सुनसरीको बराह क्षेत्र नगरपालिका–६ का अर्जुन चन्द्रवंशी ६२ वर्ष पुगे। जन्मेदेखि नै उनी श्रीलंका टापुमा बस्दै आएका छन्। तर यस वर्ष सप्तकोसी नदी कटान गर्दै उनको घरनजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उनीसामु तेर्सिएको छ। ‘यस वर्ष कोसीको कटान हेर्दै बस्यौं,’ चन्द्रवंशीले भने, ‘सधैंभरि यसरी बस्न सकिन्छ जस्तो लाग्न छाडिसक्यो।’
बराहक्षेत्र–६ र ९ मा पर्ने श्रीलंका टापुतर्फ असारदेखि सुरु भएको कोसीको कटान अझै रोकिएको छैन। ‘आँखाले हेर्दा निकै पर बग्ने खोला अब आँगनछेउ आइपुगेको छ,’ चन्द्रवंशीले भने, ‘अब आउने वर्षदेखि जसरी पनि श्रीलंका टापुबाहेक अन्यत्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु।’
सप्तकोसीको कटानबाट जीवछीकुमारी महतोको परिवार पनि विस्थापित भएको छ। कोसीले खेतीयोग्य जमिन बगाएपछि उनी अहिले अर्काको जग्गामा बसिरहेकी छन्। ‘अहिले अर्काको जग्गामा सामान्य बेरबार गरेर बसेका छौं,’ उनले भनिन्, ‘यस ठाउँमा बस्न नसक्ने भएकाले अब सर्लाही जाने तयारीमा छौं।’
उनका श्रीमान्को सर्लाहीको बरहथवा–८ मा अढाइ कट्ठा जग्गा रहेकाले त्यहीँ घर बनाउन थालिएको छ। जेठी छोरी जानकी कक्षा १० मा अध्ययनरत भएकाले एसइई सकिएपछि सर्ने तयारीमा रहेको जीवछीले बताइन्। ‘पाँच वर्षदेखि निरन्तर कोसीले कटान गर्दा यस वर्ष त सबै जग्गा सकायो,’ उनले भनिन्, ‘भदौ १० गते रसुवामा आएको बाढीले पनि खोला छेउछाउ बस्नु हुँदो रहेनछ भन्ने महसुस गरायो। जति बेला पनि ज्यान जोखिममा रहेछ भन्ने लागेपछि सर्लाहीमा घर बनाउन थालेका हौं।’
अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरै जना त्यहाँबाट बसाइँ सर्ने योजनामा छन्। कोसीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुकदेव कविरथ, राधे कविरथ, शनिचरण कविरथ, बालीचरण कविरथ र मनोज कविरथका परिवार त यस वर्ष सप्तकोसीपूर्व प्रकाशपुरमा बसाइँ नै सरिसकेका छन्। उनीहरू बसाइँ सरेको एक साता मात्र भएको छ। दुखु कविरथको परिवार पनि वर्षौंदेखि बसिआएको ठाउँ छाडेर झापा गएको छ। बालीचरण कविरथ पनि प्रकाशपुर नै सर्ने तयारीमा छन्। ‘धन्न जसोतसो गरेर प्रकाशपुरमा एक कट्ठा जग्गा जोडिएको छ, अब हामी पनि त्यतै सर्ने तयारी गर्दै छौं,’ बालीचरणले भने, ‘ज्यान जोखिममा राखेर बस्नु हुँदैन।’
फेरिँदै कोसीको धार
डेढ साताअघि सप्तकोसीको पश्चिमी भँगालोले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि २२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। बराहक्षेत्र–६ का बद्रीकुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुंगाको जाली लगाएर बनाइदिएको ‘स्पर’ हुँदाहुँदै पनि कोसीले कटान ग¥यो। बराहक्षेत्र–९ तर्फ भने यस्ता स्परसमेत नभएकाले तीव्र कटान भइरहेको स्थानीयको भनाइ छ।
