलसी उत्तीर्ण गरेकाहुन्। सुरुमा लोकसेवा दिएका पौडेलले नगरपालिकाको खरिदारमा नाम निकालेका थिए। त्यसपछि नेपाल प्रहरीमा जागिर खाएका पौडेल पटक–पटक माओवादीसँग आमनेसामने भएर लडेका थिए। ‘त्यतिबेला सँगैका साथीहरू गोली लागेर घाइते भए। संयोग नै भन्नुपर्छ, मलाई भने केही भएन,’ उनी स्मरण गर्छन्। नेपाल प्रहरीमा तीन वर्ष रहँदा उनी रोल्पा स्ट्राइकिङमा खटिएका थिए। त्यसमा कमान्डर बनेर खटिएका उनलाई पुरस्कारस्वरूप प्रहरी प्रधान कार्यालयले एक ग्रेड थप गरेको थियो।
प्रहरी रहँदा उनले इलाका प्रहरी कार्यालय बिर्तामोड (झापा) को प्रमुख भई काम गरे। त्यसपछि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा प्रशिक्षकका रूपमा खटिए। पौडेल १०५८ वैशाख ४ गते सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। स्थानान्तरणपछि २०५८ असार १८ मा सशस्त्रको कामु डिएसपी भएर उनले काम गरे। डिएसपीमा स्थायी बढुवा भने २०५८ चैत १८ मा भयो। शान्ति प्रक्रियाको बेला अनमिन (युनाइटेड नेसन मिसन इन नेपाल) ले नेपालमा काम गरेको थियो। त्यतिबेला अनमिनमातहत रहने गरी आम्र्स मोनिटरिङ सदस्यका रूपमा पौडेलले काम गरेका थिए। उनीसँग द्वन्द्वदेखि शान्तिको प्रक्रियामा कसरी काम गर्ने भन्ने अनुभव छ। २०६३ चैत २९ मा एसपीमा बढुवा भएपछि उनले सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबाराही गण र बंगलामुखी विशेष कार्यदलको गणपति भएर काम गरेका थिए। एसपीमै रहँदा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी मुख्यालय वराह बाहिनी पकली, सशस्त्र प्रहरीको कार्य विभाग, उपत्यका हेर्ने पशुपति बाहिनी मुख्यालयको ‘इन्ट’मा रही काम गरेको थिए।
२०७० जेठ २ मा पौडेल एसएसपीमा बढुवा भएका थिए। एसएसपीमै रहँदा आर्थिक प्रशासन महाशाखा प्रमुख, युएन शान्ति स्थापनार्थ तालिम शिक्षालय ककनीको समादेशकका रूपमा पनि उनले काम गरेका थिए। त्यसपछि बराह बाहिनी पकली, वैद्यनाथ बाहिनीको सहायक बाहिनीपति भएर काम गरे। २०७५ कात्तिक १३ मा डिआइजीमा बढुवा भएका पौडेलले कार्य तथा सीमा सुरक्षा विभाग, मानव स्रोत विभागमा काम गरे। डिआइजी हुँदा बाहिनीपतिका रूपमा उनले लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनीको कमान्ड गरेका थिए। २०७९ जेठ ६ मा एआइजीमा बढुवा भएपछि मानव स्रोत, सीमा तथा कार्य विभाग गरी सशस्त्रमा हाल कायम रहेकै एआइजीले कमान्ड गर्ने तीन वटै विभागको कमान्ड गरेका थिए।
प्रकाशित: १५ वैशाख २०८३ ०७:१६ मंगलबार





