१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

भेटिँदैनन् हराएका सबै मोटरसाइकल: ९ महिनामा १८६२ हराए, ४५५ मात्रै भेटिए

मोटरसाइकल हराउने कारण पार्किङ र सुरक्षा कमजोरी

हराएको गुनासोपछि खोजतलास गरी ट्राफिक प्रहरीले बरामद गरेका मोटरसाइकल । फाइल तस्बिर

नेपालमा मोटरसाइकल चोरीका घटना बढ्दो क्रममा देखिएको छ। 

प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म १ हजार ८६२ वटा मोटरसाइकल हराएको निवेदन परेको छ भने ४ सय ५५ वटा मात्रै अनुसन्धानमार्फत फेला पारेकाे देखिन्छ। जसमध्ये ३४९ वटा मोटरसाइकल सवारी धनीलाई फिर्ता गरिएको छ। बाँकी मोटरसाइकल अझै फेला परेका छैनन्।

महिनागत विवरणअनुसार भदौमा ३ निवेदनमध्ये १४ वटा मोटरसाइकल फेला परेका छन् भने असोजमा ३२१ निवेदनमध्ये ३३ वटा मात्रै बरामद भएका छन्। कात्तिकमा ३३७ निवेदन पर्दा ५९ वटा फेला परेका छन् भने मंसिरमा ३०३ निवेदनमध्ये ६६ वटा मोटरसाइकल भेटिएकाे प्रहरीकाे तथ्यांक छ। पुसमा ३०५ निवेदनमध्ये ८५ वटा बरामद हुँदा माघमा २२८ निवेदनमध्ये ७६ वटा मोटरसाइकल फेला परेका छन्। फागुनमा १६२ निवेदनमध्ये ४१ वटा र चैतमा २०३ निवेदनमध्ये ८१ वटा मोटरसाइकल बरामद भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले मोटरसाइकको सुरक्षा लक कमजोर रहेको र चोरी गर्ने व्यक्तिले सहजै लक तोड्न सक्ने भएकोले पनि चोरी बढी रहेको बताए। यस्तै असुरक्षित पार्किङ पनि अर्को कारण भएको उनको भनाइ छ।

उनका अनुसार चोरीमा संलग्न समूहहरू व्यवस्थित ढंगले सक्रिय हुने, मोटरसाइकलका पार्टपुर्जा छुट्याएर बिक्री गर्ने तथा सीमापार ओसारपसार गर्ने प्रवृत्ति बढ्दो छ। यसका कारण हराएका माेटरसाइकल खाेज्न कठिन हुने गरेकाे उनकाे बुझाइ छ।

सहरी क्षेत्रमा पार्किङ व्यवस्थापनको कमजोरी, सुरक्षा सतर्कताको अभाव र सबैतिर सिसिटिभी निगरानीको पहुँच नहुँनु पनि चोरी बढ्नुका प्रमुख कारणका रूपमा देखिएको उनले बताए। सर्वसाधारणले पनि मोटरसाइकल सुरक्षित रूपमा पार्क नगर्ने, लक प्रणालीको प्रयोग नगर्ने जस्ता लापरबाहीले चोरीलाई सहज बनाएको उनको भनाइ छ। 

प्रहरीले नियन्त्रणका लागि विशेष अपरेसन, चेकजाँच कडाइ तथा सूचना संकलनलाई तीव्रता दिएको जनाएको छ। यद्यपि, चोरीका घटनामा निरन्तरता देखिनुले थप प्रभावकारी रणनीति आवश्यक देखिएको सर्वसाधरण बताउँछन्। 

'चोरीका घटनामा संलग्न समूहहरू संगठित रूपमा सक्रिय देखिएका छन्। उनीहरूले लक्षित सवारीसाधनको निगरानी गरी मौका मिल्नासाथ चोरी गर्ने प्रवृत्ति बढेको छ।', सुवेदीले भने। उनका अनुसार विशेष गरी पुराना मोडेलका तथा पर्याप्त सुरक्षा प्रबन्ध नगरेका मोटरसाइकलहरू बढी जोखिममा पर्ने गरेका छन्।

चोरी भएका सवारीसाधनमध्ये केही मात्र फेला पर्ने र धेरैजसो पार्टपुर्जा छुट्याएर बिक्री गरिने आशंका गरिएको उनले बताए। यसले अनुसन्धान कार्य जटिल बनाएको उनको भनाइ छ। 

सुरक्षा निकायले मोटरसाइकल चोरी न्यूनीकरणका लागि विभिन्न उपायहरू अवलम्बन गर्न सर्वसाधारणलाई सुझाव दिएको छ। जसअनुसार सवारीसाधन पार्क गर्दा सुरक्षित तथा निगरानी भएको स्थान रोज्ने, अतिरिक्त लक (ताला) प्रयोग गर्ने, सिसिटिभी जडित स्थानमा पार्किङ गर्ने तथा अपरिचित व्यक्तिको गतिविधिप्रति सजग रहने आग्रह गरिएको छ। 

त्यसैगरी, कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी चौकीमा तुरुन्त जानकारी गराउन पनि अनुरोध गरिएको छ।  

प्रकाशित: २९ चैत्र २०८२ १९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App