स्थानीय जानकारका अनुसार २०४५ सालको भूकम्पपछि कोसीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेको थियो। त्यसपछि लामो समय कोसीको पूर्वी तटबन्ध क्षेत्र जोखिममा रह्यो। २०६५ भदौ २ गते कोसी गाउँपालिका–३ पश्चिम कुसाहाबाट पूर्वी तटबन्ध भत्काएर कोसी मानव बस्तीमा प्रवेश गर्दा ठुलो जनधनको क्षति भएको थियो।
पछिल्ला वर्षमा भने कोसीले निरन्तर पश्चिमतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीयमा फेरि पुरानै बाटो समात्ने हो कि भन्ने चिन्ता बढेको छ। ‘खोलाको कुनै विश्वास हुँदो रहेनछ। रसुवाको घटना पनि देखियो, यहाँ कोसी पनि हाम्रै आँखाअगाडि छ,’ बराहक्षेत्र–६ का बुद्धिमान माझीले भने, ‘श्रीलंका टापुका बासिन्दालाई सरकारले अन्यत्र सार्न पहल गर्नुपर्छ। रसुवाको जस्तो घटना सप्तकोसीमा भयो भने यहाँका सबै बासिन्दा जोखिममा पर्छन्।’
२०४५ सालको भूकम्पपछि स्थानीयका नम्बरी जग्गाबाट कोसीको धार परिवर्तन भएपछि सरकारले कतिपय परिवारलाई कोसीपूर्व डेढ कट्ठाका दरले जग्गा उपलब्ध गराएको थियो। तर धेरै जग्गा भएका परिवार भने कोसीपूर्व नगई ऐलानीमै बस्दै आएका छन्।
२०७९ साउनको अन्तिम साता बेलकाको डुम्रीबोट क्षेत्रमा कोसीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा बराहक्षेत्र–६ र ९ सहित बेलकाका केही बस्ती प्रभावित भएका थिए। त्यतिबेला ठुलो संख्यामा मानिस विस्थापित भएका थिए। कोसीको धार परिवर्तन हुँदा बराहक्षेत्रका यी दुई वडासँगै उदयपुरको बेलका नगरपालिका–२ र ३ का बस्तीसमेत प्रभावित हुने स्थानीय बताउँछन्।
श्रीलंका टापुमा करिब १० हजार मानिसको बसोबास रहेको पालिकाको अनुमान छ। सप्तकोसीको मुख्य भँगालो पार गरेपछि करिब तीन किलोमिटर पश्चिममा रहेको भँगालो छेउसम्म साना कच्ची घरहरू छन्। बाटोको निश्चित संरचना नभए पनि बस्तीका अधिकांश स्थानमा मानिस आउजाउ गर्छन्।
मधेसका चन्द्रवंशी, उराउ, थारू, यादव, कविरथ, मुसहर, कोइरी, खत्वे, सार्कीलगायत समुदायसँगै राई, लिम्बू, मगर, बाहुन–क्षेत्रीको समेत बसोबास रहेको श्रीलंका टापु पूर्व र पश्चिम दुवैतर्फ कोसीले घेरिएको छ। २०४५ सालसम्म यहाँ अहिलेको जस्तो टापु थिएन। कोसी पश्चिमतर्फ बग्थ्यो। पछि पूर्व र पश्चिम गरी दुई भँगालो बनेपछि बिचको भूभाग टापुका रूपमा विकसित भएको स्थानीय बताउँछन्।
तरकारीले फेरिएको जीवन
जोखिममा रहेको श्रीलंका टापुका बासिन्दाको जीवन तरकारी खेतीले फेरिएको छ। कृषि यहाँको मुख्य जीविकोपार्जनको आधार हो। विशेषगरी टमाटर खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन्। यो टापु तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ बनेको छ। बराहक्षेत्र–९ का बालक चन्द्रवंशीका अनुसार पहिले टापुमा परबर उत्पादन बढी हुन्थ्यो र यसलाई परबरको राजधानीसमेत भनिन्थ्यो। तर समयसँगै चिस्यान