१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गाउँपालिका र नगरपालिका निमित्त शून्य

सुसमाचार

डेढ महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी भगवती न्यौपानेले एउटा साहसिक निर्णय गरेकी छिन्। उनले एकै पटक गाउँपालिका र नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य बनाएकी छन्। गाउँपालिका र नगरपालिका निमित्त शून्य गरिएको यो पहिलो पटक भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए।

उनले भने, ‘पहिलो पटक गाउँपालिका र नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको अवस्था हो। यसअघि गाउँपालिका र नगरपालिकामा निमित्त शून्य गर्न सकिएको थिएन।’

मन्त्रालयले बिहीबार साँझ १ सय ५ जना उपसचिवलाई नगरपालिका र ८७ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ। कानुन अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकत शाखा अधिकृत सरहको कर्मचारी हुने व्यवस्था छ। कानुनमा राखिएको व्यवस्था अनुसार नै मन्त्री न्यौपानले नगरपालिका र गाउँपालिकामा अधिकृत स्तरका कर्मचारी पठाएकी हुन्। ‘मन्त्रालयले खटाएको ठाउँमा हाजिरी गर्न सबै कर्मचारी गएमा र मेयर तथा अध्यक्षले हाजिरी गराए भने यो साहसिक कदम हुने छ,’ मन्त्राललका एक कर्मचारीले भने।

यसअघि मन्त्रालयले खटाएकोमा केही कर्मचारी बाटोबाटै फर्कने र केहीलाई मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षले हाजिरी गर्न नदिईकन बाटौबाटै फर्काउने गरेका थिए। यसपटक मन्त्रालयले सरुवा गरेका कर्मचारीलाई अनिवार्य रुपमा खटाइएका ठाउँमा हाजिरी गर्न मन्त्रालयले उर्दी जारी गरेको छ।

मन्त्रालयले पठाएका कर्मचारीलाई बाटोबाटै फर्काउन नमिल्ने र सम्बिन्धत स्थानीय तहले हाजिरी गराउनैपर्ने मन्त्रालयको भनाइ छ। ‘हामीले खटाएका सबै कर्मचारी तोकिएको स्थानीय तहमा जानैपर्छ। कोही पनि बाटोबाटै फर्कन पाउँदैनन्। स्थानीय तहले पनि हामीलाई पठाएका कर्मचारीलाई हाजिरी गराउनैपर्छ,’ पराजुलीले भने।

 उनका अनुसार मन्त्री न्यौपानेको निर्देशनअनुसार नै गाउँपालिका र नगरपालिमा निमित्त शून्य गरिएको हो। स्रोत भन्छन, स्थानीय तहमा निमित्त शून्य बनाउन मन्त्री न्यौपानले सुरुदेखि नै चासो राख्दै आएकी थिइन्। यसमा गृहकार्य गर्न उनले कर्मचारी प्रशासन महाशाखाका कर्मचारीलाई निर्देशन दिएकी थिइन्।

त्यसैअनुसार प्रशासन शाखाका कर्मचारीले केही दिनदेखि गृहकार्य गरिरहेका थिए। यसअघि धेरै गाउँपालिकामा तोकिएअनुसार प्रमुख प्रशासकीय अधिकृत नजाँदा सुब्बाले र नगरपालिकामा शाखा अधिकृतले निमित्त चलाउने गरेका थिए। केहीमा भने अहेवले निमित्त चलाउने गरेका थिए। यसबाट नगरपालिका र गाउँपालिकमा बेथिति बढेको थियो। न्यौपाने मन्त्रीमा बहाल हुँदा २१२ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए।

महानगर उपमहानगरपालिकामा भने अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्। प्रवक्ता पराजुलीका अनुसार मन्त्रालयले अझै पनि एक महानगरपालिका र नोवटा उपमहानगरपालिकामा दरबन्दीअनुसार सहसचिवलाइ पठाउन सकेको छैन। महानगर र उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत सहसचिवसरहका कर्मचारी हुने व्यवस्था छ।

पराजुलीका अनुसार वीरगन्ज महानगरपालिका, धनगढी, घोराही, तुलसीपुर, नेपालगन्ज, धरान, जनकपुर, बुटवल, कलैया र इटहरी उपमहानगरपालिकामा सहसचिव जान नचाहेकाले उपसचिवलाई निमित्त दिइएको छ। सहसचिवहरु सकेसम्म काठमाडौंबाहिर जान चाहन्नन्।

प्रकाशित: १४ भाद्र २०८२ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App