घट्दै गएपछि परबर खेती हराउँदै गयो। अहिले किसानले बढी आम्दानी हुने तरकारीमा ध्यान दिएका छन्। अर्जुन चन्द्रवंशीका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जाब्दी बाच्छाधन मिलेर ठुलो परिमाणमा टमाटर खेती गर्दै आएका छन्। उनीहरूले टमाटर खेतीबाट वार्षिक कम्तीमा ६० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। यस वर्ष एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनीहरूको छ।
श्रीरामका अनुसार चार वर्षअघि १० कट्ठा जग्गाबाट टमाटर खेती सुरु गरिएको थियो। त्यसपछि क्रमशः खेती विस्तार गर्दै अढाइ, तीन बिघा हुँदै यस वर्ष पाँच बिघामा टमाटर लगाइएको छ। यस वर्ष भारतबाट २५ हजार बिरुवा ल्याइएको छ। असोज १५ सम्म रोपाइँ सक्ने र मंसिरदेखि चैतसम्म टमाटर उत्पादन हुने उनले बताए। भारतमा टमाटर खेतीसम्बन्धी भिडियो हेरेपछि परीक्षणका रूपमा खेती सुरु गरेको श्रीरामले बताए।
पहिलो वर्ष राम्रो आम्दानी भएपछि हरेक वर्ष क्षेत्रफल बढाउँदै गएको उनको भनाइ छ। उनी र उनका दाजु रामविलास विदेशसमेत गएका थिए। तर खर्च कटाएर ५० हजार रुपैयाँभन्दा बढी बचत गर्न नसकेपछि स्वदेश फर्किएर तरकारी खेतीमा लागेका हुन्।
‘अहिले हाम्रो एक जनाको वार्षिक आम्दानी कम्तीमा १५ लाख रुपैयाँ हुने गरेको छ,’ श्रीरामले भने, ‘हामीले वर्षभरि २० जनालाई नियमित ज्यालादारीमा रोजगारीसमेत दिएका छौं।’ उनका अनुसार ती कामदारले वर्षमा करिब ६० लाख रुपैयाँ पारिश्रमिक पाउँछन्। तरकारी खेतीबाट राम्रो आम्दानी भए पनि जोखिम उत्तिकै छ। मौसममा आएको परिवर्तन र रोगका कारण कहिलेकाहीं ठुलो क्षति बेहोर्नुपर्ने किसान बताउँछन्। टमाटरबाहेक किसानले काउली, बन्दा, मुला, भन्टा, मटर, खुर्सानी, प्याज, गाजर, घिउसिमी, बोडी, काक्रो, भिन्डी, फर्सी र घिरौलालगायत तरकारी उत्पादन गर्छन्।
मकै र धान पनि आवश्यकताअनुसार लगाइन्छ। बालक चन्द्रवंशी पनि तरकारी खेतीमै निर्भर छन्। २०७५ सालमा दुई वर्ष कुवेत बसेर फर्किएका उनले अहिले खेतीबाटै वार्षिक ६० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए। यस वर्ष १५ हजार टमाटरका बिरुवा रोप्ने उनको योजना छ। बिरुवा भारतको छत्तिसगढबाट ल्याइएको छ।
श्रीलंका टापुमा उत्पादन हुने तरकारी इटहरी, इनरुवा, धरान, बिर्तामोडलगायत पूर्वका बजारका व्यापारीले गाउँमै आएर खरिद गर्ने गरेका छन्। स्थानीयका अनुसार टापुमा तीन सय बिघाभन्दा बढी क्षेत्रमा टमाटर खेती हुने गरेको छ।
मकै उत्पादन पनि यहाँको अर्को आयस्रोत हो। कात्तिकमा लगाइएको मकै पाकेपछि बिक्री हुन्छ। चैतमा लगाइएको मकै घोगामै बिक्री गर्ने र असारमा पुनः मकै लगाउने किसान छन्। स्थानीयका अनुसार वर्षमा करिब तीन सय हाराहारी व्यापारी मकै खरिद गर्न टापु पुग्ने गर्छन्।
मिश्रित बस्ती
श्रीलंका टापुमा पुस्तौंदेखि बसोबास गर्नेहरू मात्र छैनन्। बाढी, पहिरो तथा अन्य विपत्तिका कारण आर्थिक अवस्था कमजोर भएका परिवार पनि यहाँ आएर बसेका छन्। सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङसँगै पूर्वी पहाडी जिल्लाहरू खोटाङ र ओखलढुंगाबाट आउनेहरूसमेत यहाँ छन्।
माओवादीले २०५२ सालमा सशस्त्र द्वन्द्व थालेपछि कतिपय परिवार ज्यान जोगाउन सुरक्षित स्थान खोज्दै टापुमा आए। लामो समय बसेपछि उनीहरूले यहीँ घरजम गरेर स्थायी बसोबास थाले। कोसी तटबन्ध निर्माणका क्रममा भारतबाट आएका बंगाली मूलका केही परिवार पनि यहाँ बसोबास गर्दै आएका छन्। अहिले उनीहरू नेपाली नागरिक भइसकेका छन्। ऐलानी जग्गामा पाखुरा चलाएर जीवन गुजार्ने परिवारको संख्या पनि उल्लेख्य छ।
प्रविधिले सहज
केही वर्षअघिसम्म श्रीलंका टापुमा आधारभूत सुविधासमेत पर्याप्त थिएन। अहिले भने घरघरमा मोटरसाइकल छन्। अधिकांशको हातमा मोबाइल छ। पाँच वर्षदेखि गाउँमा विद्युत् पुगेपछि स्थानीयको दैनिकीसमेत सहज भएको छ। विद्युत् नहुँदा मोबाइल चार्ज गर्न करिब तीन किलोमिटर टाढा प्रकाशपुरसम्म डुंगा चढेर जानुपथ्र्यो। बत्ती नहुँदा हात्ती बस्तीमा प्रवेश गर्ने र मानवीय क्षतिसमेत हुने गरेको स्थानीय बताउँछन्।
पूर्ववडा सदस्य बुद्धिमान माझीका अनुसार हात्तीको आक्रमणबाट श्रीलंका टापुका चार जनाको मृत्यु भएको थियो। ‘पहिलाको तुलनामा त धेरै सुविधा छ,’ माझीले भने, ‘अचेल बिजुली बत्तीले गर्दा हात्ती पनि आउन छाडेका छन् तर अब दिनदिनै गाह्रो हुँदै गएको छ। सरकारले कोसीको घेराबाट श्रीलंका टापुका बासिन्दालाई बाहिर निकालिदिए हुन्थ्यो।’
सुरक्षा चिन्ता
श्रीलंका टापुका बासिन्दा तरकारी खेतीबाट आर्थिक रूपमा बलियो बन्दै गएका छन्। केही परिवारले कोसीपूर्व जग्गासमेत जोड्न थालेका छन् तर उनीहरूको समृद्धिको सपना अहिले कोसीको कटानसँगै जोखिममा परेको छ। स्थानीयको माग छ– सरकारले सप्तकोसीलाई बस्ती प्रवेश गर्नबाट रोक्न दीर्घकालीन तटबन्ध निर्माण गर्नुपर्छ। चार वर्षअघि बेलका–८ बाट कोसी पश्चिमतर्फ पस्दा संघीय सरकारले दीर्घकालीन तटबन्ध निर्माण गर्ने घोषणा गरेको थियो। तर अहिलेसम्म प्रभावकारी र दिगो काम हुन नसकेको स्थानीयको गुनासो छ। ‘हामी पुरै कोसीको घेराभित्र छौं,’ बुद्धिमान माझीले भने, ‘रसुवाको घटनाले अब धेरै दिन यसरी बस्नुहुँदैन भन्ने संकेत दिइसकेको छ।’
२०४६ सालपछि बनेका हरेक सरकारले सप्तकोसीपीडितको समस्या प्राथमिकतामा राख्ने बताउँदै आएका छन्। तर वर्षैपिच्छे बस्ती कटान भइरहँदा पनि दीर्घकालीन समाधान हुन नसकेको स्थानीयको गुनासो छ। तरकारी खेतीबाट समृद्धिको सपना देखिरहेका श्रीलंका टापुका बासिन्दाको एउटै चिन्ता छ– कतै कोसीको कटानले उनीहरूको खेतबारी मात्र होइन, घर र भविष्य नै नबगाओस्।
प्रकाशित: ३१ भाद्र २०८३ ०९:०३ बुधबार





